घोराही । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२८३का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरसभाको १७ औं अधिवेशनमा नगर प्रमुख नरुलाल चौधरीले नीति तथा कार्यक्रम पेश गर्नुभएको हो । प्रस्तुत छ नीति तथा कार्यक्रमको पूर्ण पाठः
नगरसभा सदस्यज्यूहरु,
1. स्थानीय सरकार नागरिकहरूको घरदैलोमै सेवा पुर्याउने शासन संरचनाको मूल आधार हो।यही स्थानीय सरकारको हैसियतले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम यस गरिमामय नगरसभामा प्रस्तुत गर्न पाउँदा मलाई अत्यन्त गौरवको अनुभूति भएको छ।
2. संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले निर्माण गरेको संघ, प्रदेश र स्थानीय सरकारका तीन तहहरूमध्ये हामी स्थानीय सरकार, जनतासँग प्रत्यक्ष रूपमा आबद्ध रहेर आर्थिक, सामाजिक, भौतिक, साँस्कृतिक, कानुनी लगायत जनजीविका सम्बन्धी सवालहरूको संरक्षण, प्रवर्द्धन र रुपान्तरण गर्ने जिम्मेवारीका साथ अघि बढिरहेका छौं।
3. यस वर्षको नीति तथा कार्यक्रम विभिन्न क्षेत्रका विषय विज्ञ, सरोकारवाला निकाय, नागरिक समाज र नगरवासीहरूसँगको परामर्श र संवाद मार्फत प्राप्त सुझावहरूको समुचित एकीकरणका आधारमा तयार पारिएको हो।नीति निर्माण प्रक्रियामा सहभागी भई अमूल्य सुझाव दिनुहुने सम्पूर्ण नगरवासी तथा सरोकारवाला महानुभावहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
4. यसै सन्दर्भमा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापनाका लागि नेपाली जनताले गरेको लामो राजनीतिक संघर्ष, आन्दोलन तथा क्रान्तिमा जीवन उत्सर्ग गर्नु भएका सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।यस्ता ऐतिहासिक परिवर्तनका अग्रपंक्तिमा रहेर नेतृत्व गर्नु भएका महान् अग्रज नेताहरू, घाइते योद्धा तथा वेपत्ता नागरिकहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु।
5. नगर स्थापना कालदेखि नै नगरको चौतर्फी विकासका विविध आयाममा सक्रिय भूमिका निर्वाह गर्नु भएका यहाँका अग्रज व्यक्तित्वहरू प्रति समेत उच्च आदर व्यक्त गर्दै, उहाँहरूले पुर्याउनु भएको योगदानको स्मरण गर्न चाहन्छु।
6. नेपालको संविधानले स्थानीय सरकारलाई प्रदान गरेको अधिकारको परिपालन गर्दै, घोराही उपमहानगरपालिकाले ऐन, कानून र कार्यविधिहरूको निर्माण तथा संस्थागत व्यवस्थापन मार्फत कानुनी, संरचनागत, नीतिगत र व्यवस्थापकीय सुधार गर्दै सेवा प्रवाह, समृद्धि र विकास निर्माणका क्रियाकलापलाई सँगसँगै अघि बढाएको छ।संविधानले परिकल्पना गरेको स्वशासनको भावनालाई मूर्तरूप दिन हामी कटिबद्ध छौं।
नगरसभा सदस्यज्यूहरु, 7. अब म यस सम्मानित सभा समक्ष चालु आर्थिक वर्षसम्म हासिल भएका मुख्य मुख्य क्षेत्रगत उपलब्धीहरुको समिक्षा प्रस्तुत गर्ने अनुमति चाहन्छु।
8. नेपालको संविधानले प्रदान गरेका अधिकारहरूको उपयोग गर्दै, हामीले “स्थानीय सरकार सञ्चालन ऐन २०७४” अन्तर्गत विकास, सेवा र सुशासनको यात्रालाई तीव्र गतिमा अगाडि बढाएका छौं।घोराही उपमहानगरपालिकाले हालसम्म १३३ वटा कानून निर्माण गरी स्थानीय शासनलाई विधिसम्मत र उत्तरदायी बनाउँदै आएको छ।चालु आर्थिक वर्षमा मात्रै २२ वटा कानूनहरू निर्माण भएका छन्, जसले जनअपेक्षा अनुसार विकास र सेवा प्रवाहमा उल्लेखनीय टेवा पुर्याएको छ।
9. हामीले भौतिक पूर्वाधारको क्षेत्रमा पनि महत्वपूर्ण उपलब्धिहरू हासिल गरेका छौं। स्थानीय तहको निर्वाचन २०७४ यता १८९ किलोमिटर सडक कालोपत्रे, ४२३ किलोमिटर ग्राभेल तथा स्तरोन्नति, २३८ किलोमिटर नयाँ सडक निर्माण र ६५ किलोमिटर मर्मत कार्य सम्पन्न भइसकेको छ।१७८ वटा कल्भर्ट र ३ वटा झोलुङ्गे पुलको निर्माण भएका छन्।सबै वडाहरुलाई सडक सञ्जाल मार्फत नगर केन्द्रमा जोड्ने काम भएको छ जसले जनताको सामाजिक तथा आर्थिक जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको छ।
10. सफा र स्वस्थ नगर निर्माणको अभियान अन्तर्गत ८३ किलोमिटर ढल तथा नाला, १९ वटा पार्क र १ वटा स्यानेटरी ल्यान्डफिल साइट निर्माण गरिएका छन्।नदी नियन्त्रणका कामहरू पनि २८ किलोमिटर भन्दा बढी क्षेत्रमा सम्पन्न भएका छन्।
11. नगरवासीलाई स्वच्छ खानेपानी पुर्याउने लक्ष्य अनुसार ९७ वटा कुवा र ६३ वटा डिप बोरिङ निर्माण भएका छन्। सरकारका सम्बन्धित निकाय र स्थानीय उपभोक्ता संस्थाको सहकार्यबाट आज करिब ९० प्रतिशत घरधुरीमा स्वच्छ पानीको पहुँच पुर्याउन सफल भएका छौं।
12. कृषिमा आत्मनिर्भरता र जल स्रोतको उपयोगका लागि ४३ वटा कृत्रिम जलाशय निर्माण गरी ७३८ हेक्टर जमिन सिंचित भएका छन् भने ८७ किलोमिटर विद्युत प्रसारण लाइन बिस्तार तथा वैकल्पिक ऊर्जाका लागि ७ वटा सौर्य प्लान्ट निर्माण भएका छन्। यसले कृषि उत्पादनमा वृद्धि, वातावरण सन्तुलन र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुर्याएको छ।
13. युवा र समुदाय केन्द्रित पूर्वाधार निर्माणमा पनि हामी सक्रिय रहेका छौं।यस अवधीमा १५ वटा खेल मैदान, १ वटा हाटबजार, २१ वटा विद्यालय भवन र २५ वटा नयाँ कक्षाकोठाहरू निर्माण तथा मर्मत गरिएका छन्। स्वास्थ्य संस्थामा २३ वटा भवन निर्माण तथा तला थप कार्य सम्पन्न भइसकेको छ।योग हल, ध्यान केन्द्र, कभर्ड हल, यात्रु प्रतिक्षालय र ४१ वटा सामुदायिक भवनको निर्माणबाट सामाजिक सम्बन्ध मजबुत बनाइएको छ।
14. धार्मिक, सांस्कृतिक र सार्वजनिक सम्पत्तिको संरक्षण अन्तर्गत ९ वटा सार्वजनिक शौचालय, २३ वटा मठ, मन्दिर, गुम्बा, चर्च र मदरसा लगायत धार्मिक स्थलहरुको निर्माण तथा मर्मत गरिएको छ भने ४० वटा भुयाँरथानको निर्माण भएको छ। साथै १९ वटै वडाको कार्यालय भवन निर्माण तथा मर्मत कार्य भएको छ।त्यसै गरी यस अवधिमा जलाशय संरक्षण, सरकारी तथा सार्वजनिक जग्गा संरक्षण, विद्यालय, स्वास्थ्य संस्था, मन्दिर लगायत सार्वजनिक सम्पत्ती संरक्षणका लागि ४१ किलोमिटर तारवार निर्माण गरिएको छ।
15. मा.वि. धर्ना, जजरा गाँउ, रतनपुर, तोष, डाँडागाँउ, खैरा, काठेकोहल, चौघेरा एवं प्रा.वि. पेदा, हरिद्वार, आमधारा, गुर्जे, लगायत १७ वटा विद्यालयहरुको यसै चालु आ.व.मा भवन निर्माण, मर्मत तथा तल्ला थप गरिएको छ।साथै खानेपानी मर्मत, शौचालय निर्माण जस्ता पूर्वाधारसंग सम्बन्धित अति आवश्यक काम भएका छन।
16. विपन्न नागरिक उपचार सेवा अन्तर्गत आठ प्रकारका रोगहरु मुटुको अप्रेसन, क्यान्सर, मृगौला डायलासिस, पार्किन्सन, अल्जाईमर, हेडईन्जुरी, स्पाईनल ईन्जुरी र सिकलसेल एनिमियाका बिरामीहरुलाई उपचार सहुलियतको सिफारिस गरिएको छ।
17. प्रजनन स्वास्थ्य रुग्णता कार्यक्रम अन्तर्गत घोराही उपमहानगरपालिकाका विभिन्न वडाहरुमा गई पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र आङ खस्ने समस्या रोकथाम तथा पत्ता लगाउनका लागि पाठेघरको जाँच‘ गर्ने कार्यक्रम संचालन गरी जम्मा ५३६९ जना महिलाहरुलाई सेवा प्रदान गरिएको छ।संस्थागत परिवार नियोजन क्लिनिकबाट पाठेघरको मुखको कयानसरको नियमित जाँच गर्ने गरिएको छ।
18. ज्येष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य उपचार कार्यक्रमलाई निरन्तरता दिँदै ७० बर्ष माथिका नागरिकको स्वास्थ्य परिक्षणको परामर्शका लागि स्वास्थ्यकर्मीहरु नियमित मासिक रुपमा घरमै गई घरभेट स्वास्थ्य उपचार तथा परामर्श कार्यक्रमबाट ७२९५ जना ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य उपचार तथा परामर्श सेवा प्रदान गरिएको छ।
19. १०५० जना नागरिकहरुलाई नसर्ने रोग तथा मानसिक रोग सम्बन्धि स्क्रिनिंग गरिएको छ।
20. “उज्यालो संसार” कार्यक्रम अन्तर्गत राप्ती आँखा अस्पताल रक्षाचौर तुल्सीपुरको सहकार्यमा मोतियाबिन्दुको अप्रेसन निःशुल्क गर्ने व्यवस्था मिलाइएको छ।जस अन्तर्गत आर्थिक वर्ष २०८१/८२ मा २८६ जना नगरवासीले निःशुल्क मोतियाबिन्दुको अप्रेसन सेवा प्राप्त गर्नु भएको छ। साथै आखाँ जाँच शिविरबाट ४७४९ जना नगरवासी लाभान्वित हुनु भएको छ।
21. नगर प्रमुख रक्तसंचार कार्यक्रमबाट आ.व. २०८१/८२ मा जम्मा ९९७ प्वाइन्ट रगत प्रदान गरिएको छ।जस अन्तर्गत जम्मा ४२३ जनाले नि:शुल्क रगत प्राप्त गर्नु भएको छ। 22. घोराही उपमहानगरपालिकाका २ वर्ष मुनिका सबै बालाबालिकाहरुलाई खोप प्रदान गरी पूर्ण खोप नगर सुनिश्चितता गरिएको छ।
23. बालमैत्री नगर दिगोपनाको लागि महाशाखा/शाखा सरोकारावाला सबैको सहयोग, सहाकार्य र समन्वयमा सूचक अनुसार कार्यक्रम संचालन गरिएको छ साथै सन २०२६को अन्त्य सम्म लैङ्गिक हिंसा नियन्त्रित नगर घोषणा गर्ने अभियानका लागि सूचक अनुसार कार्यक्रम अगाडी बढाउदै लगिएको छ।
24. मानव कल्याण आश्रम सेवा घर, शान्ति बाल गृह र अल्पकालिन सेवा गृह मार्फत सडक मानव, बेवारिसे बालबालिका, हिंसा पिडित महिलाहरुको व्यवस्थापन, पुनर्स्थापन गरिएको छ।
25. चालु आर्थिक वर्षको अन्त सम्म आई पुग्दा सामाजिक सुरक्षा वापत भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या १७२९३ कायम रहेको छ र उहाँहरुले बैंक मार्फत चालु आर्थिक वर्षमा रु. ६५ करोड १८ लाख ३१ हजार ७ सय ३४ रुपैया भुक्तानी प्राप्त गर्नु भएको छ ।
26. कृषि तर्फ चालु आ.व.मा साना सिचाई कार्यक्रम, यान्त्रिकरण प्रवर्द्धन कार्यक्रम, तरकारी कम्पोजिट बिउ वितरण लगायत कृषिसंग सम्बन्धित सूचना प्रदान गर्न कृषि एप मार्फत किसान सूचिकरण जस्ता कार्यक्रमहरु सम्पन्न भएका छन।
27. स्वस्थ दुध, मासु उत्पादन तथा उपभोग सम्बन्धमा चेतना मुलक कार्यक्रम, मुत्र संकलन सहित भकारो सुधार कार्यक्रम, पशुपन्छीमा लाग्ने रोग विरुद्धको खोप, किसानहरुलाई पोषिलो घाँसको विउ वितरण गर्ने जस्ता किसान मुखि कार्यक्रम सम्पन्न भएका छन।
28. चालु आ.व.मा पर्यटन तथा संस्कृति प्रवर्द्धन तर्फ विश्व पर्यटन दिवस, काव्य उत्सव तथा श्रष्टा सम्मान जस्ता कार्यक्रमहरुबाट कला, साहित्य, संस्कृतिको संरक्षण एवं प्रवर्द्धनमा सहयोग, नगरका पर्यटकीय सम्पदाहरुको फोटो संकलन तथा अभिलेखिकरण, परम्परागत एवं लोपोन्मुख वाद्यवादन तथा नृत्य सामग्रीको संरक्षण भएको छ।साथै पर्यटकीय सम्पदाहरुको चिनारी दिन QR Code निर्माण भएको छ।
29. आपत्कालीन कार्य सञ्चालन केन्द्रका लागि सामग्री तथा तटबन्ध निर्माणका लागि तारजाली खरिद गरिएको छ। वन डढेलो नियन्त्रण, जैविक विविधता संरक्षण, जलवायु परिवर्तन र भू-संरक्षण सम्बन्धी सचेतना कार्यक्रमहरू सम्पन्न गरिएका छन्। विपद् व्यवस्थापन, खोज तथा उद्धारसम्बन्धी नमूना अभ्यास कार्यक्रम र सामुदायिक वन समितिका लागि क्षमता विकास कार्यक्रम संचालन गरिएको छ।
30. घोराही उपमहानगरपालिकाको वास प्लान निर्माण गर्न आवश्यक पर्ने कानूनहरुको निर्माण गरिएको छ।
31. घोराही उप-महानगरपालिका वडा नं. १६मा अवस्थित ल्यान्डफिल साइट प्रभावित व्यक्तिहरुका लागि बंगुरपालन र च्याउखेती तालिम, संचालन गरी तालिममा सहभागीहरुलाई औषधी सहित
30 वटा बंगुरका पाठापाठी र २२५ पोका च्याउको बिउ सहित आवश्यक सामग्री उपलब्ध गराइएको छ।
32. टोल बिकास संस्थाहरुलाई फोहरमैला व्यवस्थापन सम्बन्धी अभिमुखीकरण तथा पूर्ण रुपमा फोहर वर्गीकृत टोल घोषणा कार्यक्रमलाई प्रोत्साहन गर्दै लगिएको छ।
33. चालु आर्थिक बर्षको जेठ २५ गते सम्ममा आन्तरिक राजश्व तथा शुल्क करिब रु. २३ करोड ५५ लाख ४१ हजार १३५ र चैत्र मसान्त सम्ममा मालपोत रजिष्ट्रेसनबाट प्राप्त आय रु. १४ करोड ४३ लाख ६२ हजार ९१० गरी जम्मा आन्तरिक आय रु. ३७ करोड ९९ लाख ४ हजार ४५ संकलन भएको छ।
34. सूचना प्रविधिको प्रयोगलाई बढाउँदै सबै वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु, सेवा केन्द्र तथा इकाईहरुमा सूचना प्रविधि उपकरण तथा इन्टरनेट जडान भई विद्युतीय शासनसँग सम्बन्धित ई-सेवाहरु, अनलाईन घटना दर्ता, अनलाइन सफ्टवेयर मार्फत राजस्व संकलन लगायतका सेवाहरु वडास्तरमै संचालन भई नगरवासीहरुलाई सहज रुपमा सेवा प्रदान गरिएको छ।अधिकांश सामुदायिक विद्यालयहरुमा सूचना तथा संचार प्रविधि ल्याब (ICT Lab) स्थापना भई कम्प्युटरमा आधारित शिक्षण विधि संचालन गरिएको छ।
35. वेबसाइट, ग्रुप एस.एम.एस., डिजिटल हेल्प डेस्क, मल्टीमिडिया, सामाजिक संजाल लगायतका माध्यमहरु प्रयोग गरी सूचना प्रवाहलाई अद्यावधिक एवं प्रवाभकारी बनाइएको छ।
36. चालु आ.व.मा कर्मचारीहरुको सूचना प्रविधि विधामा क्षमता अभिवृद्धी गरी सबै वडाहरुबाट अनलाइनमा आधारित केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली मार्फत नागरिकता सिफारिसको कामको सुरुवात भएको छ।
37. रेडियो कार्यक्रम, टेलिभिजन कार्यक्रम तथा छापा लेखको माध्यमबाट आम नगरवासीलाई सु-सूचित गराउनुका साथै “जनतासँग स्थानीय सरकार”को सम्बन्ध बिस्तार गरिएको छ।
38. आवधिक रुपमा नियमित सार्वजनिक सुनुवाईका कार्यक्रमहरु संचालन गरी सार्वजनिक जवाफदेहिता प्रवर्द्धन गरिएको छ।
39. त्रैमासिक तथा वार्षिक रुपमा योजना तथा कार्यक्रमहरुको प्रगतिको समिक्षा मार्फत सुधार गर्नु पर्ने पक्षहरुको पहिचान गरी नीति तथा कार्यक्रममा समावेश भई कार्यान्वयन भएका छन।
40. स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन, वित्तीय जोखिम न्यूनिकरण, स्वत: प्रकाशन लगायतका संस्थागत सुधारका कार्यहरु निरन्तर हुँदै आएका छन्।
41. चालु आ.व.मा संयुक्त बजार अनुगमन र गुणस्तर नियन्त्रण, उपभोक्ता सचेतना अभिवृद्धि कार्यक्रम, विद्यालयस्तरीय पोषण सचेतना कार्यक्रम, खाद्य स्वच्छता र गुणस्तर प्रवर्द्धन कार्यक्रम, खाद्य वस्तुमा अखाद्य रङको प्रयोगको नियन्त्रण तथा नियमित अनुगमन, उपभोक्ता गुनासो व्यवस्थापन, फुटपाथ र ठेला व्यवसाय व्यवस्थापन, सडक, पार्किङ व्यवस्थापन र खाद्य परीक्षणमा प्रविधिको प्रयोग मार्फत उपभोक्ता हित संरक्षण सम्बन्धी विभिन्न कार्यक्रम संचालन भएका छन।
42. न्यायिक समितिमा सरोकारवाला पक्षसंग अन्तर्क्रिया कार्यक्रम‚ नागरिकसंग कानुनी साक्षरता कार्यक्रम‚ न्यायिक समितिद्वारा सम्पादित कार्य प्रगति बारे पत्रकार मार्फत आम नागरिकलाई जानकारी दिने उद्देश्यले त्रैमासिक रुपमा पत्रकार सम्मेलन कार्यक्रम‚ नागरिकहरुको सहजतालाई ध्यानमा राखि न्यायिक घुम्ति शिविर संचालन गरिएको छ।ऐन, कानून तथा कार्यविधि निर्माण प्रकृयालाई सहजता प्रदान गर्न आवश्यकता अनुसार विधेयक समितिमा छलफल गराई टुङ्गो लगाउने गरिएको छ।
43. अघिल्लो वर्षबाट सरी आएका २७ र चालु आ.व. २०८१/८२ मा दर्ता भएका ८९ गरी जम्मा ११६ विवाद मध्ये ९० वटा विवादको मिलापत्र/अन्तिम निर्णय भएका छन् भने २६ वटा विवाद प्रकृयामा रहेका छन।यसरी जिम्मेवारी सरी आएका र दर्ता भएका विवादहरु मध्ये ७८% विवाद फर्छ्यौट भएका छन।
44. बैदेशिक रोजगारलाई सुरक्षित एंव मर्यादित र उपलब्धीमूलक बनाउन वित्तीय साक्षरता, मनोसामाजिक परामर्श सहित विभिन्न कार्यक्रमहरु संचालन भएका छन।
45. चालु आ.व.मा रिटर्नी स्वयंसेवकहरु मार्फत २११२ जनालाई घरदैलोमा गई सुरक्षीत बैदेशिक रोजगार सम्बन्धी सूचना प्रदान गर्नुका साथै समुदाय स्तरीय ६५ वटा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएका छन। त्यस्तै बैदेशिक रोजगारीसँग सम्बन्धित ३८१ वटा, ठगी सम्बन्धी १० वटा, मृत्यु सम्बन्धी २५ जनालाई, विदेशबाट उद्दार गरिएका स्वास्थ्य समस्या भएका ,हराएको लगायत १३ जना गरी जम्मा ४२९ वटा समस्याहरु मध्ये ३९ वटा समाधान गरिएको छ भने बाँकी ३९० वटा समस्याहरु समाधान गर्न प्रक्रिया अगाडी बढाइएको छ। नगरसभा सदस्य ज्यूहरु,
