चेतना अनलाइन
घाेराही । तत्कालीन सौडियार गाविस, हाल घोराही-७ सौडियारकै जेठो र पुरानो श्री माध्यमिक विद्यालय सौडियारमा श्रीमद् भागवत ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालय शिक्षक, शिक्षिका, कर्मचारी, अभिभावक, विद्यार्थी लगायतको संयुक्त बैठकले विद्यालयमा महायज्ञ सञ्चालन गर्ने निर्णय गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षतामा बसेको संयुक्त बैठकले यही मंसिर २१ गते शुक्रबारदेखि विद्यालयको प्रांगणमा महायज्ञ सञ्चालन गर्ने निर्णय गरेको बैठकपछि विद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलीले जानकारी दिनुभयो । मावि सौडियारमा सभाहलसहितको भवन निर्माण गर्न र विद्यालयको बृहत्तर विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर कुँवरले बताउनुभयो ।
विद्यालयको सुधार तथा विकासका लागि महायज्ञले सहयोग पुर्याउने निष्कर्ष निकाल्दै सिंगो स्थानीय समुदायलाई परिचालन गर्ने गरी विद्यालयले आफ्नै पहल र खर्चमा महायज्ञ आयोजना गर्ने निर्णय भएको विद्यालयका सहायक प्रधानाध्यापक दामोदर पाण्डेले बताउनुभयो ।
महायज्ञलाई सफलतापूर्वक सञ्चालन गर्नका निम्ति सबैलाई सहयोगको आह्वान गर्दै यसलाई बृहत बनाउन वर्तमान तथा पूर्व विद्यार्थी, अभिभावक, समाजसेवी, विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहितका पदाधिकारी, सदस्य, शिक्षक अभिभावक संघका अध्यक्षसहितका सदस्य, शिक्षक, शिक्षिका, कर्मचारी, तत्कालीन भवन निर्माण समितिका अध्यक्ष तथा सदस्य, तत्कालीन विद्यालयका प्रधानाध्यापक, स्थानीयवासी, टोलवासी, मातृ समूह, स्वयंसेविका, आमा समूह, राजनीतिक दल, वन समूह, स्थानीय सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीय क्लबसहितको भेला राख्ने व्यापक तयारी सुरु गरिएको सहायक प्रअ पाण्डेले जानकारी दिनुभयो ।








