दाङ, २९ फागुन । घोराही उपमहानगरपालिका–१७ चौघेरामा रहेको चौघेरा खानेपानी सरसफाइ तथा उपभोक्ता समितिले आफ्ना उपभोक्तालाई खानेपानी महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। समितिको अध्यक्ष राजुलाल शर्माको अध्यक्षतामा बसेको बैठकले आगामी चैत, वैशाख र जेठ महिनाका लागि खानेपानी महसुलमा आधा छुट दिने निर्णय गरेको हो।
समितिका उपाध्यक्ष सुरेश योगीका अनुसार गर्मी मौसम सुरु भएसँगै पानीको स्रोतमा घटबढ हुने तथा पानीको उपलब्धता कम हुन सक्ने भएकाले उपभोक्तालाई राहत दिन यस्तो निर्णय गरिएको हो। “गर्मी बढ्दै जाँदा पानीको मुहानमै पानीको मात्रा घट्न थालेको छ,” उपाध्यक्ष योगीले भन्नुभयो, “उपभोक्ताहरूलाई आर्थिक रुपमा केही राहत मिलोस् र पानीको सदुपयोगमा पनि ध्यान जाओस् भन्ने उद्देश्यले महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको हो।”
हाल चौघेरा खानेपानी योजनामार्फत ५ सय ३३ घरधुरीलाई खानेपानी सेवा प्रदान गरिँदै आएको छ। दैनिक रूपमा करिब साढे तीन लाख लिटर पानी वितरण र खपत हुने गरेको समितिले जनाएको छ। तर पछिल्लो समय गर्मी मौसमका कारण मुहानबाट आउने पानीको मात्रा केही घट्न थालेको समितिको भनाइ छ।
यसै कारण समितिले उपभोक्ताहरूलाई पानीको प्रयोगमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। अहिले समितिले बिहान र बेलुका गरी दैनिक दुई–दुई घन्टा पानी वितरण गरिरहेको छ। पानीको उपलब्धता सीमित हुँदै गएको अवस्थामा अनावश्यक प्रयोगले समस्या बढ्न सक्ने भएकाले सचेत हुन समितिले अनुरोध गरेको छ।
पिउने पानीलाई सिँचाइका लागि प्रयोग गर्ने, धारा खुलै छोड्ने, अनावश्यक रूपमा पानी खेर फाल्ने जस्ता कार्यले पानीको अभाव झन् बढ्ने जोखिम देखिएको छ। यस्तो कार्य रोक्न सबै उपभोक्ताले जिम्मेवार भएर पानीको प्रयोग गर्नुपर्नेमा समितिले जोड दिएको छ।
गर्मी मौसममा पानीको स्रोत सुक्ने तथा मात्रा कम हुने सम्भावना रहने भएकाले पानीको सदुपयोग गर्नु अहिलेको आवश्यकता भएको समितिका सचिब बुद्धिबिक्रम खत्रीको भनाइ छ। “पिउने पानी अत्यन्तै महत्वपूर्ण स्रोत हो, यसको संरक्षण र सही प्रयोग सबैको साझा दायित्व हो,” उहाँले भन्नुभयो ।
समितिले उपभोक्तालाई घरायसी प्रयोजनका लागि आवश्यक मात्रामा मात्र पानी प्रयोग गर्न, पिउने पानी सिँचाइ वा अन्य अनावश्यक काममा प्रयोग नगर्न र पानीको संरक्षणमा सबैले सहयोग गर्न आग्रह गरेको छ। उपभोक्ताहरूले सचेत भएर पानी प्रयोग गरेमा गर्मी मौसममा सम्भावित अभावको समस्या धेरै हदसम्म कम गर्न सकिने समितिको विश्वास छ।
चौघेरा खानेपानी समितिले आगामी दिनमा पनि पानीको व्यवस्थापन प्रभावकारी बनाउन आवश्यक कदम चाल्दै जाने जनाएको छ। साथै उपभोक्ताको सहकार्य र जिम्मेवार प्रयोगबाट मात्र खानेपानी सेवाको दिगोपना कायम राख्न सकिने समितिको भनाइ छ।

