घोराही । घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को चौथो दिन लोकदोहोरी गायिका ज्योति मगरको दमदार प्रस्तुतिले महोत्सवस्थल युवा उत्साहले भरिएको देखियो । आइतबार अपराह्न मञ्चमा उक्लिएकी ज्योति मगरले फरक शैली, नृत्य र ऊर्जाशील गायनमार्फत दर्शकलाई करिब १ घण्टा लगातार बाँधेर राखिन् ।
अन्य लोकदोहोरी कलाकारभन्दा भिन्न प्रस्तुति शैलीका कारण चर्चित ज्योति मगरले विशेषगरी युवालाई केन्द्रित गर्दै झण्डै आधा दर्जन चर्चित गीत प्रस्तुत गरिन् । उनको प्रस्तुती सुरु भएसँगै महोत्सवस्थलमा युवाहरूको भीड उल्लेख्य रूपमा बढेको देखिन्थ्यो । ज्योति मगरकै आकर्षक प्रस्तुतिका कारण लोकदोहोरी कार्यक्रमको समय अन्य दिनको तुलनामा पछाडि सरेको थियो भने दर्शकहरू साँझ झण्डै ६ बजेसम्म महोत्सवस्थलमै टिकिरहे।
ज्योति मगरले बाहुन दाइको जनै, उही मुलाको सिन्की उही मुलाको चाना, सुर्खेत बुलबुले जाउँला, नाचौँला झ्याउरेको तालैमा, हेरिहेरि र तप्पा लगायतका गीत प्रस्तुत गर्दा दर्शकले ताली, हुटिङ र नृत्यमार्फत् भरपूर साथ दिएका थिए । गीतसँगै मञ्च र दर्शकदिर्घा एकै लयमा बगेको दृश्यले माघे मेलाको साँझलाई अविस्मरणीय बनायो ।
कार्यक्रममा गायक प्रेम शर्माले माली गाईलाई बाँधको दाम्लो र लुकिलुकी हेर्न मन लाग्यो प्रस्तुत गर्दै दर्शकको मन जिते । त्यसैगरी गायिका सुशीला थापा मगरले सलल राप्ती भेरी र धान झुलेको खेत बोलको गीतमार्फत लोकभाव झल्काइन् । डान्सर वर्षा मगर साेनी डान्स ग्रुपको आकर्षक नृत्य प्रस्तुतिले कार्यक्रमलाई थप रंगीन बनायो ।
यसैबीच दोहोरी गीत प्रतियोगिताअन्तर्गत बागिना कला केन्द्र तुलसीपुर र असपारा समूह बीच भएको प्रतिस्पर्धामा बागिना कला केन्द्र विजयी भएको छ । प्रतिस्पर्धात्मक दोहोरीले दर्शकलाई अन्तिम क्षणसम्म उत्सुक बनाएको थियो ।
मेला आयोजक नेपाल मगर सङ्घ घोराही उपमहानगरपालिका समितिका अध्यक्ष बेदबहादुर बुढा मगरले आइतबार मात्रै २० हजारभन्दा बढी दर्शकले मेला अवलोकन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार दिनप्रतिदिन बढ्दै गएको दर्शक सहभागिताले माघे मेलालाई दाङकै प्रमुख सांस्कृतिक र पर्यटन आकर्षणका रूपमा स्थापित गर्दै लगेको छ ।
लोकसंस्कृति, संगीत, नृत्य र दर्शकको उत्साहले भरिएको माघे मेला घोराहीको पहिचान र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिइरहेको स्थानीयको बुझाइ छ । पौष २९ गते भोलि गायिका रचना रिमाल लगायतको प्रस्तुति रहने सांस्कृतिक संयोजक गोपाल बुढा मगरले जानकारी दिनुभयो।
