जीवन कहिले कठिनाईले भरिएको हुन्छ, त कहिले त्यही कठिनाईबाटै रमाइलो र उत्साहको स्रोत बन्छ । संघर्ष नै जीवनको पर्याय हो । कहिले आफ्नो अस्तित्व बचाउन, त कहिले बाँचेर केही गर्ने सपना पुरा गर्न । यस्तै संघर्षमय जीवनयात्राको एक ज्वलन्त उदाहरण हुन् नेकपा (एमाले) की केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मेनका पोख्रेल । उनको जीवन संघर्ष, साहस र समाज परिवर्तनको अदम्य इच्छाशक्तिको प्रेरणादायी कथा हो ।
बाल्यकालः विपत्तिको सुरुवात
मेनका पोख्रेलको जन्म २०२२ सालमा दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ हाडिमेमा भएको थियो । उनको बाल्यकाल नै विपत्तिहरूले भरिएको थियो । जन्मिदै समाजको कुसंस्कार र कुरीतिको शिकार बन्नुपरेको उनको परिवारमा बालविधवा हजुरआमा, आमा र मृत्यु शैयामा छटपटाइरहेका बाबु थिए । मेनकाको जन्मको केही दिनपछि नै बाबुको निधन भयो । आमा सुत्केरीमै विधवा भईन् र उनको दुध मेनकाको लागि धेरै टाढाको कुरा बन्यो । तर पनि, मेनका बाँचिन् र उनले आफ्नो जीवनलाई परिवर्तन गर्ने संकल्प गरिन् ।
उनले आफ्नो बाल्यकालको कठिनाईको बारेमा भनिन्, ‘म जन्मिदै समाजको कुसंस्कार र कुरीतिको शिकार भएको मान्छे हुँ । मेरा दाजुहरूसँगै हुर्के, दाजुहरूले पढेको सुनेर पढ्न सिके, लेखेको देखेर लेख्न सिके ।’ उनको बाल्यकालको संघर्षले उनलाई सहनशील र दृढ बनायो ।
शिक्षाको सुरुवात : संघर्षको पहिलो पाठ
मेनकाको शिक्षाको सुरुवात उनका दाजुहरूसँगै भयो । दाजुहरूले पढेको सुनेर उनले पढ्न सिकिन्, लेखेको देखेर लेख्न सिकिन् । उनी विद्यालय जान थालिन् र अमरकोशका श्लोकहरू पढ्न थालिन् । उनी सबैभन्दा छिटो कण्ठ गरेर पाठ बुझाउँथिन्, जसले गर्दा उनी गुरुहरूको प्रिय विद्यार्थी बनिन् । तर, उनको बोलीमा प्रष्टता नभएकोले उनलाई समाजले लुतरी भनेर जिस्क्याउँथ्यो । तर उनी कहिले पनि प्रतिवाद गर्दिनथिन् । उनले मनमनै भन्थिन्, ‘इख नभएको मान्छे र विष नभएको सर्प काम लाग्दैन ।’ यसैले उनले मनमा इख लिएर आफूले मेहनत गर्नुपर्छ र समाजमा स्थापित हुनुपर्छ भन्ने सोच बनाइन् ।
उनले आफ्नो शिक्षाको बारेमा भनिन्, ‘म स्कुल प्रथम हुन्थे, कहिले पनि कापी कलम किन्नु पर्दैन थियो । क्याम्पस पढ्दा पनि विभिन्न प्रतियोगिता तथा विद्यालयका पढाईमा सधै प्रथम हुने भएकाले सजिलो भयो ।’ उनको शिक्षाको यात्रा संघर्ष र सफलताको मिश्रण थियो ।
राजनीतिमा प्रवेशः समाज परिवर्तनको संकल्प
