घोराही नगर अस्पताल निर्माण अन्तिम चरणमा

पाण्डव शर्मा
घोराही, ११ साउन । घोराही उपमहानगरपालिका वडा नं. ४ मा निर्माणाधीन नगरस्तरीय अस्पतालको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

भवन निर्माणको काम ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको निर्माण कम्पनी राजेन्द्र निर्माण सेवाका सञ्चालक वीरेन्द्र साहनीले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म भवनको सम्पूर्ण निर्माण कार्य पूरा गरी हस्तान्तरण गरिनेछ । “हामीले हालसम्म करिब ८० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेका छौँ,” साहनीले भन्नुभयो । “१५ शय्याको यो अस्पताल भवन १४ हजार वर्ग फिटमा फैलिएको छ । आवश्यकताअनुसार कोठाहरूको पृथकीकरण गर्न सकिन्छ ।” हाल निर्माण कम्पनीले ४० जना मजदुर खटाएर भवन निर्माणको काम तीव्र गतिमा गरिरहेको छ ।

१० करोड ६ लाख रुपैयाँको लगानीमा निर्माण भइरहेको उक्त भवनको काममा अब केही पूर्वाधार र अन्तिम सजावटको काम बाँकी रहेको इन्जिनियर सन्दीप घिमिरेले बताउनुभयो । साढे दुई तलाको यो भवनको ढलान कार्य पूरा भइसकेको छ । तल्लो तलाको पर्खाल निर्माण सम्पन्न भइसकेको र माथिल्लो तलाको पर्खाल पनि केही समयभित्रै सम्पन्न हुने घिमिरेले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आगामी आर्थिक वर्षको सुरुदेखि नै अस्पताल सञ्चालन गर्ने लक्ष्यका साथ भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिइएको बताउनुभयो । “संविधानले आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ । हामीले सोहीअनुसार भौतिक पूर्वाधार निर्माण गरिरहेका छौँ,” चौधरीले भन्नुभयो । “अस्पताल सञ्चालनका लागि प्रयोगशाला, आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनको जिम्मेवारी भने संघीय सरकारले लिनुपर्छ । स्थानीय सरकारको स्रोतसाधनले सबै व्यवस्थापन गर्न सम्भव छैन ।”

नगरपालिका संघका केन्द्रीय महासचिवसमेत रहनुभएका चौधरीले नगरपालिका संघमार्फत देशभरका स्थानीय तहमा सञ्चालित र सञ्चालनको तयारीमा रहेका नगरस्तरीय अस्पतालहरूका लागि जनशक्ति र उपकरण व्यवस्थापनको जिम्मेवारी संघीय सरकारले लिनुपर्ने माग राखिएको बताउनुभयो । “अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र चिकित्सक व्यवस्थापन गर्न स्थानीय तहलाई आर्थिक भार पर्छ,” उहाँले भन्नुभयो । “नगरस्तरीय अस्पताल निर्माणको काम संघीय सरकारबाटै सुरु भएको हो, त्यसैले उपयुक्त निर्णय हुने अपेक्षा छ ।”

संघीय सरकारबाट सहयोग नआए पनि स्थानीय सरकारले आफ्नो स्रोत परिचालन गरी आगामी आर्थिक वर्षदेखि आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्ने चौधरीले बताउनुभयो । “हामीसँग भएको जनशक्ति र स्रोतसाधन प्रयोग गरेर सामान्य स्तरको आधारभूत सेवा सञ्चालन गर्छौँ,” उहाँले भन्नुभयो । “विशेषज्ञ सेवा र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न भने संघीय सरकारले उपकरण र जनशक्ति व्यवस्थापन गर्नुपर्छ ।”

घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले नगरस्तरीय अस्पताल सञ्चालनलाई प्राथमिकतामा राखिएको बताउनुभयो । संघीय सरकारसँगको सहकार्य र समन्वयमा अस्पताल सञ्चालनमा ल्याइने उहाँको भनाइ छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *