घोराही उपमहानगरपालिका वडा नं. १३, बडहरा स्थित गोदावरी इङ्लिस मिडियम स्कुलमा स्कुल क्याप्टेन र भाइस क्याप्टेन पदको लागि आज शुक्रबार निर्वाचन सम्पन्न भएको छ ।
क्याप्टेन र भाइस-क्याप्टेनकोलागि ५/५ जना विद्यार्थी उम्मेद्वारको रुपमा उत्रिएका थिए । बिहान ११ः३० बजेदेखि सुरु भएको निर्वाचन २ः३० मा सम्पन्न भएको थियो । निर्वाचनमा विद्यालयका कक्षा ३ देखि कक्षा १० सम्मका जम्मा ३८६ विद्यार्थी र ३४ शिक्षक कर्मचारी गरी जम्मा ४२० मतदाता रहेका थिए । उक्त निर्वाचनमा ९१.४ प्रतिशत मत खसेको थियो भने कूल खसेको ३८४ मतमा ३ मत बदर भएको थियो ।
क्याप्टेन पदमा कक्षा १० का सुशिल सुनार २७४ मतका साथ निर्वाचित भएका छन् भने उनको निकटतम् प्रतिद्वन्दी शिशिर थापाले ५४ मत प्राप्त गरेका छन् । त्यसै गरी भाइस क्याप्टेन पदमा कक्षा १० की संरचना घर्ती १३५ मत लिई निर्वाचित भएकी छन् भने उनको निकटतम् प्रतिद्वन्दी स्मृति पुनले १३१ मत प्राप्त गरेको जानकारी निर्वाचन अधिकृत शिक्षक तिलकराम अधिकारीले जानकारी गराउनुभएको छ ।












