घोराही उपमहानगरपालिकाले भुकम्प प्रतिरोधी भवन निर्माणका लागि निर्माण व्यावसायीहरुलाई तालिम दिन थालेको छ ।
प्रत्येक बर्ष झै यस बर्ष पनि उपमहानगरपालिकाको शहरी तथा पूर्वाधार विकास महाशाखाले डकर्मीहरुलाई भुकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी एक हप्ते तालिमको आयोजना गरेको हो ।
तालिमको उद्घाटन गर्दै नगर प्रमुख नरुलाल चौधरीले भवन सुरक्षित हुनु जीवन सुरक्षित हुनुभएको बताउनुभयो । थोरै पैसाको लोभले भवन असुरक्षित हुने भन्दै उहाँले सबैलाई भवन निर्माण संहिता अनुसार नक्सा पास गराएर मात्रै भवन बनाउन अपिल गर्नुभयो । उहाँले डकर्मीहरुलाई पनि भवन बनाउदा घर धनीलाई अनिवार्यरुपमा नक्सा पास गरेर मात्रै घर बनाउनु पर्ने सल्लाह दिन र नियम विपरित गएर कुनै पनि भवन बनाउने काममा संलग्न नहुन आग्रह गर्नुभयो ।
कार्यक्रमको सहजिकरण गर्दै महाशाखा प्रमुख युबराज पौडेलले भवन बलियो र सुरक्षित भए मात्रै परिवार सुरक्षित हुने बताउनुभयो । तालिममा भवन निर्माणको ठेक्का लिने तथा मिस्त्री काम गर्नेहरुको सहभागिता रहेको छ ।
तालिमको प्रशिक्षकहरुमा महाशाखा प्रमुख सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेल, इन्जिनियरहरु भिष्म केसी, सागर पौडेल, सव इन्जियर मधुसुदन खतिवडा, प्राविधी ओमप्रकाश बस्नेत लगाएत रहनुभएको छ ।