46. अब म आगामी आर्थिक वर्ष २०८२/८३ को लागि अख्तियार गरिने नीति तथा कार्यक्रम सम्मानित सभा समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु।
47. नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, दिगो विकास लक्ष्यहरू (SDGs), नेपाल सरकारको सोह्रौं योजनाको मार्गदर्शन, संघीय तथा प्रदेश सरकारको नीति तथा प्राथमिकता, उपमहानगरपालिकाको एकीकृत शहरी विकास योजना, आवधिक योजना साथै नगरको विशिष्ट सम्भाव्यता र आवश्यकता तथा नगरवासी आमाबुबा, दिदीबहिनी, दाजुभाइहरूमार्फत लिखित, मौखिक, अनलाइन तथा अन्य विभिन्न माध्यमबाट प्रस्तुत जनअपेक्षा र सुझावहरू, साथै विभिन्न विषयगत क्षेत्रसँग सम्बन्धित सरोकारवाला एवं विज्ञहरूसँगको औपचारिक अनौपचारिक परामर्शलाई समेट्दै आर्थिक वर्ष २०८२/८३ का लागि निम्न लिखित नीतिहरू अबलम्बन गरिनेछ।यी नीतिहरू समावेशी, सशक्त, उत्तरदायी र दिगो विकासलाई मार्गदर्शक सिद्धान्तको रूपमा अंगीकार गर्दै कार्यान्वयन गरिनेछन। नगरसभा सदस्य ज्यूहरु,
48. पूँजीगत बजेट खर्च क्षमता अभिवृद्धि गर्न आवधिक योजना र मध्यकालिन खर्च संरचना र आयोजना वैंकलाई आधार मानी वार्षिक योजना तथा कार्यक्रम बनाई कार्यान्वयन गरिनेछ।घोराही उपमहानगरपालिकाबाट पहिचान गरिएका स्थानीय गौरवका आयोजनाहरुमा प्राथमिकताका साथ लगानी गरिनेछ।अधुरा तथा क्रमागत आयोजनाहरुलाई प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ।
49. “नागरिकसँगै विकास” भन्ने अवधारणा अनुरुप स्रोत सुनिश्चितता सहित नगर-नागरिक समपुरक आयोजनाहरु ५०/५०, ३५/६५ र २०/८० प्रतिशतको आधारमा प्राथमिकताका साथ संचालन गरिनेछ। 50. उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने आयोजनाहरु सम्बन्धित उपभोक्ता समितिलाई हस्तान्तरण गरी एक वर्ष भित्र मर्मत गर्नु पर्ने भएमा सम्बन्धित उपभोक्ता समितिबाट मर्मत गर्ने व्यवस्था मिलाइनेछ।
51. आयोजनामा नागरिकहरुको अधिकतम सहभागिता र अपनत्व वढाउन अधिकतम लागत सहभागिता सुनिश्चित हुने आयोजनाहरुलाई प्राथमिकता साथ कार्यान्वयन गरिनेछ।साना तथा कम लागतका टुक्रे आयोजनाहरुलाई कम गर्दै परिणाममुखी बनाउन साथै बहुसंख्यक जनताहरुमा प्रत्यक्ष लाभ हुने आयोजना तयार गरिनेछ।
52. आयोजनाहरुको गुणस्तर परीक्षण गर्न घोराही उपमहानगरपालिकाको आफ्नै परीक्षण प्रयोगशाला स्थापनाको लागि आवश्यक पूर्वाधार तयारीको शुरुवात गरिनेछ।मर्मत संभार कोष तथा सडक बोर्ड मार्फत निर्मित संरचनाहरुको नियमित मर्मत संहार गरिनेछ।
53. गाउँवस्ती जोड्ने साना खोल्सा तथा खहरे खोलाहरुमा कल्भर्ट निर्माण गरी आवत जावतलाई सहज बनाइनेछ साथै संघीय सरकार तथा प्रदेश सरकारको लगानीमा ठूला नदी/खोलाहरुमा पुल निर्माणको लागि पहल गरिनेछ।
54. वेलदमार-चाक्लिघाट हुदै सूर्केडाँगी र नैनवार-रज्जेमन्नामे हुदै रिहार सम्मको सडकलाई घोराहीको वैकल्पिक सडक मार्गको रुपमा विकसित गरिनेछ।
55. संघ तथा प्रदेश सरकारको सहकार्य र समन्वयमा औद्योगिक क्षेत्र तथा औद्योगिक ग्राम पूर्वाधार निर्माणमा जोड दिइनेछ।
56. नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम सुरक्षित नागरिक आवासका निमित्त राष्ट्रिय भवन संहिता अनुसार निजि तथा सार्वजनिक भवनहरुको नक्सापास अभियानलाई तिब्रता दिइनेछ।नक्सा पास अनुमति नलिएका घरधनीहरुको भवन निर्माण गर्ने ठेकेदार/निर्माण व्यवसायीलाई कारवाहीको दायरामा ल्याइनेछ।नक्सा पास प्रक्रियालाई सजिलो, भरपर्दो, सुरक्षित तथा जनमुखी बनाउन हाल कार्यान्वयनमा रहेको विद्युतीय प्रणालीलाई थप सुदृढ एवं उपयोगी बनाउदै लगिनेछ।
57. नयाँ निर्माण, मर्मत वा प्रबलिकरण हुने भवनहरुमा उर्जा खपत कम गरी भवनलाई उर्जा प्रभावी बनाउदै लगिनेछ।जलवायु अनुकुलन डिजाइनलाई प्रोत्साहन गर्दै नक्सापास प्रक्रियालाई थप सरलीकरण गरिनेछ।
58. नयाँ निर्माण हुने भवनहरुमा भुमिगत जल भण्डार तथा पानीका मुहानहरु संरक्षण गर्न बर्षातको पानीलाइ रिचार्ज गर्ने तथा प्रशोधन गरी प्रयोगमा समेत ल्याउने प्रयोजनका लागि बर्षातको पानी संकलन गर्ने प्रविधि (Rain Water Harvesting) लाई प्रोत्साहन गरिनेछ।साथै यससंग सम्बन्धित कार्यरत प्राविधिक कर्मचारी, दर्तावाला डिजाईनर तथा अन्य डिजाईनरहरुलाई क्षमता विकास सम्बन्धी तालिम संचालन गरिनेछ।
59. घोराही उपमहानगरपालिका अन्तर्गत रहेका भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन नाप नक्शा सम्बन्धी कार्यलाई आवश्यक जनशक्ति परिचालन गरी तदारुकताका साथ अगाडी बढाइनेछ। नगरसभा सदस्य ज्यूहरु
60. घोराही उपमहानगरपालिका क्षेत्र भित्र उपलब्ध कृषियोग्य भूमिमा नियमित तथा भरपर्दो सिँचाइ सुविधा सुनिश्चित गर्न सम्भावित खोला, खोल्सी, सिमसार तथा अन्य जलस्रोतहरूको संरक्षण र व्यवस्थापन गरिनेछ।भूमिगत जल भण्डारण प्रणालीको सन्तुलन कायम राख्ने कार्यसंगै सिँचाइ, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा नगरवासीहरूको आयआर्जन वृद्धि गर्ने उद्देश्यका साथ आवश्यक कार्यक्रमहरू कार्यान्वयन गरिनेछन्।साथै निर्माण गरिएका जलाशयहरूमा निजी क्षेत्रसँगको सहकार्य (Public-Private Partnership) मा व्यवसायिक गतिविधि संचालनका लागि आवश्यक व्यवस्था मिलाइनेछ।
61. सम्भाव्यताको आधारमा डिपबोरिङ, स्यालो ट्युववेल, लिफ्ट सिंचाइ वहुउद्देश्यीय जलाशयहरूको निर्माण, मुहान तथा कुला संरक्षण, प्रमुख बाँधहरूको मर्मत एवं संरक्षणका कार्यक्रमहरू संचालन गरिनेछ।
62. उत्पादनको आधारमा विभिन्न वडाहरुलाई बाली विशेषको पकेट क्षेत्र पहिचान तथा बिस्तार गरी बिभिन्न खाद्यान्न बाली‚ नगदेवाली तथा फलफूल खेतीको रुपमा विकास एवं विस्तार गरिनेछ।वीउको स्रोत केन्द्र सुदृढीकरण, विस्तार र प्रवर्द्धन गरी बर्षेनी बाहिरबाट आयात गरिने मूल बिउको बिज बृद्धि गर्ने सहकारी तथा निजी फर्म केन्द्रहरुलाई प्रोत्साहित गरिनेछ।
63. वाँझो तथा प्रयोगविहीन जमिनलाई कृषि उपयोगमा ल्याई उत्पादनशील बनाउने उद्देश्यले “भूमि बैंक” सम्बन्धी कानून बनाइ कार्यान्वयनमा ल्याइनेछ।कृषि उपजको बजारीकरण, हाटबजारको व्यवस्थापन तथा कृषि सहकारी संस्थाहरूको सुदृढीकरण गरिनेछ।
64. सूचना प्रविधिको प्रभावकारी प्रयोग मार्फत कृषकहरूलाई समयमै कृषि सम्बन्धी सूचना, सल्लाह, प्रविधि तथा सेवा पहुँच पुर्याउने उद्देश्यले चालु आ.व. २०८१/८२मा कार्यान्वयनमा ल्याइएको “घोराही कृषि मोबाइल एप” मा किसानहरुको पहुँच विस्तार गरिनेछ।घोराही उपमहानगरपालिका अन्तर्गत रहेको कृषि योग्य भूमि तथा वालि विशेष उत्पादनको परिमाण सहितको तथ्याङ्क संकलन गरी एकिन गरिनेछ।साथै, लक्षित वर्गका कृषकहरूलाई तरकारी बीउ वितरण कार्यक्रम अन्तर्गत निःशुल्क सिडकिट उपलब्ध गराइनेछ।
65. खाद्यान्न वाली, तेलहन वाली र दलहन वाली जस्ता मुख्य बालीहरूमा आत्मनिर्भरता हासिल गर्न तथा निर्यात प्रवर्द्धन गर्न मूल बिउ तथा उन्नत जातका बिउमा कृषकहरूलाई दिइँदै आएको अनुदान कार्यक्रमलाई निरन्तरता दिइनेछ।साथै जैविक विविधता संरक्षण तथा परम्परागत कृषि ज्ञानको प्रवर्द्धनका लागि परम्परागत तथा रैथाने बाली प्रवर्द्धन कार्यक्रम संचालन गरिनेछ।
66. किसानहरूलाई खाद्यान्न वाली, तेलहन वाली ,दलहन वाली, मसला वाली, तरकारी वालीहरुको कम्पोजिट बिउ बितरण साथै कृषि बीउ बिजन उत्पादनमा संलग्न कृषक समूह तथा कृषि सहकारीहरूलाई मुल बीउ तथा उन्नत बीउ वितरणका लागि आवश्यक बीउको खरिद तथा ढुवानीमा दिइदै आएको अनुदानलाई निरन्तरता दिइनेछ।
67. कृषि उत्पादनमा वातावरणीय प्रभाव न्यूनीकरण गर्न रासायनिक विषादीको प्रयोग न्यून गर्दै, प्राङ्गारिक खेती प्रवर्द्धन, जैविक विविधताको संरक्षण तथा रैथाने बालीहरूको प्रवर्द्धनलाई प्राथमिकता दिइनेछ।
68. कृषिको उत्पादकत्व वृद्ध,, समय र श्रमको दक्ष उपयोग तथा आधुनिक प्रविधिको अभिवृद्धिका लागि साना तथा मध्यम कृषक तथा कृषि फर्महरुलाई लक्षित गर्दै कृषि यन्त्रहरुमा दिइदै आएको अनुदानलाई निरन्तरता दिइनेछ।साथै कृषि पेशामा संलग्न कृषक, कृषक समूह, कृषि फर्म तथा कृषि सहकारी संस्थालाई समयानुकुल प्रविधिसँग आबद्ध गर्दै क्षमता अभिवृद्धि गरिनेछ।
69. प्राङ्गारिक मलको उत्पादन र प्रयोगमा जोड दिइनेछ साथै रासायनिक मल वितरण प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाइनेछ।
70. घरपालुवा पशुपन्छीमा देखिने संक्रामक सरुवा रोग लम्पीस्किन, पिपिआर, भ्यागुते, चरचरे, खोरेत, स्वाईनफिवर विरुद्धको खोप निःशुल्क प्रदान गरी पूर्ण खोप तर्फ उन्मुख गरिनेछ।
71. “स्वस्थ पशु स्वच्छ उत्पादन” अन्तर्गत नियमित पशु उपचार, आकष्मिक पशु स्वास्थ्य शिविर र डोर टु डोर जस्ता किसानमुखी कार्यक्रमलाई निरन्तरता दिइनेछ।
72. पशुहरुको उत्पादन अनुसारको पोषणलाई ध्यानमा राखी पोषणयुक्त पशुआहारामा विशेष जोड दिइनेछ।नगरलाई पशु आहारामा आत्मनिर्भर बनाउन पोषिला घाँसेवाली प्रवर्द्धन/नर्सरी स्थापना हिउँदे घाँसको बिउ उत्पादन कार्यक्रम संचालन गरिनेछ।
73. परिवर्तित समय अनुसार प्रविधि विस्तार, जनचेतना अभिवृद्धि, व्यवसाय जोखिम न्युनीकरण, जुनोटिक रोग सचेतना तथा अभिमुखिकरण र मागमा आधारित व्यवसायिक तालिम कार्यक्रम संचालन गरिनेछ।
74. वैदेशिक रोजगारीबाट फर्किएका युवायुवती, गरिबीको परिचयपत्र प्राप्त परिवार तथा मुक्त कम्लहरी, शारिरिक अशक्त, एकल महिला परिवारलाई लक्षित गरी पशु व्यवसाय अभिवृद्धि कार्यक्रम संचालन गरिनेछ।साथै खेतिबालीमा अर्गानिक मलको प्रयोग बढाउन गाई/भैसीको भकारो सुधार कार्यक्रम संचालन गरिनेछ।
75. उपभोक्ताको स्वच्छ मासु उपभोग गर्ने अधिकारलाई सुनिश्चित गर्न विद्यमान मासु पसलहरुको नियमित अनुगमन गरी प्राविधिक सहयोग उपलब्ध गराइनेछ।
76. माछापालन व्यवसायलाई व्यवस्थित गर्न पोखरी निर्माण तथा भुरा वितरणका साथै माछा पालनका लागि नयाँ प्रविधिको विकास गरिनेछ।
77. उन्नत जातका वोका वितरण, कृत्रिम गर्भाधान तथा नश्ल सुधार कार्यक्रम मार्फत दुध तथा मासु उत्पादनमा बृद्धि गरिनेछ।
78. माहुरीपालन व्यवसायलाई प्रवर्द्धन गर्न आवश्यक तालिमको व्यवस्था गरिनेछ।
नगरसभा सदस्यज्यूहरु,
79. विद्यार्थी संख्यालाई मुख्य आधार मानी नमूना विद्यालयको पुनरावलोकन गरिनेछ।खानेपानी, शौचालय, फर्निचार लगायत अत्यावशयक पूर्वाधारहरुको क्रमशः व्यवस्थापन गर्दै नमूना सामुदायिक विद्यालयहरुलाई न्यूनतम पूर्वाधारयुक्त बनाउँदै लगिनेछ।
80. प्रारम्भिक बालशिक्षा कार्यक्रमको गुणस्तर वृद्धि गर्न आवश्यक शैक्षिक सामग्री, बालमैत्री कक्षाकोठा र सिकाइ पूर्वाधारको व्यवस्था गरिनेछ।
81. बाल विकास शिक्षकहरूको क्षमता अभिवृद्धि तालिम कार्यक्रमलाई निरन्तरता दिइनेछ।प्रारम्भिक बाल विकास केन्द्रहरूलाई समय सापेक्ष आधुनिक र बालमैत्री सिकाइ प्रणालीमा रूपान्तरण गरी उमेर अनुसारका गतिविधि संचालन गरिनेछ। विद्यालय उमेर समूहका सबै बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न प्रोत्साहनमुखी कार्यक्रमहरू संचालन गरिनेछ।
82. संघ सरकारको सहकार्यमा निःशुल्क पाठ्यपुस्तक वितरण, दिवा खाजा कार्यक्रम, किशोरी मैत्री स्यानेटरी प्याड वितरण र छात्रवृत्ती कार्यक्रम कार्यान्वयन गरिनेछ।
83. सामुदायिक विद्यालयहरूमा अंग्रेजी माध्यमबाट सिकाइ सहजीकरण गरिरहेको अभ्यासलाई प्रोत्साहन गरिनेछ।
84. माध्यमिक शिक्षाको पहुँच, गुणस्तर र उपयोगितामा अभिवृद्धि गर्न प्रोत्साहनमूलक कार्यक्रम संचालन गरिनेछ।संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिलाई वस्तुनिस्ठ र पारदर्शी बनाइनेछ।
85. संघ सरकारको सहकार्यमा सामुदायिक विद्यालयहरुमा संचालन हुदै आएको विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला, पुस्तकालय स्थापना र पढ्दै कमाउदै कार्यक्रमलाई विस्तार गर्दै लगिनेछ।प्राविधिक धारको शिक्षालाई व्यवस्थित गर्दै रोजगारमूलक सीपयुक्त तथा प्राविधिक जनशक्ति उत्पादनमा जोड दिइनेछ।
86. कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको रुचि र खुबी अनुसार उपयुक्त वृत्तिको पहिचान गर्न सक्ने बनाउन संचालनमा रहेको वृत्ति मार्ग निर्देशन कार्यक्रमलाई निरन्तरता दिइनेछ।विद्यार्थीहरुलाई शिक्षाको संसारबाट कामको संसारसँग परिचित गराउन माध्यमिक विद्यालयहरुमा School to Work Transition कार्यक्रम संचालन गरिनेछ।
87. आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायका व्यक्तिहरूलाई प्राथमिकता दिई स्वरोजगार बन्न इच्छुक बेरोजगार युवायुवतीहरूका लागि १० महिने कार्यगत अभ्याससहितको सीपमूलक तालिम कार्यक्रमलाई निरन्तरता दिइनेछ।
88. चिकित्साशास्त्र र इन्जिनियरिङ लगायतका उच्चस्तरीय शैक्षिक कार्यक्रमहरूमा छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइनेछ।
89. विद्यार्थीहरूमा सिर्जनशीलता, विश्लेषणात्मक सोच, आत्मविश्वास र सार्वजनिक अभिव्यक्तिको क्षमता विकास गर्ने उद्देश्यले विद्यालयस्तरीय बौद्धिक तथा सृजनात्मक प्रतियोगिताहरू संचालन गरिनेछ।
90. सामुदायिक विद्यालयको आर्थिक÷ प्रशासनिक कार्य संचालनलाई क्रमशः प्रविधिमैत्री बनाउँदै लगिनेछ।
91. थारु भाषाको कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक निर्माण गरी लागू गरिनेछ।
92. मगर भाषाको पाठ्यपुस्तक निर्माण गरी मातृभाषामा पढाई संचालन गरिनेछ।
93. कक्षा १ देखि १० सम्म परिवर्तन भएको पाठ्यक्रम र मूल्यांकन प्रणाली कार्यान्वयनका लागि पाठ्यक्रम विकास केन्द्रको तालिम प्याकेज अनुसार अल्पकालीन तालिम संचालन गरिनेछ।
94. विद्यार्थी संख्याको आधारमा बाल विकास केन्द्र, प्रा.वि, नि.मा.वि तथा मा.वि. तहमा कार्यरत शिक्षकहरुको विषयगत एवं शिक्षक विद्यार्थी अनुपातमा दरबन्दी मिलान गरिनेछ।साथै विद्यार्थी संख्या कम भएका विद्यालयहरुमा बहु कक्षा शिक्षण संचालनको व्यवस्था मिलाइनेछ।
95. अपाङगता भएका बालबालिकाहरुलाई विषेश प्रोत्साहन सहित भर्ना गरिनेछ।फरक क्षमता भएका विद्यार्थीहरुको सिकाइलाई निरन्तरता दिइनेछ।विद्यालय उमेर समुहका वालबालिकाहरुलाई विद्यालय बाहिर नरहने बातावरण मिलाइनेछ र बालमन्दिर आधारभूत विद्यालयलाई अपाङमैत्री विशेष विद्यालयका रुपमा सचालन गरिनेछ।
96. सम्पूर्ण सामुदायिक विद्यालयका प्र.अ.हरुलाई विद्यालय सुधार योजना सम्बन्धी तालिम दिइनेछ। विद्यालयहरुको तथ्याङ् व्यवस्थापनको लागि इमिस सम्बन्धी क्षमता विकास तालिम, लेखा अनुशासन ,वित्तीय सुशासन, जिन्सी र खरिद कार्य व्ययवस्थापनका लागि संस्थागत क्षमता विकास कार्यक्रम संचालन गरिनेछ।
97. पुर्व प्राथमिक शिक्षक, कर्मचारी, विद्यालय सहयोगी र आयाको तलव भत्ता न्यूनतम पारिश्रमिक बराबर हुने गरी आवश्यक व्यवस्था मिलाइनेछ।
98. माध्यमिक तथा निम्न माध्यमिक तहमा विषयगत शिक्षकको अभाव भएका सामुदायिक विद्यालयहरुमा स्वयंसेवक शिक्षक व्यवस्थापन गरिनेछ।सिकाइ उपलब्धि वमोजिम विद्यालयहरुलाई अनुदान दिइनेछ।
99. हाल दिइदै आएको प्र.अ. भत्तामा प्रोत्साहन स्वरुप थप गरिनेछ।
100. शैक्षिक गुणस्तर जाँच गर्न कक्षा ५ र कक्षा ८ को परीक्षा प्रणालि नगरस्तरीय रुपमा संचालन गरिनेछ।
101. अस्थायी, करार शिक्षक नियुक्तीको लागि शिक्षक बैंक तयार गरिनेछ।
102. नगरस्तरीय खेलकुद कार्यक्रमहरूलाई प्रभावकारी र समन्वित ढंगले कार्यान्वयन गर्न नगर खेलकुद समितिको क्षमता अभिवृद्धि गरिनेछ।राष्ट्रिय युवा परिषद्बाट निर्दिष्ट नीति तथा कार्यक्रमहरूलाई स्थानीय आवश्यकता, प्राथमिकता र साधन-स्रोत अनुरूप परिमार्जन गरी युवामैत्री कार्यक्रमहरू संचालन गरिनेछ।
103. खेलकुदको विकासका लागि खेलका माध्यमबाट घोराहीको पहिचान बनाउन र खेलाडीहरुको विकास गर्न मेयर कप फुटबल प्रतियोगिता, उपमेयरकप छात्रा भलिवल कप प्रतियोगिता, घोराही कप प्रतियोगिता र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लगायतका विभिन्न विधाका खेलहरुलाई प्राथमिकता दिई क्रमशः संचालन गरिनेछ।
104. राष्ट्रिय मान्यता प्राप्त खेलहरूका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण र सुदृढीकरणमा विशेष प्राथमिकता दिइनेछ।घोराही वडा नं. १८ स्थित नवलपुर खेलमैदानलाई “मिनि रंगशाला”को रूपमा विकास गरिनेछ।सोही वडामा रहेको सालघारी बास्केटबल मैदानलाई व्यवस्थित बनाइनेछ।घोराही–१७ स्थित गुलरिया क्रिकेट मैदान तथा घोराही–१४ स्थित कर्भड हल परिसर मा कराते, तेक्वान्दो, बक्सिङलगायत इनडोर खेलहरूको क्रमशः पूर्वाधार विस्तार गरिनेछ।
105. वडा नं. १६ को नेत्रलाल स्मृती रङ्गशाला स्थापना गर्न प्रदेश सरकारसँग समन्वय गरी निर्माण कार्य अगाडी बढाइनेछ।
नगरसभा सदस्यज्यूहरु,
106. नेपालको संविधानले परिकल्पना गरेको निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई गुणस्तरीय, प्रभावकारी र नागरिक मैत्री बनाउनका लागि नियमित औषधी तथा उपकरणको आपुर्ती व्यवस्थित गरिनेछ।
107. प्रजनन् रुग्णता कार्यक्रम अन्तरगत उपप्रमुख महिला प्रजनन् स्वास्थ्य प्रवर्धन कार्यक्रम संचालन गरी नगरवासी महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धी सचेतना परामर्श साथै पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर परीक्षण तथा पाठेघर खस्ने र अन्य प्रजनन् स्वास्थ्य समस्याको स्क्रिनिङ लगायतका सेवाहरु संचालन गरिनेछ।
108. नगरवासीको आपतकालीन स्वास्थ्य सेवामा सहज पहुँचका लागि असहाय‚ बिपन्न, क वर्गका अपाङ्गता भएका तथा प्रसुतीजन्य सेवाको लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाइनेछ।
109. घोराही उपमहानगरपालिकामा स्थायी बसोवास गर्ने नागरिकहरुलाई आवश्यक पर्ने रगत नेपाल रेडक्रस सोसाईटीको समन्वयमा नगर प्रमुख रक्त संचार सेवा कार्यक्रमबाट नि:शुल्क उपलब्ध गराइनेछ।
110. पूर्ण संस्थागत प्रसुती सेवा युक्त वडा हुदै क्रमशः पूर्ण संस्थागत प्रसुती सेवा युक्त नगर घोषणा गर्ने गरी कार्यक्रम अगाडी बढाइनेछ।
111. प्रजनन् स्वास्थ्यका सबै कम्पोनेन्टहरुमा प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गरिनेछ ।खोप सेवालाई सबैको पहुंचमा हुने गरी कार्यक्रमहरु गरिनेछ।
112. राप्ती आँखा अस्पताल रक्षाचौरको सहकार्यमा मोतियाबिन्दुको निःशुल्क अपरेशन गर्ने व्यवस्थालाई निरन्तरता दिइनेछ।
113. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संचालित आँखा उपचारलाई प्रभावकारी र गुणस्तीय सेवा उपलब्ध गराउन आवश्यक यन्त्र उपकरणको व्यवस्था मिलाइनेछ।
114. “स्वस्थ नागरिक” कार्यक्रम संचालन गरी नगरभित्रका नागरिकहरुलाई नसर्ने रोगबाट बच्नका लागि सचेतना, परामर्श सेवा लगायत कार्यक्रम संचालन गरिनेछ।
115. आयुर्वेदिक चिकित्सा प्रणालीको प्रवर्द्धन गरिनेछ।जन चेतनामुलक कार्यक्रम मार्फत तनाव व्यवस्थापन, स्वस्थ जीवनशैली अपनाउन आहार, विहार, विचार र व्यवहार परिवर्तन गर्न प्रोत्साहन गरिनेछ।
116. नागरिक स्वास्थ्यलाई ध्यानमा राखी, दैनिक नियमित योग शिविर संचालन तथा खुला व्यायामशाला जस्ता आवश्यक पूर्वाधारहरु निर्माण गरिनेछ।
117. ज्येष्ठ नागरिक आयुर्वेद स्वास्थ्य प्रवर्द्धन कार्यक्रमलाई विस्तार गरिनेछ।साथै स्तनपान गराउने आमालाई मातृशिशु सुरक्षार्थ कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
118. महामारी रोग तथा विपद व्यवस्थापनको पुर्व तयारी तथा प्रतिकार्य टिम (RRT) लाई थप शसक्त बनाइनेछ।
119. प्रदेश तथा गैर सरकारी संघ संस्थाको सहकार्य तथा समन्वयमा सिकलसेल एनिमिया रोग समय मै पत्ता लगाई जिन शुद्धिकरणको लागि नियमित रुपमा रक्त समूह जाँच तथा विवाह कुण्डली सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गरिनेछ।
120. महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई दिइएको नि:शुल्क स्वास्थ्य बिमालाई निरन्तरता दिइनेछ र यौन हिंसामा परेका, द्धन्द पिडित परिवारहरुलाई नि:शुल्क स्वास्थ्य बिमाको व्यवस्था मिलाइनेछ।स्वास्थ्य आमा समूहलाई थप प्रभावकारी गराइनेछ।
121. खास किसिमका रोगको जटिलता तथा बिपन्नताको आधारमा गुणस्तरीय तथा नि:शुल्क सेवाको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानसंग सहकार्य गरिनेछ।
122. एच.आई.भि. संक्रमित व्यक्ति, यौनिक तथा लैगिंक अल्पसंख्यक व्यक्ति, तेश्रो लिङ्गीका परिवार तथा समुहलाई सहयोग‚ हेरचाह‚ उपचार‚ क्षमता वृद्धि कार्यक्रम संचालन गरिनेछ।
123. सुत्केरी अवस्थामा आमा तथा नवजात शिशुको घरमै गई स्वास्थ्य अवस्था परिक्षण गरि जटिलताहरु समयमै पहिचान गरी उपचार, व्यवस्थापन तथा प्रेषण गर्नको लागि PNC Visit प्रोत्साहन कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरिनेछ।
124. बिपन्न नागरिकहरुलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने नीति बमोजिम असहाय, अशक्त र आर्थिक रुपले विपन्न वर्गलाई मुटु, मृगौला प्रत्यारोपण, क्यान्सर, कलेजो लगायत रोगको उपचारमा आर्थिक सहायता प्रदान गरिनेछ।साथै तोकिएको अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ।
125. मानसिक स्वास्थ्य जाँच एवं उपचारका लागि विभिन्न संघसंस्थासंग सहकार्य गरी आवश्यक व्यवस्था गरिनेछ।
126. समुदाय स्तरमा देखिने क्षयरोग तथा कुष्ठ रोगहरुको सचेतना तथा स्क्रिनिङ गरिनेछ।
127. सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको सहकार्यमा ५ वर्ष मुनिका बालबालिकाहरुको पोषण स्थितिको लेखाजोखा सचेतना परामर्श तथा उपचार गर्ने कार्यक्रम संचालन गरिनेछ। नगरसभा सदस्यज्यूहरु,
128. सामाजिक समावेशीकरणको दृष्टिले पिछडिएका महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम समुदाय, पिछडा वर्ग, सीमान्तकृत, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न नागरिकको संरक्षण, सशक्तीकरण र आर्थिक उत्थानका कार्यक्रम संचालन गरिनेछ।
129. आर्थिक तथा सामाजिक रुपमा पछाडी परेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसंख्यक, सीमान्तकृत समुदायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने व्यवस्थाका साथै विभिन्न समुदाय बीच सामाजिक सद्भाव र सौहार्दता कायम गर्ने, बालविवाह, बहुविवाह, लैङ्गिक हिंसा, छुवाछुत, दहेज तथा दाइजो, बालश्रम, मानव बेचबिखन जस्ता सामाजिक अपराध, कुरीति र अन्धविश्वासको अन्त्य गर्न गराउन र महिला तथा पिछडिएको एवं लक्षित वर्गको सहभागिता वढाउन‚ योजना छनौटमा महिला, बालबालिका तथा पिछडिएका वर्ग, क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने कार्यकममा जोड दिन “लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको” नीतिलार्इ अबलम्वन गरिनेछ।
130. नगरभित्र लैंगिक हिंसा प्रभावित व्यक्तिका लागि समुदायमा आधारित संरक्षण कार्यक्रम र अल्पकालिन आश्रयगृह (सेवाकेन्द्र)हरुलाई संचालन अनुदान प्रदान गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
131. दलित, मुस्लिम, पिछडा वर्ग आदिवासी/जनजाती समुदायमा अत्यधिक प्रचलनमा रहेको बालविवाह न्यूनिकरण गर्न “बिहेवारी बीस वर्ष पारी” भन्ने अभियानलाई निरन्तरता दिइनेछ।
132. बालमैत्रीका सूचकहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न वडा तथा विभिन्न महाशाखा/शाखाहरुसँग समन्वयात्मक ढंगबाट कार्यक्रम संचालन गरिनेछ।
133. सन् २०२६ सम्म घोराही उपमहानगरपालिकालाई लैंगिक हिंसा नियन्त्रित उपमहानगरपालिका घोषणा गर्न लैंगिक हिंसा नियन्त्रणका लागि सूचक बमोजिम निरोधात्मक‚प्रवर्द्धनात्मक एवं संरक्षणात्मक कार्यक्रमहरु संचालन गरिनेछ।
134. स्थानीयस्तरमा रहेका सबै साझेदार संस्थाहरुलाई लैगिक हिंसा नियन्त्रण सम्बन्धी अभिमुखीकरण गरी यस पद्धतिको अवलम्वन गर्न सामूहिक प्रयास गरिनेछ।
135. प्रत्येक वडामा गठन भएका युवा क्लवहरुको क्षमता विकासमा जोड दिइनेछ।स्थानीय स्तरमा रहेको टोल विकास संस्था अन्तर्गत महिला सहकारी संस्था, बालक्लव, बालसंजाल, किशोर किशोरी समूह संजाल, युवा समूह, युवासंजाल, दलित संजाल, एकल तथा लैंगिक हिंसा प्रभावित महिला समूह तथा फरक क्षमता भएका व्यक्तिको क्षमता विकास, संस्थागत, संरचनागत विकासको नीति अबलम्वन गरिनेछ।
136. वडा तहमा गठन गरिएका जेष्ठ नागरिक दिवा सेवा केन्द्रहरुको परिचालन तथा व्यवस्थापन सम्बन्धी प्रवर्द्धन कार्यक्रम संचालन गरिनेछ।
137. टोल विकास संस्थाहरुलार्इ थप जिम्मेवारी र जवाफदेही बनाउन टोल विकास संस्थाका सदस्यहरुको क्षमता विकास तथा संस्थागत विकासका कार्यक्रमहरु संचालन गरिनेछ ।
138. अनाथ, जोखिममा रहेका तथा सडक बालबालिकाहरुको पुनःस्थापनाका लागि विशेष संरक्षणको नीति अवलम्बन गरिनेछ।अपांगता भएका व्यक्तिहरु तथा बहिराहरुको लागि अपांगताको प्रकृती अनुसार क्षमता विकासको लागि विशेष कार्यक्रम संचालन गरिनेछ।
139. घोराही उपमहानगरपालिकाको मौजुदा बालगृह आपतकालीन आश्रयगृह संचालनका लगि न्यूनतम मापदण्डलाई समयानुकुल सुधार गरी प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ।
140. गैर सरकारी संस्थाबाट संचालन हुने कार्यक्रमहरु अनिवार्य रुपमा नगर सभामा पेश गर्नु पर्ने नीतिलाई निरन्तरता दिँदै‚ गैर सरकारी संस्थाबाट संचालन हुने कार्यक्रमहरुलाई दुर्गम बस्ती एंव पिछडिएका क्षेत्रहरुमा संचालन गर्न प्रोत्साहित गरिनेछ।
141. वेवारिसे सडक मानवमुक्त नगर कार्यक्रमलाई प्रभावकारी बनाउन मानव कल्याण समाज सेवा घरलाई दिइदै आइएको अनुदानलार्इ निरन्तरता दिइनेछ।
142. महिला, दलित, आदिवासी, मुस्लिम लोपोन्मुख एवं अल्पसंख्यक जातजाति तथा पिछडिएको वर्गका लागि क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम संचालन गरी स्वरोजगार बन्ने तर्फ प्रेरित गर्न महिलाहरुका लागि सिप विकास तालिम, वीउ पूँजि वितरण कार्यक्रम, लैङ्गिक हिंसा बिरुद्ध क्षमता विकास तालिम, बेवारिसे मानव व्यवस्थापन, मुक्त कमलरी कार्यक्रम जस्ता कार्यक्रमहरु संचालन गरिनेछ।
143. टोल विकास संस्थाहरुका महिला सदस्यहरुका लागि प्रजनन् स्वास्थ्य सम्बन्धी तालिम, सडक तथा जोखिममा रहेका बालबालिकाहरुको उद्धार तथा पुनर्स्थापना केन्द्रमा पुनर्स्थापना, अपाङ्गता भएका ब्यक्तिहरुलाई सहायक सामग्री वितरण, अपाङ्ग परिचयपत्र वितरण कार्यक्रम, जेष्ठ नागरिक परिचय पत्र बितरण कार्यक्रम लगायत महत्त्वपूर्ण कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ।
144. सामाजिक विभेदको न्यूनीकरण गर्न छुवाछुत, सामाजिक कुरीति, अन्धविश्वास, लैङ्गिक विभेद र हिंसाका घटनाहरु न्यूनीकरणका लागि टोल विकास संस्था मार्फत सामाजिक परिचालन कार्यक्रम संचालन गरिनेछ।समानुपातिक सहभागिता अभिवृद्धिका लागि स्थानीय तहमा गठन हुने समिति, उप-समिति, कार्यदल गठन गर्दा समानुपातिक समावेशिता कायम गरिनेछ।
145. सडक बालबालिका पुनर्स्थापना केन्द्र, वालगृह, जेष्ठ नागरिक दिवा सेवाकेन्द्र, अशक्त वेवारिसे मानवका लागि मानव सेवा आश्रय तथा सेवा घर, हिंसा प्रभावितका लागि महिला सेवा केन्द्र, वृद्धाश्रम, अपांगता भएका व्यक्तिका लागि पुनर्स्थापना केन्द्र जस्ता संरक्षणमा आधारित केन्द्रहरु निरन्तरताका साथै उच्च प्रथामिकताका साथ नियमित संचालन गरिनेछ।
146. विभिन्न संघ संस्था, सञ्चारकर्मी, टोलविकास संस्थालाई परिचालन गरी वालश्रम, बालविवाह, वहुविवाह, दाइजो/दहेज, लगायत घरेलु हिंसा तथा लैगिक हिंसा अन्त्यका लागि सबै वडाका टोल-टोलमा लैगिक तथा घरेलु हिंसा बहस, पैरवी तथा टोल विकास संस्थाका सदस्यहरुको क्षमता अभिवृद्धिका लागि तालिम गोष्ठी, अभिमुखीकरण, चेतनामूलक कार्यक्रम र सचेतनामुखि होर्डिङ बोर्ड, भित्ते लेखन, प्रचार-प्रसार जस्ता अभियान सम्बन्धी कार्यक्रम संचालन गरिनेछ।
147. वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गर्दा लैङ्गिक उत्तरदायी बजेट तर्जुमा गरिनुका साथै लैङ्गिक उत्तरदायी बजेट परीक्षण कार्यक्रमहरू संचालन गरिनेछ। नगरसभा सदस्यज्यूहरु
148. खानेपानी, सरसफाइ तथा स्वच्छता सेवामा जलवायु परिवर्तन तथा विपद जोखिम व्यवस्थापनको विषयलाई समाहित गरी सेवा उत्थानशिलता कायम गर्दै क्षेत्रगत क्षमताको सबलीकरण गरिनेछ।
149. नदी, नाला, जलाशय, जलाधार तथा ताल तलैयाहरूलाई उपयोगका आधारमा प्रदूषणमुक्त तथा सामान्य प्राकृतिक स्वरूपमा स्वच्छ कायम राख्न सरोकारवाला सबैको सहभागितामा योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ।
150. एकीकृत भलपानी, ढल, मानव मलमूत्रजन्य फोहर तथा ठोस फोहरको व्यवस्थापनका लागि दिर्घकालीन गुरुयोजना बनाई लागू गरिनेछ।
151. शून्य वा न्यूनतम फोहरमैला वा फोहरपानी उत्सर्जन गर्ने उद्योगहरूलाई प्रोत्साहन गरिनेछ।
152. निजी क्षेत्रको सहभागितामा सञ्चालन हुने मानव मलमूत्रजन्य फोहर, ठोस फोहर पदार्थ र फोहरपानीबाट ग्यास, ऊर्जा, मल र अन्य लाभकारी वस्तुहरूको उत्पादन गर्ने कार्यलाई प्रोत्साहन गरिनेछ।
153. पूर्ण रुपमा फोहर वर्गीकृत टोल घोषणा गर्ने टोल विकास संस्थालाई प्रोत्साहित गरिनेछ।
154. घोराही उप-महानगरपालिका ल्यान्डफिल साइट क्षेत्र वरपरका प्रभावित व्यक्तिहरुलाई आयआर्जन तथा सीपमुलक तालिमको व्यवस्था गरिनेछ।
155. नगर क्षेत्रका सबै बासिन्दालाई शुद्ध पानीको पहुंच पुर्याउन वास प्लान निर्माण भएकोमा आगामी आर्थिक बर्षमा उक्त वास प्लानमा थप आयोजना तथा कार्यक्रम समावेश गरिनेछ।
156. बजारका मुख्य मुख्य चोक, सडक, गल्लीहरुको धुलोजन्य फोहर व्यवस्थापन, हरियाली तथा सौन्दरीकरण गर्न आवश्यक व्यवस्था गरिनेछ। नगरसभा सदस्यज्यूहरु
157. विपद् प्रभावीत क्षेत्रहरुको पहिचान गरी जोखिम आँकलन तथा नक्शाङ्कन गरीनेछ।नगर वडा समपुरक कार्यक्रम अनतर्गत खरको (फुसको) छाना मुक्त कार्यक्रमलाई निरन्तरता दिँदै खरका छाना मुक्त वडा हुदै क्रमश: खरका छाना मुक्त नगर घोषणा गरिनेछ।
158. विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यमा सहयोग पुर्याउन उप-महानगरपालिकामा स्थापित आपतकालीन कार्य संचालन केन्द्रलाई सुदृढीकरण गरिनेछ।
159. विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि खुल्ला क्षेत्रको पहिचान, विकास र व्यवस्थापन गर्नुका साथै संकट उन्मुख क्षेत्रमा पहुँचयुक्त एवं सुरक्षित आश्रय स्थलहरु सुनिश्चित गरिनेछ।
160. घोराही उप-महानगरपालिका, सरकारी तथा गैरसरकारी संस्थाहरुसंग समन्वय गर्दै विपद् सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु मार्फत समुदाय स्तरसम्म विपद् सम्बन्धी जनचेतना अभिवृद्धि गरिनेछ।
161. विपद् प्रतिकार्य योजना बनाउन, विपद् सामाग्रीहरु चुस्त दुरुस्त राख्न साथै आपतकालीन सिकाइ अभ्यास अभिवृद्धि गर्न बिपद् व्यवस्थापन तथा खोज उद्धार सम्बन्धी नमुना अभ्यास कार्यक्रमहरु संचालन गरिनेछ।
162. स्वच्छ, हराभरा र प्रदुषणमुक्त पालिका अभियानका लागि जलवायु परिवर्तन न्यूनिकरण तथा अनुकुलनका कार्यक्रमहरु संचालन गरिनेछ ।
163. घोराही उपमहानगरपालिका क्षेत्र भित्र बसोबास गर्ने अति विपन्न वर्गहरुलाई लक्षित गर्दै विद्युतीय चुलो, तह तिन को सुधारिएको चुलो र घरायसी बायोग्यासलाई बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँग सहकार्य गरी विषेश रुपमा सहुलियत दिइनेछ।
164. वनको संरक्षण गरि वन क्षेत्र बिस्तार गर्न समृद्धिका लागि वन परियोजना कार्यक्रम अन्तर्गत सार्वजनिक वन र निजि वन दर्ता प्रक्रियालाई लक्ष्य अनुसार शत प्रतिशत कायम गरिनेछ।
165. प्रत्येक सामुदायिक विद्यालयलाई वातावरण/पर्यावरण मैत्री बनाउनका लागि हरित विद्यालयको रुपमा विकास गर्ने गरी बृक्षारोपण गर्न सम्वन्धित विद्यालयलाई प्रोत्साहन गरिनेछ।
166. वडा हुदै घोराही उपमहानगरपालिकलाई वातावरणमैत्री नगर घोषणा गर्न आवश्यक सूचक तयार गरिनेछ। नगरसभा सदस्य ज्यूहरु
167. घोराही उपमहानगरपालिकालाई “व्यक्तिगत घटना दर्ता पूर्णता घोषणा” गर्न सरोकारवाला सबैको सहभागिता तथा सहकार्यमा व्यक्तिगत घटना दर्ता अभियान संचालन गरिनेछ।सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि परिचयपत्र दर्ता नविकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन गरिनेछ।
168. सहकारी ऐन, नियम, नीतिहरू, विधि र नवीनतम अभ्यासका आधारमा सहकारी संस्थाहरूको सुशासन, पारदर्शिता र दिगोपन सुनिश्चित गर्न पर्ल्स अनुगमन प्रणाली र सदस्य केन्द्रीयता सूचकाङ्कका सूचकहरूमा आधारित अनुगमन प्रणाली विकास गरी सबै सहकारी संस्थाहरूमा नियमित अनुगमन तथा सुधारात्मक कार्यक्रमहरू संचालन गरिनेछ।
169. सहकारी संस्थाहरुको क्षमता विकासका लागि आवश्यक तालिम व्यवस्थालाई निरन्तरता दिदै यसका सिद्धान्त‚ मुल्य‚ मान्यता‚ आदर्श र उद्देश्यलाई सूचना प्रविधिका माध्यमबाट जनस्तरसम्म पुर्याइनेछ।
170. सहकारीमा सुशासन वयवस्था, प्रविधि र तथ्यांङको आवश्यकतालाई व्यवहारत बनाउन सहकारी तथा गरिबी सम्बन्धी ब्यवस्थापन सूचना प्रणालीमा सबै सहकारीलाई आबद्ध गरी सहकारीको व्यवस्थापनलाई ब्यवस्थित गरिनेछ।
171. सहकारी क्षेत्रको सुदृढीकरण र गुणात्मक सुधारका लागि समान प्रकृतिका सहकारी संस्थाहरुबीच एकीकरणलाई प्रोत्साहन गरिनेछ,। नगरसभा सदस्य ज्यूहरु,
172. पर्यटन तथा संस्कृति प्रवर्धनका लागि कला, साहित्य, संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका साथै अध्ययन अनुसन्धान कार्यमा जोड दिइनेछ।परम्परागत, लोपोन्मुख सीप, कलाको संरक्षण तथा प्रवर्द्धन गर्दै त्यसलाइ रोजगारी र आय आर्जनसँग जोडिनेछ।
173. मुख्य मुख्य धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको विकास, प्रवर्द्धन र संरक्षणमा जोड दिइनेछ।पर्यटकीय सम्पदाको प्रचार प्रसार गर्न डिजिटल प्रविधिको प्रयोगमा जोड दिइनेछ ।
174. पर्यटन विकासका लागि सम्वद्ध सरोकारवाला तथा विज्ञहरुको सहभागितामा रणनीतिक योजना निर्माण गरिनेछ।
175. स्थानीय खाना परिकारलाई प्रवर्द्धन गर्न फुड फेस्टिबल कार्यक्रम संचालन गरिनेछ।
176. स्थानीय स्रोत साधनको अधिकतम उपयोग तथा रोजगारी सृजनाको माध्यमबाट उद्यमशीलता प्रवर्द्धन गर्न बेरोजगार युवायुवतीहरुलाई प्राथमिकतामा राखी मागमा आधारित सीपमूलक, आयमूलक, उत्पादनशील र स्वरोजगारमूलक तालिम तथा सचेतनामूलक कार्यक्रमहरू संचालन गरिनेछ।
177. गरिब परिचय पत्र प्राप्त घरधुरी परिवारका सदस्यहरू, बेरोजगार युवायुवती तथा लघु उद्यममा संलग्न वर्गलाई लक्षित गरी “’सीप सिकौं, उद्यमी बनौं’ भन्ने मूल नाराका साथ अर्गानिक कृषि प्रवर्द्धन , गुणस्तरीय उत्पादन र उपभोग्य वस्तुको व्यवसायिक सचेतना अभिवृद्धि गरिनेछ।
178. एक वडा एक उत्पादन, एक घर एक उद्यमलाई व्यवहारिक कार्यान्वयन गर्दै स्थानीय उत्पादनको प्याकेजिङ, ब्रान्डिङ तथा बजारिकरणमा संलग्न उद्यमीहरुको क्षमता अभिवृद्धि तथा नव–उद्यम प्रवर्द्धनमा जोड दिइनेछ।
नगरसभा सदस्यज्यूहरु,
179. आम नगरवासीहरुले दैनिक आवश्यक उपभोग्य वस्तु तथा खाद्यान्न जस्तै: दुध, तेल, फलफूल, मासु, तरकारी जस्ता पदार्थहरुको गुणस्तर जाँच गर्न आवश्यक यन्त्र उपकरणको व्यवस्था गरिनेछ साथै स्थानिय रुपमा परीक्षण गर्न नसकिने वस्तुहरुको परीक्षणका लागि प्रदेश तथा संघीय प्रयोगशालामा पठाइनेछ।
180. गुणस्तरीय वस्तु तथा सेवाको माग-आपूर्ति, समान मूल्यको सन्तुलन, परिमाण, गुणस्तर आदि पक्षमा बजार अनुगमन कार्यलाई निरन्तरता दिंदै कालोबजारी कृत्रिम अभाव, मिसावट र सिण्डिकेट जस्ता विविध समस्याहरु निराकरण गर्न उपभोक्ता हितसँग सम्बद्ध संघसंस्था र अन्य सरोकारवाला समेतको संलग्नतामा बजार अनुगमनलाई थप प्रभावकारी बनाइनेछ।
181. उपभोक्ता हित संरक्षण गर्न स्थानीय अनुगमन समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धि गरी उपभोक्ताको हकहित सम्बन्धी ऐन कानून र अन्तर्राष्ट्रिय पद्धतिका विषयमा तालीम, प्रशिक्षण दिई सक्रिय बनाइनेछ।
182. “उपभोक्ता हित संरक्षण, व्यवसायीको उचित सुरक्षण” को नारालाई सार्थक बनाउन सरोकारवाला विभन्न व्यावसायिक संघ / संस्थाहरुसंग सहकार्य गर्दै समग्र उपभोक्ता तथा व्यावसायिक अधिकारको समुचित संरक्षण तथा व्यवस्थापनमा ध्यान दिइनेछ ।
183. उपभोक्ता अधिकारको जानकारी सहित सुनिश्चितताका लागि उपभोक्ता हितसँग सम्बन्धित विषयहरुलाई सार्वजनिक सूचनाका माध्यमबाट प्रचार प्रसार गर्ने तथा सरोकारवाला संघसंस्थाहरुसंग समन्वय गरी विभिन्न तहमा उपभोक्ता हित सम्वन्धी सचेतनामूलक कार्यक्रमहरु संचालन गरिनेछ।
184. “उपभोक्ताको अधिकार, कर्तव्य तथा खाद्य सुरक्षा सम्बन्धी चेतनामूलक पर्चा, पम्पलेट तथा डिजिटल सामग्री (भिडियो, इन्फोग्राफिक्स, सन्देश आदि) निर्माण गरी आम उपभोक्ताहरुलाई नियमित सुसूचित गरिनेछ ।
185. सडक दुर्घटनाको न्यूनिकरण तथा आम नागरिक र सवारी साधनको सहज आवागमनका लागि वडा तथा नगर स्तरीय ट्राफिक नियम तथा सडक दुर्घटना सम्वन्धि सचेतिकरण कार्यक्रम सञ्चालन गरिने छ ।
186. खाद्य पदार्थहरुमा स्वच्छता कायम गर्न खाद्य विज्ञहरुसहितको उपस्थितिमा नगरका विभिन्न खाद्य उत्पादक व्यवसायीहरुलाई अभिमुखिकरण गरिने छ । नगरसभा सदस्यज्यूहरु,
187. स्थानीय तहले साना सवारी साधनको सवारी कर संकलन गर्न सक्ने कानूनी व्यवस्थालाई आत्मसाथ गर्दै घोराही उपमहानगरपालिका भित्र संचालनमा रहेका टाँगा, रिक्सा, अटो लगायत सबै तीन पाङ्ग्रे सवारी साधनहरुलाई सवारी करको दायरामा ल्याइनेछ ।
188. राजस्व सम्बन्धी ऐनको तर्जुमा गरी व्यवसाय कर र घर बहाल करलाई थप व्यवस्थित गरिनेछ।करलाई प्रत्यक्ष सेवासँग जोडि राजस्व चुहावटलाई नियन्त्रण गरिनेछ ।
189. हालसम्म पनि व्यवसाय करको दायरामा नआएका व्यवसायहरुको दर्ता प्रक्रियालाई सहज बनाइ सबै व्यवसायहरुलाई करको दायरामा ल्याउन आ.ब. २०८२।८३ लाई “घोराहीमा कानूनी व्यापार, दर्ता गर्न सबै तयार” अभियान बर्षको रुपमा मनाइने छ।
190. गैरकरलाई थप परिमार्जित र बैज्ञानिक बनाउँदै सेवा बिनियमको आधारमा शूल्क लिने सिद्धान्तलाई आत्मसाथ गरिनेछ । व्यवसाय करको दरलाई व्यवसायको प्रकृति, पूँजिगत लगानी र आर्थिक कारोबारका आधारमा थप परिमार्जित गरिनेछ ।
191. वडाहरुलाई राजस्व संकलनमा प्रोत्साहित गर्न वडाको बृद्धि भएको राजस्वको १०% प्रोत्साहन स्वरुप बजेटमा थप गरि उपलब्ध गराइनेछ ।
192. आ.व. २०८२/८३ मा नयाँ राजस्व सुधार कार्ययोजना निर्माण गरिनेछ ।
193. घर जग्गा बहालमा लगाउनेहरुको तथ्याङ्क राजस्व गस्ति मार्फत संकलन गरी सबै घरजग्गा धनिहरुलाई बहाल करको दायरामा ल्याइनेछ साथै बहाल करलाई आन्तरिक राजस्वको मेरुदण्डको रुपमा समेत विकसित गरिनेछ।
194. राजस्व व्यवस्थापनमा काम गर्ने कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न क्षमता अभिबृद्धिका कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ ।
195. आर्थिक वर्षको असोज मसान्तभित्र कर बुझाउने करदातालाई सम्पत्ती कर, भुमी कर व्यवसाय कर तथा बहाल करमा आर्थिक ऐन बमोजिम छुटको व्यवस्था गरिनेछ । नगरसभा सदस्य ज्यूहरु,
196. न्यायिक समितिबाट सम्पादन हुने कार्यलाई चुस्त दुरुष्त बनाई पारदर्शी गराइनेछ।न्यायिक समितिको कामलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिदै आएको सरोकारवाला पक्षसंग अन्तरक्रिया र नागरिक साक्षरता कार्यक्रमलाई निरन्तरता दि[इनेछ ।
197. विपन्न, अशक्त, पहुच र अवसरबाट बञ्चित भएका वर्गहरुलाई न्यायमा पहुँच पुर्याउने उद्देश्यले न्यायिक घुम्ति शिविर कार्यक्रम संचालन गरिनेछ।
198. उपमहानगरपालिकामा सूचीकृत मेलमिलापकर्ताहरुको कार्यदक्षता थप प्रभावकारी बनाउन मेलमिलापकर्तालाई क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनेछ। नगरसभा सदस्यज्यूहरु,
199. उपमहानगरपालिकाबाट सम्पादन भएका कार्यहरुलाई पारदर्शी बनाउन नियमित रुपमा त्रैमासिक तथा वार्षिक प्रगति समिक्षा र सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरिनेछ।नागरिकको सूचनाको हकलाई प्रवर्द्धन गर्न नियमित स्वत: प्रकाशन तथा विभिन्न सूचना, प्रतिवेदन, अभिलेख दस्तावेज लगायत सूचनामुलक महत्वपूर्ण जानकारीहरु वेवसाइट मार्फत सार्वजनिक गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
200. National Data Profile मा तथ्यांक अद्यावधिक, जि.आई.एस.मा आधारित स्रोत नक्सा निर्माण लगायतका तथ्यांक व्यवस्थापन सम्बन्धी कार्यलाई तदारुकताका साथ अगाडी बढाइनेछ।
201. उपमहानगरपालिकाबाट प्रवाह हुने सेवामा सूचना प्रविधिको अधिकतम र नविनतम प्रयोग गरी सेवाहरुको प्रक्रियालाई सहज बनाइनेछ।सेवाग्राहीहरुलाई थप सुविधाको लागि विभिन्न सूचना प्रविधि प्रणाली, मोबाइल एप्लिकेशनहरु स्थापना गरी प्रयोगमा ल्याइनेछ।
202. सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी, द्रुत, पारदर्शी र नागरिक–मैत्री बनाउने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence – AI) प्रविधिको प्रयोगलाई प्राथमिकता दिइनेछ।
203. विद्युतीय शासनलाई थप प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले नागरिक–केन्द्रित दृष्टिकोण (Citizen Centric Approach) मा आधारित भएर सेवा प्रवाह गर्ने नीति अवलम्बन गरिनेछ। Digital Nepal Framework को अवधारणालाई मार्गदर्शकका रूपमा लिई सेवा प्रवाहका विविध क्षेत्रहरूमा सूचना तथा संचार प्रविधिको व्यापक प्रयोग गरिनेछ।
204. नगरका गतिविधिहरुलाई सबै नगरवासीहरु सम्म संप्रेषण गर्न तथा स्थानीय भाषाहरुको संरक्षण र प्रवर्द्धनको लागि रेडियो तथा टेलिभिजन कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ।
205. पत्रकार महासंघ दाङ शाखाको संस्थागत विकास, पत्रकारहरुको क्षमता विकास र पत्रकारिता प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ। नगरसभा सदस्यज्यूहरु
206. बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र उपलब्धिमुलक बनाउन जनचेतनामुलक कार्यक्रमहरु टोल टोल देखि पालिका स्तर सम्म विस्तार गरिनेछ।
207. आप्रवासी कामदार तथा आश्रित परिवारको अधिकारको सुनिश्चित गर्ने नीति लिईने छ।बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित वनाउन संघीय सरकार, प्रदेश सरकार, वैदेशिक रोजगार वोर्ड, तथा बैदेशिक रोजगारसँग सरोकार राख्ने निकायहरुसँगको समन्वय तथा लागत साझेदारीमा आप्रवासी कामदार र उहाँहरुको परिवारलाई लक्षित गरी सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचना प्रवाह, मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा, वित्तीय साक्षरता र सीप अभिवृद्धि गर्ने तथा आप्रवासी कामदारहरुले वैदेशिक रोजगारीको दौरानमा सिकेका सीप तथा व्यवसायिक ज्ञान प्रयोग गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने कार्यक्रमहरु संचालन गरिनेछन् .
208. स्वदेश फर्केका नागरिकहरुलाई संगठित गराई उनीहरुमा भएका व्यवसायीक ज्ञान, सीप र अनुभवको उपयोग गरिनेछ।स्थानीय स्तरमा श्रमिक तथा सम्बद्ध परिवार सम्मिलित सामाजिक सँस्था/सहकारी स्थापना/ विस्तार गरी पुँजी निर्माण, उद्यमशिलता विकास तथा व्यवसाय प्रवर्द्धन गरिनेछ। नगरसभा सदस्यज्यूहरु,
209. नगरपालिकाबाट प्रवाह गरिने सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन प्रशासनिक संयन्त्र चुस्त दुरुस्त बनाई कर्मचारीहरुको आवश्यकताको आधारमा क्षमता विकासका कार्यक्रमहरु संचालन गरिनेछ।
210. कर्मचारीहरुलाई नतिजामूखी बनाउनको लागि कार्य जिम्मेवारी अनुसार महाशाखा/शाखा/ वडागत रुपमा सूचक तयार गरी सबै महाशाखा/शाखा प्रमुख/ वडा सचिवहरुसँग कार्यसम्पादन सम्झौता गरिनेछ।
211. नगरपालिकाबाट सम्पादन गरिने कार्य मितव्ययी प्रभावकारी नियमितता र कार्यदक्षता पूर्ण ढंगबाट सम्पादन गर्न, वित्तीय प्रतिवेदन प्रणालीलाई विश्वसनीय बनाउन तथा प्रचलित कानून बमोजिम कार्य सम्पादन गर्न तयार भएको आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी कार्यान्वयन गरिनेछ।
212. उपमहानगरपालिकाको स्वामित्वमा रहेका भवन जग्गा तथा जिन्सी सामग्रीहरुको संरक्षण गर्ने तथा बर्गीकृत विवरण अद्यावधिक राखिनेछ।
213. अन्तर स्थानीय तहसंग सम्बन्धित साझा सरोकारका आयोजनाहरु पहिचान गरी क्रमशः कार्यान्वयन गरिनेछ।
214. अन्तर सरकारी समन्वय तथा सहजीकरण समिति गठन गरी सम्भावित साझा लगानीका परियोजनाहरुको रोष्टर तयार गरी प्राथमिकताका आधारमा योजनामा समावेश गरिनेछ।
215. संघीय मन्त्रालयहरु तथा विभाग, प्रदेश मन्त्रालयहरु तथा विभाग‚ विषयगत कार्यालयहरु‚ जिल्ला समन्वय समिति, गैर सरकारी संस्था लगायत सरोकारवालाहरुसंगको समन्वय र सहकार्यलाई प्रभावकारी एवं नतिजामूलक बनाइनेछ। नगरसभा सदस्य ज्यूहरु,
216. यस गरिमामाय नगर सभामा प्रस्तुत गरिएको प्रस्तावित नीति तथा कार्यक्रमको सफल कार्यान्वयनबाट नगरवासीका आधारभूत आवश्यक्ताहरु परिप”र्ती गरी जिवनस्तरमा गुणात्मक सुधार हुदै जाने, उपलब्ध स्रोत साधनको अत्यूत्तम उपयोगबाट आर्थिक उन्नतिमा टेवा पुग्ने र विकासको मूलप्रवाहमा सबै बर्ग क्षेत्र, समूह, समुदायहरु समाहित भई समावेशिताको प्रवर्द्धन मार्फत स्थानीय लोकतन्त्र सुदृढ हुने बिश्वास लिएको छु।
217. उल्लेखित नीति तथा कार्यक्रम उपमहानगरपालिकाको एक्लो प्रयासबाट मात्र कार्यान्वयन गर्न सम्भव हुने छैन।यसका लागि संघ तथा प्रदेश सरकार, राजनितिक दल, नागरिक समाज, उद्योगी, व्यवसायी, सरकारी , गैरसरकारी क्षेत्र, संघ संस्था, टोल विकास संस्था, पेशाकर्मी बुद्धिजिवी, संचारकर्मी लगायत सबै नगरवासी, आमा बुवा दिदी बहिनी, दाजुभाईको सक्रिय साथ र सहयोग रहने बिश्वास लिएको छु।
218. अन्तमा घोराही उपमहानगरपालिकाको समग्र विकासमा महत्वपूर्ण योगदान गर्नुहुने जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, निजी क्षेत्र, सरकारी तथा गैर सरकारी क्षेत्र, श्रमिक वर्ग, नागरिक समाज, संचार जगत लगायत सम्पूर्ण नगरवासी आमाबुवा, दाजुभाई, दिदी बहिनीहरुमा हार्दिक धन्यबाद व्यक्त गर्दछु। धन्यवाद ।
इति सम्वत् २०८२ साल जेष्ठ २६ गते रोज २ शुभम् ।