२०३५/३६ सालको विद्यार्थी किसान आन्दोलनले मेनकालाई आकर्षित गर्यो । उनका ठूला दाजु कम्युनिस्ट पार्टीका कार्यकर्ता थिए, जसले गर्दा उनले ‘वर्ग संघर्ष’, ‘मुक्ति मोर्चा’, ‘सन्देश’ जस्ता पत्रिकाहरू पढ्न थालिन् । दङ्गाली कम्युनिष्ट आन्दोलनका योद्धा नेत्रला पौडेल अभागी उनका नजिकका आफ्न्त थिए ।
अभागी संगठन निर्माण र विभिन्न कामको शिलशीलामा मेनकाको घरमा जाने गर्दथे । त्यसबाट उनलाई कम्युनिष्ट पार्टी बुझ्न सजिलो भयो । उनी अनेरास्ववियुमा संगठित भईन् र विद्यार्थी आन्दोलनमा सक्रिय भईन् । २०३८ सालमा उनी अखिल नेपाल महिला संघमा संगठित भईन् र विद्यार्थी र महिला दुवै संगठनको विस्तारमा सक्रिय भईन् ।
उनले आफ्नो राजनीतिक यात्राको बारेमा भनिन्, ‘२०३५–३६ सालको विद्यार्थी किसान आन्दोलनले मलाई आकर्षित गर्यो । मेरो ठूलो दाजु कम्युनिस्ट पार्टीको कार्यकर्ता भएकाले दाजुले ल्याएका पुस्तकहरू जस्तै ‘वर्ग संघर्ष’, ‘मुक्ति मोर्चा’, ‘सन्देश’ जस्ता पत्रिकाहरू लुकीलुकी पढ्न थाले र अनेरास्ववियुमा संगठित भए ।’
२०४२ सालमा लक्ष्मी ज्ञवालीलाई संगठन विस्तार पार्टीले दाङ पठायो । उनीहरूले दाङ जिल्लाका सबै माध्यमिक विद्यालय, क्याम्पस र निम्न माध्यमिक विद्यालयसम्म संगठन निर्माण गरे । उनीहरू पञ्चायती निरंकुशताका विरुद्ध आन्दोलनमा सक्रिय थिए । २०४४ सालमा उनीहरूलाई गिरफ्तार गरियो र छ महिना घोराही कारागारमा राखियो ।
भूमिगत जीवनः संघर्षको अर्को अध्याय
२०४६ सालको जनआन्दोलन सफल नहुँदासम्म मेनका दाङ जिल्लामै भूमिगत रही समाज रूपान्तरण र प्रजातन्त्र प्राप्तिको आन्दोलनमा सक्रिय रहिन् । भूमिगत जीवनमा उनले धेरै कठिनाइहरू सहनुपर्यो । उनी रातमा हिँड्नुपर्दा चुरेनी बन्ने, र बाघ जस्ता हिंसक जन्तुको सामना गर्नुपर्ने अवस्था आइपुग्यो ।
उनले आफ्ना जीवनका १० अविस्मरणीय घटनाहरु यसरी सुनाइन् :
१. म त चुरेनी भए
म प्राय रात छिपिएपछि अर्थात् अब त मानिसहरू आ–आफ्नो घरभित्र पसे भन्ने भएपछि मात्र बसेको ठाउँबाट अर्को ठाउँमा जान्थे। एक दिन कर्मटियाबाट मछाही आउँदै थिए । करिब रातको ९ बजे खेतका आलीबाट हिँड्दै गाउँको बाटो भेटेकी मात्र थिए । एउटा सानो बाबु मलाई देखेर गुहार! गुहार! भन्दै चिच्याउन थाल्यो। मैले उसलाई चिने र उसलाई चिनाउन नजिक हुन खोजे। ऊ झन् झन् चिच्याउन थाल्यो। त्यसपछि म अर्कैतिर मोडिएर उसको काकाको घरमा गएर सम्झाउन भने। उसले त मलाई चुरेनी भन्ने ठानेर चिच्याएको रहेछ ।
२. बोक्सी बनेको घटना
भूमिगत जीवन दिउँसो नुहाउने सम्भावना नै थिएन। रातमा मात्र नुहाउनु पथ्र्यो। म लहलौरा बस्दा गाउँको पानी पिउने र नुहाउने मूल भएको ठाउँ जसलाई जरुवा भनिन्छ त्यही सबै गाउँले सुतिसकेपछि नुहाउन जान्थे। नुहाउँदा पानीको छप्ल्याङ छुप्लुङ आवाज आउनु स्वभाविक थियो ।
मधुरो बत्ती देखेर गाउँलेहरु रातिमा बोक्सी आउँछे बत्ती बाल्छे ,नाच्छे भनेर गाउँभरि अफवाह फैलिएको थियो तर रातको समय त्यही भएर पनि स्थानीयहरू त्यो ठाउँ जान हिम्मत गर्दैनथे मलाई भने सहज हुन्थ्यो ।
३. पार्टीको गोपनियता जोगाउन
प्रतिबन्धित पार्टी नेकपा (माले) को जिल्ला कमिटी बैठक हालको घोराही उपमहानगरपालिका वार्ड नं १७ पचुर्खा माझी मलाल चौधरीको घरमा बसिरहेको थियौँ । हामी बसेको ठाउँमा अप्रत्यासित रूपमा एकजना शंकास्पद मान्छेको प्रवेश भएपछि के गर्ने भन्ने ? समस्या उत्पन्न भयो। सेल्टर दाताको पनि सुरक्षा गर्नुपर्ने र पार्टीलाई ठूलो क्षतिबाट जोगाउनु पर्ने परिस्थितिमा एकजना कमरेड र म उही उहाँको (केटाले केटी भगाएर ल्याएको) भन्ने बनाएर दिउँसै त्यो ठाउँबाट हिँड्यौं र पार्टीलाई संकटबाट जोगायौ यस्तै घटना जमेरा र बेसाहीमा पनि भएको थियो ।
४. बच्चाहरूलाई तरवार देखाउनुपर्दा
नाकाबन्दीको समय थियो। गाउँमा प्रहरीहरू ओहोरदोहोर गरिरहन्थे । म प्रायः थारु किसानको घर र दलित किसान तथा भूमिहीन किसानहरूको घरमा बस्थे। उनीहरूको परिवारमा पेटभरि खाने अन्न हुँदैनथ्यो। ओड्ने ओछ्याउने कपडा त धेरै टाढाको कुरा एउटै गुन्द्री अथवा टाँटमा परिवारसँगै सुत्थे तर आत्मीयता बिर्सनै नसकिने रातभरि मुख्य सडकमा पर्चा छोड्न हिँड्थ्यौं ।
एकनासका विद्यार्थीहरू जितपुर गाउँकालाई समेटेकी थिए उनीहरुले दालचामल उठाएर बस्ने घरमा पु¥याउँथे । एकदिन त्यही गाउँमा दुजराम सार्कीको घरको माथिल्लो तलामा बसेकी थिए । परिवारका सदस्यहरू तलै बस्नुहुन्थ्यो। दिउँसो परिवारका सदस्यहरु सबै काममा जानुभएको थियो । म मात्र एक्लै घरमा थिए । करिब ४ वर्ष जतिको बच्चा केही खोज्न माथि उक्लियो । म खाना खाइरहेकी थिएँ । मलाई देखेर फरक्क फर्कियो र उसले आफू जस्तै गाउँभरिका बच्चा जम्मा गरेर बाहिर झ्यालबाट देखाउन थाल्यो। अब के गर्ने ? म समस्यामा परे कता कताबाट दुजरामले देख्नुभएछ। र आएर तरबार देखाएर कसैलाई भन्यो भने यसैले काट्छु कसैले नभन है भनेर भन्नुभयो र मलाई सुरक्षित स्थानमा लिएर जानुभयो यो घटनाबाट बाल मानसिकता मैले राम्रोसँग बुझ्ने मौका पाए ।
५. गैजा गैजा कालापार गैजा
आफू बस्ने सेल्टर म आफै बनाउने गर्थे। त्यसको माध्यम म विद्यार्थीहरु नै बनाउँथे । यसै क्रममा एक दिन भागवत कालाथोकीको घरमा आश्रय लिन गए माथि बसिरहने बाहिर ननिस्कने गर्दा परिवारका सदस्यहरु आत्तिनु स्वभाविक हो । पञ्चायती निरंकुशता धरपकड चलिरहेको समयमा आफ्नो छोराले लुकेर बस्ने मान्छे घरमा ल्याउँदा राजनीति नबुझेको परिवारमा आक्रोश हुनु स्वभाविक हो तर आमाले मलाई माया नै गर्नुभयो। खाना पनि मिठै खुवाउनुभयो । तर छोरालाई भने एक मेसै गैजा गैजा कालापार गैजा , त यहाँ बस्न पर्दैन भनेर रिसाइरहनु भयो ।
६. आफ्नै आफन्तमा दुव्र्यवहार
म प्रायः आफन्तकोमा सेल्टर लिँदैनथे । तर एउटा घर पार्टीका अधिकांश नेता कार्यकर्ताले विश्वास गरेको घर रातको समय नुहाई धुवाई गरेर जाँदा १२ बजेको थियो। महिला बिरामी पर्नु भएको रहेछ । पुरुषले ढोका खोल्नुभयो । एउटा सानो कोठा थियो। मसँग अर्को पुरुष कमरेड पनि साथै हुनुहुन्थ्यो । तर बिछ्याउन एउटा मात्र आधा घण्टा जति मलाई अर्को कोठा बोलाउनु हुन्छ कि भनेर पर्खे नआएपछि म एक्लै खर्कटीको बाटो अर्को सेन्टर पुगे । शेषमणिपुनको घर जसको घर जति राति गएपनि म आफै ढोका खोल्थे। र सहजै आश्रय पाउँथे । त्यही गए । रातको दुई बजेको समय मजदुरी गर्ने परिवार भएकाले मस्त निद्रामा थाहा नपाएपछि म तलै बसेर ४ बजे लक्ष्मीपुन बहिनी उठ्नुभयो र साह्रै दुःख मान्नु हो । यसरी आफन्तमा अपमान र गरिबीमा सम्मान कहिल्यै नबिर्सने घटना बन्यो ।
७. बाघ अगाडि देखिएपछि
बेलझुण्डीबाट केशर नेपालीसँगै नयाँ बस्ती हुँदै जितपुर जाँदै थिए । नयाँ बस्ती माथिको जंगलमा बाघ अगाडि देखियो । हामी अत्तालियौ तर तुरुन्तै सम्हालिएर मैले टर्चलाइट निकालेर सिधा हुनेगरी बालेपछि बाघ दौडियो । हामी अत्यन्त सतर्कता साथ सेल्टर पुग्न सक्यौँ । सायद होस गुमाएको भए हाम्रो त्यही अन्त्य हुन्थ्यो होला ।
८. लक्ष्मी पूजाको दिन
म राति एक्लै हिँडिरहेकी थिए । एक्लै भैलो खेल्ने हरूले मलाई भेटेर केरकार गर्न थाले । मैले म जाने घरको छिमेकी मेरो मामाघर भएको आउँदाआउँदै रात पर्यो भनेपछि उनीहरुले घरका परिवारलाई बोलाउन थालेपछि म उनीहरूलाई छक्काएर भागे। गाउँभरि हल्लाखल्ला भयो । तर म सचेतनापूर्वक अर्को गाउँको सेल्टर पुग्न सके र गिरफ्तारीबाट बचे ।
९. अनेम सङ्घको प्रथम राष्ट्रिय सम्मेलन
म काठमाडौँ जान दाङबाट बस चढ्ने स्थिति थिएन । त्यसैले के देउखुरी गएर कि नेपालगञ्ज गएर पश्चिमका बस चढ्थे । मलाई कसैले नचिनुन् भनेर। नेपालगञ्ज जानका लागि जङ्गलको बाटो पैदल हिँडेर रिहार गएकी थिए। त्यही जासुस भेटिए। उनीहरु मेरो पिछा गर्न थाले । मैले निकै मेहनतका साथ छक्काएर करिब ६ किलोमिटर बाटो जङ्गल हिँडेर एउटा ट्रक भेटेर ट्रक चढे तर त्यो ट्रक बैरियामै रोकियो त्यो ठाउँ भनेको ट्रक ड्राइभरहरू बास बस्ने ठाउँ थियो । कसरी सुरक्षित हुने ? एकजनासँगै पढेको साथीलाई सम्झिए संयोग म बसेको होटलमै साथी खाना खाँदा रहेछन् र सहज भयो र पछि एउटा बस नेपालगञ्जको लागि आयो र म कोहलपुर ओर्लिए रातको ११ बजे। बामदेव कमरेड त्यही हुनुहुँदो रहेछ । मैले सबै घटना बताएपछि स्याबासी दिनुभयो र अर्को दिन नेपालगञ्ज गएर लक्ष्मी ज्ञवाली चढेकै बसबाट काठमाडौँ जान भन्नुभयो सिट थिएन म क्याबिनमा बसेर कहिँ नओर्लीइ काठमाडौँ आए ।लक्ष्मीजी समेत काठमाडौँ आएपछि मात्र मसँग बोल्नुभयो । सम्मेलनमा सहभागी भयौँ। दुवैजना केन्द्रीय सदस्य निर्वाचित भयौँ ।
१० . २०४६ को आन्दोलन ,गिरफ्तारी ,दाङमै खुला नामबाट सम्बोधन
म स्नातकोत्तरको परीक्षा दिन काठमाडौँ गएकी थिए । त्यही समयमा आन्दोलन सुरु भयो। सबै आन्दोलनमा म सक्रिय सहभागी भए । झण्डा टाँस्ने पुतला जलाउने थाल ठटाउने कालोपट्टी बाँध्ने जस्ता आन्दोलनहरूमा सरिक भए। अनि मसँगको केन्द्रीय बैठक हेटौडामा हुने खबर भएकाले हेटौडा गए तर बैठक स्थगित भएको रहेछ । फागुन ७ को आन्दोलनमा हेटौडामै रहे फागुन २१ मा काठमाडौँ आएर पुनः आन्दोलनमा सहभागी भए । चैत्र ३ गते त्रिचन्द्र क्याम्पसमा मुखमा कालोपट्टी बाँध्ने आन्दोलनमा सरिक हुँदा गिरफ्तारीमा परे । नाम ठेगाना सबै फरक बनाएर जोगिए चैत्र ७ गते नेपालगञ्ज हुँदै रातभर जङ्गलको बाटो हिँडेर दाङ आएर दाङमा आन्दोलनको तयारीमा लागे ।
रातिमा मसाल जुलुसको नेतृत्व गर्थे । म आएपछि थारु महिला हरू मसँगै रातमा नारा लगाउन हिँड्नुहुन्थ्यो । यस्तैमा एकदिन रामपुर डिल्लीडाँगीको घरबाट पचुर्खा जगुलाल चौधरीको घर आउँदा कमरेड विजय (गोपाल शाक्य) को पत्र रहेछ । २५ गते संयुक्त सभा राखिएको छ । त्यसमा पार्टीको तर्फबाट तपाईँले सम्बोधन गर्नुपर्नेछ त्यसैअनुसार तयारी गर्नुहोला भनेर म राति नै बेसहि गए बेसहीबाटअमराइ अनि शहीपुर हुँदै २४ गते राति जितपुर शेषमणि पुनको घर गएर बसे २५ गते दिउँसो यज्ञराज बास्तोला मलाई लिन आउनुभयो र म बसेको ठाउँ टाँट मात्र थियो देखेर छक्क पर्नुभयो । उहाँसँगै पेरनी गएर आन्दोलन अगाडि बढिरहेको छ ,प्रजातन्त्रको यो आन्दोलन सफल हुन्छ, निरंकुश व्यवस्था घुडा टेकेको हामी छिट्टै सुन्न पाउनेछौँ भनेर पार्टीको तर्फबाट विचार राखे ।
तीन तीनवटा वारेन्ट जारी भएको माइला दाजु जनार्दन पोख्रेललाई एक एक हप्तामा तारेखलाई रहेको परिवेशमा खुल्ला नामबाट सम्बोधन गर्नुले मेरो यात्रा अरु कष्टकर बन्न पुग्यो। तर संयोग चैत्र २६ गते राति प्रजातन्त्रको घोषणा भयो र प्रतिबन्धित पार्टीहरूमाथिको प्रतिबन्ध खुल्ला भयो । २७ गते विशाल जनसभा सम्पन्न भयो। तर भूमिगत भएकाले मैले गाउँबाट सयौं सहभागीहरु घोराही पठाए । म भने २०४६ साल चैत्र ३१ गते मात्र पार्टीले खुला हुने निर्णय गरेपछि राजबन्दीहरूलाई स्वागत गर्दै बालमितेरी मावि भोजपुरमा भएको आमसभालाई सम्बोधन गरेर खुला राजनीतिमा प्रवेश गरेर कार्यक्रम सकेर पहिलोपटक आमा र हजुरआमालाई भेट्न घर आए यसरी मेरो भूमिगत यात्रा समाप्त भई राजनीतिको खुला र सहज यात्रा आरम्भ भयो ।
तर, जनताको मायाले उनलाई कहिले पनि विचलित बनाएन, झन् झन् सशक्त र उत्साहित बनाइरह्यो । उनले आफ्नो भूमिगत जीवनको बारेमा भनिन्, ‘भूमिगत जीवनमा मैले भोगेका कठिनाइ र अनुभूति एउटै लेखमा समेट्न सम्भव छैन । तर केही घटनाक्रमहरू संक्षेपमा उल्लेख गर्दछु । मैले पार्टीको गोपनियता जोगाउन अविवाहित भएर पनि पटकपटक भागी विवाहको नाटक मञ्चन गरे । म रातमा हिँड्दा चुरेनी बन्न पुगे। रातमा नुहाउने भएकाले र टर्चको बत्ती बाल्दा बोक्सी बन्न पुगे ।’
पार्टीको निर्णयमा विवाह
मेनका अनेरास्ववियु दाङको अध्यक्ष हुँदा शिवकुमार आचार्य सचिव हुनुहुन्थ्यो । दोस्रो पटक मेनका अध्यक्ष हुँदा शिवकुमार उपाध्यक्ष हुनुभयो । साथ साथै संगठन निर्माण गर्न हिड्नुपर्ने । मेनका विद्यार्थीको केन्द्रीय सदस्य हुँदा शिवकुमार जिल्ला अध्यक्ष हुनुभयो । शिवकुमार केन्द्रीय सदस्य हुँदा मेनका विद्यार्थी फाँटको इञ्चार्ज हुनुभयो ।
२०४६ साल पछि मेनका विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा होमिनुभयो । २०४५ सालमा यज्ञराज बास्तोला पार्टीको काम गर्न भूमिगत रुपमा दाङ आउनुभएको थियो । २०४६ चैत ३१ गते बहुदल आइसकेपछि एक वर्ष जेलबाट शिवकुमार आचार्य छुट्नुभयो । ‘२०४९ सालदेखि यज्ञराज बास्तोलाले शिवकुमारजी र मेरो विहे गराउन प्रयास गर्नुभयो,’ मेनकाले भन्नुभयो, ‘मैले स्नाकोत्तर तहको फाइनल जाँच दिइसकेको थिए, शिवजी स्नातक तहमा पढ्दै हुनुहुन्थ्यो । बास्तोलाकै समन्वयमा हामी नजिक भयौं ।
जिल्ला पार्टीको निर्णय बमोजिम २०५० सालमा जनवादी विवाह भयो । विहेको निम्तो पनि पार्टीले नै गरेको हो ।’ मैले जीवनका सबै कामहरु पार्टीको निर्णयमा नै गरेको छु ।