चेतना अनलाइन
घोराही, ३ साउन । नेकपा (एमाले) दाङको जिल्ला परिषद् यही भदाै ७ गते हुने भएको छ ।
परिषद्को सम्पूर्ण तयारी पूरा भएको (एमाले) दाङका अध्यक्ष शिवकुमार आचार्यले जानकारी दिनुभयो । परिषद्को पूर्वसन्ध्यामा एमाले दाङले भदाै ५ गते पार्टी कार्यालय घोराहीमा जिल्ला कमिटीको बैठक आह्वान गरेको छ । त्यसैगरी जिल्ला परिषद्को अघिल्लो दिन पार्टी कार्यालयमै जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू, प्रदेश पदाधिकारी तथा सदस्यहरू, केन्द्रीय सल्लाहकार, केन्द्रीय विभागका सदस्यहरू र जिल्ला पदाधिकारीहरू सहित जिल्ला इन्चार्जसँग संयुक्त बैठक आयोजना गरिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
जिल्ला परिषद्मा गत जिल्ला अधिवेशनका प्रतिनिधिहरू नै सहभागी हुन पाउनेछन् । परिषद्को उद्घाटन नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गर्नुहुनेछ ।
परिषद्ले जिल्ला कमिटीले अहिलेसम्म गरेका कामहरूको समीक्षा गर्नुका साथै आगामी कार्ययोजना तय गर्ने नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज नरुलाल चौधरीले बताउनुभयो । परिषद्लाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि जिल्ला कमिटीका विभिन्न पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारी प्रदान गरिएको चौधरीले बताउनुभयो ।
एमालेको केन्द्रीय विधान महाधिवेशन यही भदौ २० गतेदेखि २२ गतेसम्म हुँदैछ ।








