बजेट सुनिश्चित भएपछि घाेराही-तुलसीपुर चार लेन सडककाे विस्तार अघि बढ्यो

चेतना अनलाइन

घाेराही, १७ मंसिर । नेपाल सरकारले बजेट सुनिश्चित गरेपछि लामो समयसम्म अलपत्र परेको घोराही – तुलसीपुर चार लेन सडक विस्तारको प्रक्रिया अघि बढेको छ ।

अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेपछि सो सडक खण्डमा पुन: ठेक्का गरी विस्तारको काम गर्ने प्रक्रिया अघि बढेको हो । आज बिहान आयोजना सम्बद्ध अधिकारीहरूले अलपत्र सडकको स्थलगत अवलोकन गरेका छन् । उनीहरुले सडक खण्डमा विगतमा भएको काम र अहिलेको अवस्थाको बारेमा अध्ययन गरेका हुन् ।


स्थलगत अवलोकनमा मदन भण्डारी राजमार्ग योजनाका आयोजन प्रमुख दीप बाराही, सिनियर डिभिजन इन्जिनियर बद्री शर्मा, सडक डिभिजन कार्यालय दाङका डिभिजन प्रमुख दीपेन्द्र बहादुर बिष्ट सहित प्राविधिकहरूको सहभागिता रहेको थियो ।

वर्षौंदेखि अलपत्र रहेको २१.५८ किलोमिटर सडक चार लेनमा विस्तार गर्नका लागि अर्थ मन्त्रालयले ३ अर्ब ९९ करोड ४९ लाखको बहु वर्षीय ठेक्काको स्रोत सहमति दिइसकेको छ । विस्तार हुने क्षेत्र क्षेत्र घोराहीको तुलसीपुर चोकदेखि तुलसीपुरको हात्तीखौवासम्म हो ।

लामो समयसम्म सडक अलपत्र परेपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री कार्यालय तथा अर्थ मन्त्रालयमा बजे सुनिश्चितताका लागि निरन्तर पहल गरिराख्नुभएको थियो । सरकारबाट बजेट सुनिश्चित भएसँगै दाङबासीको अधुरो सपना पूरा हुने महासचिव पोखरेलले बताउनुभयो । उहाँले सडक विस्तारको कामलाई समयमै पुरा गर्न सबै पक्ष लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

स्थलगत अवलोकनमा पुग्नुभएका घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले सडक विस्तारको काममा समन्वय र सहजीकरण गर्न स्थानीय सरकारले भूमिका खेल्ने बताउनुभयो । उहाँले आइपर्न सक्ने विभिन्न समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


यसअघि २०७५ पुस १३ गतेबाट काम सुरू गर्ने गरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बईले ठेक्का पाएको थियो । सो ठेक्का अन्तर्गत नेपाली निर्माण कम्पनीहरूले पेटी ठेक्का पाएका थिए । भारतीय एक्जिम बैंकको बजेट र मूल ठेकेदार भारतीय निर्माण कम्पनी भएकाले आफूहरूले काम गरे अनुरुप भुक्तानी नपाएको नेपाली निर्माण कम्पनीहरूले बताउँदै आएका थिए ।
सम्झौतामा ३० महिनाभित्र सडक विस्तारको काम सक्नुपर्ने उल्लेख थियो ।  पटकपटक ताकेता गर्दा पनि भारतीय निर्माण कम्पनीले काम सुरु नगरेपछि सरकारले सो ठेक्का रद्द ग गरेको थियो । पुरानो ठेक्का रद्द भइसकेको र नयाँ बजेट सुनिश्चितता हुन नसक्दा दाङबासीहरू चिन्तित भएका थिए । तर अर्थमन्त्रालयले बजेट सुनिश्चितता गरेसँगै चार लेन सडकको गतिरोध अन्त्य भएको छ ।

सडक डिभिजन कार्यालय दाङका प्रमुख इन्जिनियर दीपेन्द्रबहादुर विष्टले तुलसीपुर– घोराही सडक खण्ड विस्तारकाे काम समयमै पूरा गर्ने गरी प्रक्रिया अघि बढेको बताउनुभयो । घोराहीको कटुवा खोलादेखि लमहीको अर्जुनखोलासम्म पनि सडक विस्तारका लागि डिपिआरको काम भइरहेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

 

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *