चेतना अनलाइन
दाङ । साउन लागेसँगै गाउँघरका चौतारी, आँगन र माइतीको सम्झनाले भरिने नेपाली समाजमा तीजका भाकाहरू फेरि गुञ्जिन थालेका छन् । पछिल्ला वर्षहरूमा आधुनिक शैलीका गीतहरूको भीड बढिरहेका बेला दाङका तेजा गैरे र सचिता गौतम भने मौलिक तीज गीतको सुगन्ध जोगाउने अभियानमा निरन्तर लाग्नुभएको छ । यही अभियानको निरन्तरतास्वरूप उहाँको नयाँ तीज गीत ‘बारुले कम्मर’ बजारमा आएको छ ।

घोराही उपमहानगरपालिका–१७, गुलरिया निवासी गैरे पेशाले सरकारी कर्मचारी हुनुहुन्छ । २०६५ सालदेखि शिक्षण पेसामा प्रवेश गर्नुभएका उहाँ २०७२ सालदेखि सरकारी सेवामा आबद्ध हुनुभयो । हाल घोराही उपमहानगरपालिकाको योजना अनुगमन शाखा प्रमुखका रूपमा कार्यरत गैरे कार्यालयको व्यस्त जिम्मेवारीसँगै नेपाली लोकसंस्कृतिको संरक्षणमा पनि उत्तिकै समर्पित देखिनुहुन्छ ।
विद्यालय जीवनदेखि नै साहित्य, संगीत र सिर्जनाप्रति विशेष रुचि राख्दै आउनुभएका गैरेका लागि गीत केवल मनोरञ्जनको साधन होइन, समाजसँग संवाद गर्ने माध्यम पनि हो । त्यसैले उहाँका अधिकांश सिर्जनामा मनोरञ्जनसँगै सामाजिक सन्देश र मौलिक संस्कृतिप्रतिको सम्मान झल्किन्छ ।

यसवर्ष सार्वजनिक भएको ‘बारुले कम्मर’ गीतको शब्द तथा लय स्वयं तेजा गैरेकै हो । गीतमा उहाँसँगै सचिता गौतमको स्वर रहेको छ । मौलिक तीज गीतको परम्परागत शैलीलाई पछ्याउँदै महिलाको स्वरलाई प्राथमिकता दिइएको छ भने परम्परागत बाजागाजामा पुरुष कलाकारको सहभागिताले गीतलाई थप जीवन्त बनाएको छ ।
गीतको छायांकन घोराही–१७ स्थित रमणीय गुलरिया पार्कमा गरिएको छ । भिडियोको सुरुआतमै घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमाकुमारी डिसीको नृत्यले दर्शकलाई स्वागत गर्छ । त्यसपछि स्थानीय कलाकारहरूको सहज अभिनय, परम्परागत पहिरन र मौलिक नृत्यले तीज पर्वको सांस्कृतिक सौन्दर्यलाई जीवन्त बनाएको छ ।

गीतको भिडियोमा उषा पराजुली, विन्दु भुषाल, मञ्जु अधिकारी आचार्य, मुना शर्मा, अञ्जु शर्मा, बबिता केसी, विन्दु देवकोटा तथा तेजा गैरेलगायत कलाकारले नृत्य गर्नुभएको छ । उनीहरूको स्वाभाविक प्रस्तुति र सांस्कृतिक भावले गीतलाई केवल दृश्य सामग्रीमा सीमित नराखी नेपाली महिलाको आत्मीय अनुभूतिसँग जोड्ने प्रयास गरेको छ ।
गीतकार तथा गायक तेजा गैरे भन्नुहुन्छ, “गीत–संगीत मेरो रुचि मात्र होइन, समाजसँग जोडिने एउटा माध्यम हो । मनोरञ्जनसँगै आफूलाई समाजमा चिनाउने र सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले सिर्जना गर्दै आएको छु । मौलिक तीज गीत हाम्रो सांस्कृतिक पहिचान हो । यसलाई जोगाउनु आजको आवश्यकता हो ।”
अर्की गायिका सचिता गौतम पनि मौलिक गीतको संरक्षणमा कलाकारहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “तीज गीत केवल गाउने विषय होइन, यो नेपाली महिलाको जीवन, भावना, संस्कार र संस्कृति बोकेको सम्पदा हो । यस्ता गीतमा स्वर दिन पाउँदा गर्व लागेको छ । आगामी दिनमा पनि मौलिक सिर्जनामा निरन्तर लागिरहने छु ।”
गीतमा नृत्य गर्नुभएकी मञ्जु अधिकारी आचार्यका अनुसार मौलिक तीज गीतमा नृत्य गर्नु कलाकारका लागि केवल अभिनय होइन, संस्कृतिप्रतिको सम्मान पनि हो । उहाँ भन्नुहुन्छ, “हाम्रो मौलिक संस्कृति पुस्तान्तरण हुनुपर्छ । तीज गीतमा नेपालीपन झल्किँदा नाच्न पनि छुट्टै आनन्द आउँछ । ‘बारुले कम्मर’ जस्ता गीतले नयाँ पुस्तालाई पनि आफ्नो संस्कृतिसँग जोड्ने विश्वास लिएको छु ।”
तेजा गैरे र सचिता गौतमका सिर्जना यसअघि पनि दर्शक–श्रोतामाझ लोकप्रिय बनेका छन् । दुई महिनाअघि उहाँकै शब्द रचनामा ‘बबई तरी धारपानी घुमौला’ गीत सार्वजनिक भएको थियो । गत वर्ष उहाँकै शब्द रचनामा ‘नाचौँ छम्म छम्म’ बोलको तीज गीत पनि बजारमा आएको थियो । ती दुवै सिर्जनाले मौलिक गीतप्रेमीबाट सकारात्मक प्रतिक्रिया पाएका थिए ।

व्यावसायिक प्रतिस्पर्धाले भरिएको वर्तमान संगीत बजारमा मौलिक तीज गीतलाई निरन्तरता दिनु आफैंमा चुनौतीपूर्ण काम हो । तर सरकारी सेवाको जिम्मेवारीसँगै संस्कृति जोगाउने अभियानमा निरन्तर सक्रिय तेजा गैरेको प्रयासले एउटा सन्देश दिएको छ— यदि सिर्जनामा संस्कृति, समर्पण र आत्मीयता मिसिन्छ भने गीत केवल सुन्ने वस्तु हुँदैन, त्यो समाजको स्मृति बन्छ । ‘बारुले कम्मर’ त्यही स्मृतिलाई नयाँ पुस्तासम्म पुर्याउने एउटा सांगीतिक पुल बनेर आएको छ ।

