नवराज शर्मा ।
घाेराही, ९ फागुन । लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु भएको छ । सामाजिक विकास मन्त्रालयले सामुदायिक विद्यालयको शैक्षिक स्तर अभिवृद्धि गर्न पूर्वविद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले यो अभियान सुरु गरेको हो ।
प्रदेशका १२ वटै जिल्लामा एकैपटक यो अभियानको सुरुवात गरिएको छ । पहिलो चरणमा लुम्बिनी प्रदेश सरकारका मन्त्री तथा प्रदेश सभा सदस्यहरूले अध्ययन गरेका विद्यालयहरूमा सुरुवात गरे पनि क्रमश प्रदेशभरिकै सबै सामुदायिक विद्यालयहरूमा यो कार्यक्रम सुरु गरिने लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसैबीच लुम्बिनी प्रदेश ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले आज शुक्रबार आफूले अध्ययन गर्नुभएको श्री रात्रि प्राथमिक विद्यालय, बेलुवा, घोराही–३, दाङबाट अभियानको शुभारम्भ गर्नुभयो । एकसाथ १७ वटा विद्यालयबाट अभियान सुरु गरिएको छ । मन्त्री चौधरीले आफ्नो विद्यालयप्रतिको दायित्वबोध गर्दै विद्यालयको भौतिक तथा शैक्षिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री चौधरीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन यो अभियान आवश्यक रहेको बताउँदै ७१ प्रतिशत बालबालिकाको रोजाइ बन्न सफल सामुदायिक विद्यालयप्रति अझै विश्वास बढाउन जरुरी रहेको उल्लेख गर्नुभयो । ” हाम्रा सामुदायिक विद्यालयहरूको गुणस्तर बढाउनका लागि हरेक पक्षले ध्यान दिन जरुरी छ,” मन्त्री चौधरीले भन्नुभयो, ” लुम्बिनी प्रदेश सरकार सामुदायिक विद्यालयहरूको गुणस्तर सुधार गर्नका लागि विभिन्न कार्यक्रमहरू अगाडि बढाइरहेको छ ।” सामुदायिक विद्यालयको गुणस्तर बढाउनका लागि शिक्षक अभिभावक र विद्यार्थीबीच उचित समन्वय र सहकार्य हुनुपर्ने उहाँले आवश्यकता औल्याउनुभयो ।
कार्यक्रममा बोल्दै घोराई उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले सामुदायीक विद्यालयको गुणस्तर सुधारका लागि स्थानीय सरकारले विभिन्न कामहरु गरिरहेको जानकारी दिनुभयो । उहाँले शिक्षामा सबैको समान पहुँच बनाउन विद्यालय सुधारका कामहरू गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले कार्यक्रममा बोल्दै विद्यार्थीलाई शिक्षा मात्र दिएर पर्याप्त नहुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीलाई प्रविधिमूलक, जीवन उपयोगीमूलक र प्राविधिक ज्ञानमा जोड दिनुपर्छ, हाम्रा विद्यार्थीहरू आफ्नै देशमा उद्योग र उत्पादनसँग जोडिन सहयोग गर्ने शिक्षा दिनुपर्छ।” उहाँले ‘मेरो विद्यालय, मेरो दायित्व’ कार्यक्रम सञ्चालन हुँदै गर्दा पत्रकारको तर्फबाट आफ्नो पनि दायित्व रहेको बताउँदै विद्यालयको भौतिक तथा शैक्षिक समग्र विकासका लागि सधैं प्रतिबद्ध रहने प्रतिवद्धता जनाउनुभयो ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डव शर्माले कक्षा ६ देखि नै विद्यार्थीहरूलाई सीपमूलक शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो ।
लुम्बिनी प्रदेशमा ६ हजार ३४० विद्यालय छन्, जसमध्ये ४ हजार ५३१ सामुदायिक विद्यालय छन् । यी विद्यालयमा १२ लाख ८८ हजार २९८ विद्यार्थी अध्ययनरत छन्, जसमा ९ लाख २५ हजार ६२९ जना सामुदायिक विद्यालयमा पढिरहेका छन् ।
कार्यक्रमको आयोजना लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गरेको हो भने सह-आयोजकमा श्री रात्रि प्राथमिक विद्यालय, बेलुवा, घोराही उपमहानगरपालिका–३, दाङ रहेका छन् । यो अभियानले लुम्बिनी प्रदेशका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्दै प्रदेशको समग्र शैक्षिक स्तर उकास्ने अपेक्षा गरिएको छ।








