प्रेस चौतारी दाङको बैठक : समृद्धिको पक्षमा कलम चलाउने प्रतिबद्धता

तुलसीपुर, २४ फागुन । प्रेस चौतारी नेपाल दाङको बैठक शनिवार तुलसीपुरमा सम्पन्न भएको छ ।

बैठकले आगामी चैत १०–१२ मा विराटनगरमा हुन थालेको संगठनको राष्ट्रिय महाधिवेशनलाई भब्यरुपमा सफल बनाउन जिल्लाकोतर्फबाट भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । बैठकले चौतारीको इतिहास र समग्र पत्रकारिताको विषयमा केन्द्रित रहेर स्मारीका प्रकाशन गर्ने निर्णय गरेको प्रेस चौतारी दाङका सचिव निमुसंगम घर्तीले जानकारी दिनुभयो ।

संगठनका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा सम्पन्न बैठकले आगामी वैशाख भित्र दाङका १० ओटै पालिका कमिटीहरुको अधिवेशन गर्ने निर्णय गरेको छ । अधिवेशन सम्पन्न गर्नका लागि जिल्ला समितिकोतर्फबाट प्रतिनिधि समेत तोकेको छ । जस अनुसार घोराहीमा महेश बस्नेत, तुलसीपुरमा वसन्त परियार, लमहीमा लक्ष्मी पोख्रेल, दंगीशरणमा दिप्तीशिखा चौधरी, बबईमा हिमाल खड्का, शान्तिनगरमा हिमाल विश्वकर्मा, बंगलाचुलीमा सुशिल परियार, राजपुरमा अरुण नेपाली, गढवामा दीपक चौधरी र राप्ती गाउँपालिकामा हुमा सुनारलाई संयोजनको जिम्मेवारी दिइएको छ ।

बैठकमा बोल्दै नेकपा (एमाले) दाङका उपाध्यक्ष एवम् जन संगठन समन्वय विभाग प्रमुख मनोहर बुढाथोकीले मुलुकको समृद्धि र स्थिरताको पक्षमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो । उहाँले समाजमा अराजकतावादी शक्तिहरु मौलाउन थालेको उल्लेख गर्दै त्यसका विरुद्ध प्रेस चौतारीले सशक्त अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘अहिले तीन ओटै तहका सरकारमाथि अनावश्यक प्रहार भइरहेको छ, सरकारले गरेका राम्रा कामहरुलाई ओझेलमा पारेर अनावश्यक कुराहरु बाहिर ल्याउन केही तत्वहरु लागिपरेका छन्,’ बुढाथोकीले भन्नुभयो, ‘समाजलाई सकरात्मक दिशातर्फ डो¥याउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुन्छ ।’

प्रेस चौतारीका केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश सह–इञ्चार्ज टीका बस्नेतले पत्रकारिता क्षेत्रमा देखिएका विकृतिहरु रोक्नका लागि चौतारीका सदस्यहरुले सचेत ढंगले प्रयत्न गर्नुपर्ने बताउनुभयो ।

बैठकका प्रमुख अतिथि समेत रहनुभएका चौतारीका केन्द्रीय सदस्य एवम् नेकपा (एमाले) दाङ चौतारी फाँट प्रमुख गणेश आचार्यले सामाजिक सञ्जालमा अनावश्यक कुराहरु लेख्ने प्रवृत्ति बढेको उल्लेख गर्दै मर्यादित पत्रकारिता अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

नेकपा (एमाले) दाङका प्रचार विभाग प्रमुख संगीत बस्यालले पार्टीले ल्याएको मिसन २०८४ को अभियानलाई सशक्त बनाउन चौतारीका सदस्यहरुले भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश महासचिव पाण्डव शर्माले अहिले छापा पत्रकारिता चुनौतिपूर्ण अवस्थामा पुगेको र डिजिट मिडियाको विश्वसनीयता माथि प्रश्न उठिरहेकाले सम्बन्धित सरोकारवाला पक्षहरु गम्भिर भएर लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रेस चौतारी नेपाल, लुम्बिनी प्रदेश उपाध्यक्ष दशरथ घिमिरले पालिका अधिवेशनहरुलाई भब्य र सब्य बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

बैठकमा चौतारीबाट लुम्बिनी प्रदेश समितिमा निर्वाचित उपाध्यक्ष दशरथ घिमिरे, सचिवहरु माधव कंडेल, निता चौधरी र सदस्य नवराज शर्मालाई बधाई ज्ञापन गरिएको थियो ।
उपाध्यक्ष विमल योगीको स्वागत मन्तब्यबाट शुरु भएको बैठकको सञ्चालन सचिव निमुसंगम घर्तीले गर्नुभएको थियो ।
बैठकले आगामी चैत २ गते हुन थालेको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा मनोज लामिछानेले नेतृत्व गर्नुभएको नेकपा (एमाले) नेतृत्वको संयुक्त लोकतान्त्रिक प्यानलका उम्मेदवारहरुलाई विजयी बनाउन प्रचारप्रसार समिति गठन गरको छ । प्रेस चौतारीका नेता हेमराज डाँगीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको हो ।

लामिछाने नेतृत्वको प्यानलबाट उपाध्यक्षमा लक्ष्मण केसी, सचिव भुवन भुसाल, कोषाध्यक्ष सुशिला न्यौपाने, सदस्यहरु छमा भण्डारी, प्रमिल तिवारी, सुशिल ओली, पदमबहादुर खड्का र सुकण्ठ न्यौपानेले उम्मेदवारी दिनुभएको छ ।
उम्मेदवारसँग प्रचार विभाग
तुलसीपुर खानेपानी, उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न निर्वाचनका उम्मेदवारहरुसँग नेकपा (एमाले) दाङ प्रचार विभागले छलफल गरेको छ ।

प्रचार विभाग प्रमुख संगीत बस्यालको अध्यक्षता एवम् नेकपा (एमाले) केन्द्रीय निर्वाचन आयोगका सदस्य हिराचन्द्र केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निर्वाचनको रणनीति, प्रचारप्रसार लगायतका विषयमा छलफल भएको थियो ।
छलफलमा प्रमुख अतिथि केसीले सुरक्षित र पर्याप्त पानी उपभोक्ताका लागि अपरिहार्य भएको उल्लेख गर्दैै लामिछाने नेतृत्वको प्यानलले उपभोक्ताको माग र आवश्यकतालाई ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

छलफलमा एमाले प्रदेश कमिटी विनोद शर्मा र दाङ जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीले अहिलेको खानेपानीको निर्वाचन पार्टीको प्रतिष्ठासँग जोडिएको बताउनुभयो । उपभोक्ताहरुको माग, पानीमा गुणस्तर, पर्याप्ततालाई पहिलो प्राथमिकतामा राखेर सक्षम उम्मेदवारहरु चयन गरिएको उहाँहरुले बताउनुभयो ।
कार्यक्रमको सहजीकरण नेता गोकर्ण पौडेलले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *