घोराही, भदौ २ । समाजमा अनेक थरिका मान्छे छन् । समाजलाई सामाजिकीकरण गर्ने सवालमा केही व्यक्ति उदाहरणीय पात्र बन्ने गरेका छन् ।
यहीक्रममा घोराही निवासी ११ वर्षिया जेलिन बुढाका घरपरिवार पनि यस्तै पात्रमा देखा परेको छ । गोरखा इन्टरनेशनल माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत जेलिन बुढाको ११ औं जन्मोत्सवमा उनको बुबा जयराम बुढा र जानकी बुढाले जय महाकाल युवा समूह घोराहीलाई नगद एक लाख सहयोग गर्नु भएको छ । यसको साथै जन्मदिनमा जय महाकाल युवा समूहले निशुःल्करुपमा खाना खुवाउने कार्य गरिरहेको घोराही १५ शहिद गुम्राहा चोकमा खाना खान सहभागि भएका सबैलाई जेलनको घरपरिवारले नगद ४० हजार समेत सहयोग वितरण गरेको छ । जेलिनका बुबाले अम्बिकेश्वरी यातायातमा काम गर्नु हुन्छ ।
यसैगरी जन्मदिनमा सहभागि सबैले खाएको खाना खर्च समेत बुढा परिवारले नै जोहो गरिदिएको जय महाकाल युवा समूहले जनाएको छ । पढाई लगायत अन्य सिर्जनशील क्रियाक्लापमा अग्रसरता देखाउँदै आएकी जेलिन भविष्यमा असल शिक्षक बन्ने उद्देश्यले अघि बढि रहेकि छिन् । पढाई बाहेक जेलिन नृत्यमा पनि पोक्त छिन् । विद्यालयमा हुने अतिरिक्त क्रियाक्लापमा सहभागिता जनाउँदै आएकी जेलिनको जन्मदिनमा जय महाकाल युवा समूहले सुरु गरेको बटुवाहरुलाई खाना खुवाउने कार्य राम्रो लागेकाले आफुले सहयोग गरेको उनको बुबा जयराम बुढाको भनाइँ छ । यसैबीच जय महाकाल युवा समूह घोराहीलाई सहयोग गर्ने बुढा परिवारलाई जय महाकाल युवा समूहका उपाध्यक्ष बालाराम पुनले धन्यवाद ज्ञापन गर्नु भएको छ ।
जय महाकाल युवा समूहले गएको असार २ गतेदेखि घोराहीको गुम्राहचोकमा बटुवाहरुलाई निशुल्करुपमा खाना खुवाउने कार्य गर्दै आएको कछ । महाकालको यस्तो कार्यलाई धेरैले रुचाएका छन् । जसले गर्दा पछिल्ला दिनहरुमा खाना खाने थलोमै पुगेर जन्मदिनलगायतका विशेष दिनहरुलाई मनाउने काम सुरु भएको छ । खाना खाने कार्यमा नियमितरुपमा दैनिक एकसय बढिको सहभागिता हुने गरेको जय महाकाल युवा समूहले जनाएको छ । जय महाकाल युवा समूह घोराहीले घोराही–१४ मिलनचोकमा कार्यालय स्थापना गरेर आफ्नो गतिविधिहरु गरिरहेको छ ।
सोही कार्यालयमा खाना पकाएर विहान अनि साँझ गुम्राहचोकमा ल्याएर जय महाकालले बटुवाहरुलाई खाना खुवाउने गर्दछ । यस बाहेक जय महाकाल युवा समूहको टोलीले घोराहीका धार्मिक अनि महत्वपूर्ण ठाउँहरुमा सरसफाई गर्ने, बृक्षारोपण गर्नेलगायतका कार्यहरु गर्दै आएकोे छ । जय महाकालले सुरु गरेको सबै कार्य राम्रो हुँदै गएको महाकालका सल्लाहकार सविन प्रियासनको भनाइँ छ । महाकाल घोराहीका अध्यक्ष श्रीधर गिरीले अहिलेसम्म साथ सहयोग गर्ने सबैसबैमा धन्यवाद ज्ञापन गर्नु भएको छ ।








