चेतना अनलाइन
घोराही , ७ पुस । नेकपा (एमाले)का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर पोखरेलले आगामी निर्वाचनमा जनताले विनाश होइन निर्माण चाहने शक्तिलाई मत दिने बताउनुभएको छ ।
दाङको घोराहीमा पेशागत महासङ्घ नेपाल दाङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सिंहदरबार जलाउने सोच र कार्यशैलीले देश बनाउन नसकिने स्पष्ट पार्नुभयो । “ सिंहदरबार जलाउनेहरूले देश बनाउँदैनन् । जनताले अब त्यस्ता शक्तिलाई होइन देश बनाउनेहरूलाई मत दिन्छन् । ” उहाँले भन्नुभयो ।
पोखरेलले विगतका केही आन्दोलन र राजनीतिक गतिविधिमा राष्ट्रिय प्रतीकमाथि भएको आक्रमणलाई राष्ट्रविरोधी कार्यको रूपमा व्याख्या गर्नुभयो । सिंहदरबार नेपालको केन्द्रीय प्रशासनिक केन्द्र भएकाले त्यसप्रति आक्रमण अस्वीकार्य रहेको उहाँको भनाइ थियो ।
उहाँले यो निर्वाचनलाई देश निर्माणको महत्वपूर्ण अवसरको रूपमा लिन आग्रह गर्नुभयो । अब जनताले अस्थिरता , बारम्बार सरकार परिवर्तन र विनाशकारी राजनीतिलाई अस्वीकार गर्दै विकास , समृद्धि र स्थिरताको पक्षमा मतदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
दाङको विकासबारे बोल्दै महासचिव पोखरेलले सडक , शिक्षा , स्वास्थ्य , रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो । घोराही र आसपासका क्षेत्रको समग्र विकासका लागि निरन्तर काम गर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा सहभागी पेशागत महासङ्घका पदाधिकारी तथा सदस्यहरूले राजनीतिक स्थिरता बिना विकास सम्भव नहुने भन्दै उहाँको विचारलाई समर्थन गरे । उनीहरूले निर्वाचनमा सचेत र जिम्मेवार मतदान आवश्यक रहेको पनि बताए ।
महासचिव पोखरेलले एमाले सधैं जनताको हित , राष्ट्रिय एकता र देश निर्माणको पक्षमा उभिने पार्टी भएको उल्लेख गर्नुभयो । विनाशकारी सोच र व्यवहारले देश अगाडि बढ्न नसक्ने कुरा उहाँले दोहोर्याउनुभयो ।
कार्यक्रमको अन्त्यमा उहाँले सबैलाई एकजुट भएर देश निर्माणको अभियानमा लाग्न आह्वान गर्नुभयो । “ जनताले सिंहदरबार जलाउनेहरूलाई होइन देश बनाउनेहरूलाई मत दिन्छन् ” भन्ने भनाइले यस निर्वाचनको मुख्य सन्देश स्पष्ट रूपमा प्रस्तुत गरेको छ ।
