“राज्यका हरेक तहमा महिलाको नेतृत्वदायी भूमिका आवश्यक छ”

घाेराही, १५ भदाै । घोराही उपमहानगरपालिकाका नगर उपप्रमुख हुमा डीसीले राज्यका हरेक तहमा महिलाहरूको नेतृत्वदायी भूमिका हुनुपर्ने बताउनुभएको छ ।

उहाँले आगामी निर्वाचनमा महिलाहरूलाई नेतृत्वको मूल तहमा सहभागी हुनका लागि पुरुषहरूले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । महिलाहरूले राज्यको हरेक तहमा कुशलतापूर्वक नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम भएको बताउँदै पितृसत्तात्मक सोच र चिन्तनबाट माथि उठेर उनीहरूलाई देशको आर्थिक विकास र समृद्धिको यात्रामा अघि सार्न पुरुषको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।

नेपालको संविधान २०७२ ले राज्य संयन्त्रको हरेक तहमा ३३ प्रतिशत सहभागिताको सुनिश्चितता गरेको र स्थानीय तहदेखि संघसम्म प्रमुख वा उपप्रमुखमा महिला अनिवार्य भनिए पनि महिलाले अपवाद बाहेक मूल नेतृत्व सम्हाल्न नपाएका कारण देशको आर्थिक अवस्था कमजोर बन्न पुगेको बताउँदै देशको आर्थिक विकास र समृद्धिका लागि देशको आधाभन्दा बढी जनसंख्या भएका महिलाहरूलाई निर्णायक तहमा पु¥याउन पुरुषले सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । महिलालाई निर्णायक तहमा पु¥याउन अन्तरपुस्ता महिला बादी मञ्चले थालेको अभियानमा आफ्नो ऐक्यबद्धता रहेको बताउनुभयो । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङसहित विभिन्न महिला वादी संघसंस्थाहरूको आयोजना र अन्तरपुस्ता महिला बादी मञ्चको संयोजनमा शनिबार दाङको घोराहीमा भएको अनुपम ¥यालीपछी आयोजित कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मानब कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङका अध्यक्ष निर्मला गौतम रेग्मीले अन्तरपुस्ता महिला बादी मञ्चले सुरु गरेको अभियानको सराहना गर्दै उनीहरूको योगदान, सिप र क्षमतालाई कदर गरेर अब महिलाहरूलाई अग्राधिकार दिनुपर्ने बताउनुभयो । सिसा नेपालका अध्यक्ष साजिदा सिद्धिकीले हरेक जातजातिका महिलाहरू अब हरेक हिसाबले क्षमतावान भएका बताउँदै उनीहरूलाई नेतृत्व दिन कञ्जुस्याई नगर्नुपर्ने तर्क राख्नुभयो । नेपाल पत्रकार महासंघ दाङका निवर्तमान उपाध्यक्ष लिला शाहले अनुपम यात्रा अभियानमा पत्रकारहरूको ऐक्यबद्धता रहेको बताउनुभयो । महिलाहरूलाई अनुपम यात्रामा सहभागी गराउनुभएकी अभियन्ता ओजस्पी राईले यो अभियान सबैको साझा अभियान भएको बताउँदै महिलाहरूको हरेक क्षेत्रमा निर्णायक सहभागितासँगै न्यायिक समानता र समतामूलक समाजको निर्माण गर्ने अभियानको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

महिलावादी विभिन्न २२ वटा संघसंस्थाको सहकार्यमा कार्यक्रम भएको थियो । कार्यक्रम अन्तर्गत घोराहीको तुलसीपुर चोकबाट पञ्चेबाजा सहित सभायात्रा निकालिएको थियो । सभायात्रा घोराहीको तुलसीपुर चोकबाट सुरु भई दामोदर चोक, बैंक रोड, शहीदगेट हुँदै पुनः तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङकी अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दाङ महिला जेसिजका संस्थापक अध्यक्ष निर्मला गौतमले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *