पाण्डव शर्मा
पवन पछिल्लो समय आफैँसँग अलि बढी कुरा गर्न थालेको थियो । बाहिरबाट हेर्दा उसको जीवन सामान्य गतिमै चलिरहेको थियो । बिहान विद्यालय पुग्ने, विद्यार्थीलाई पढाउने, सहकर्मीहरूसँग शैक्षिक विषयमा छलफल गर्ने, त्यसपछि पत्रकारिताका काममा लाग्ने, समाचार सङ्कलन, सम्पादन, भेटघाट र सामाजिक गतिविधिमा सहभागी हुने । दिनभरि उसलाई भ्याइनभ्याइ हुन्थ्यो । तर, यति धेरै व्यस्तताबीच पनि उसको मनको एउटा कुनामा एउटै नाम बारम्बार आइरहन्थ्यो– प्रतीक्षा ।
पहिले पवनले यसलाई सामान्य आकर्षण ठानेको थियो । कसैसँग कुरा गर्दा सहज लाग्नु, उसको विचार सुन्न मन लाग्नु, उसको सन्देश आउँदा खुसी हुनु र भेट हुँदा रमाइलो अनुभव हुनु सामान्य मानवीय कुरा हो भन्ने उसको बुझाइ थियो । तर, समय बित्दै जाँदा त्यो सामान्य आकर्षण मात्र रहेन । प्रतीक्षासँग कुरा नभएको दिन उसलाई दिन नै अपूरो भएजस्तो लाग्न थालेको थियो ।
बिहान उठेपछि मोबाइल हेर्ने बानी बसिसकेको थियो । समाचार पढ्नुअघि, सामाजिक सञ्जाल खोल्नुअघि र विद्यालय जान निस्कनुअघि पनि उसको आँखा प्रतीक्षाको नाममा पुग्थ्यो । कुनै सन्देश आएको छ कि ? अघिल्लो दिन पठाएको कुराको जवाफ आएको छ कि ? राति उसले केही लेखेकी थिई कि ? यस्ता प्रश्नहरू उसको दैनिक जीवनको हिस्सा बन्न थालेका थिए ।
कहिलेकाहीँ ऊ आफैँलाई सम्झाउँथ्यो, ‘पवन, तिमीलाई अरू काम छैन र ? बिहानैदेखि एउटी महिलाको सन्देशको प्रतीक्षा गरेर बस्ने ? तिम्रो आफ्नै पेसा छ, परिवार छ, जिम्मेवारी छ ।’
तर, मनले उसको कुरा कहाँ मान्थ्यो र !
विद्यालयको कक्षाकोठामा पढाउँदै गर्दा पनि कहिलेकाहीँ प्रतीक्षाको कुनै वाक्य सम्झिन्थ्यो । विद्यार्थीले कुनै प्रश्न सोध्दा जवाफ दिइरहेको समयमा उसको मनमा अघिल्लो साँझ भएको संवादको कुनै अंश आइपुग्थ्यो । समाचार सम्पादन गर्दै गर्दा मोबाइलको पर्दा उज्यालो भयो भने उसको ध्यान अनायासै त्यतै जान्थ्यो । पत्रकारिताको काममा कुनै गम्भीर विषयमा छलफल गरिरहेको बेला पनि मनको एउटा कुनामा प्रतीक्षाको सम्झना आइरहन्थ्यो ।
उसले धेरैपटक आफूलाई प्रश्न गरेको थियो, ‘के म साँच्चै प्रतीक्षाको लतमा पर्दै छु ?’
उसलाई थाहा थियो, यो प्रश्न सामान्य थिएन ।
सन्देश पठाउने चाहना
त्यो दिन विद्यालयमा कक्षा सकेर ऊ शिक्षक कक्षमा बसेको थियो । टेबलमा विद्यार्थीका कापीहरू थिए । केही कापी जाँच्न बाँकी थिए । अर्को दिनको पाठयोजना पनि बनाउनुपर्ने थियो । मोबाइल टेबलको कुनामा राखिएको थियो ।
उसले मोबाइल उठायो । प्रतीक्षाको नाम खोल्यो । केही बेर उसको तस्बिर हेरिरह्यो । त्यसपछि सन्देश लेख्यो ।
‘आज के गर्दै हुनुहुन्छ ?’
केही क्षणपछि उसले आफैँ त्यो सन्देश मेटायो ।
‘फेरि किन मेटाएँ ?’ उसले आफैँलाई सोध्यो ।
उसले अर्को सन्देश लेख्यो ।
‘तपाईंलाई आज सम्झिरहेको थिएँ ।’
यो वाक्य लेखेपछि ऊ केही बेर रोकियो । उसलाई लाग्यो, यो सन्देश अलि बढी व्यक्तिगत भयो । प्रतीक्षाले के सोच्ली ? कतै उसलाई अनावश्यक रूपमा म्यासेज गरिरहेको छु भन्ने लाग्ला कि ? कतै ऊ इरिटेड भई भने ? कतै उसले संवाद नै कम गर्दै गई भने ?
उसले फेरि सन्देश मेटायो ।
पवनलाई प्रतीक्षासँग कुरा गर्न मन लाग्थ्यो । तर, उसलाई आफ्नो चाहनाको सीमाबारे पनि थाहा थियो । पटकपटक सन्देश पठाउँदा कतै प्रतीक्षालाई असहज त हुँदैन ? उसले आफ्नो व्यस्तताबीच समय निकालेर जवाफ दिइरहेकी छे । तर, त्यसको अर्थ उसलाई हरेक समय संवाद गर्न मन पर्छ भन्ने त होइन ।
अर्को चिन्ता पनि थियो । प्रतीक्षाको मोबाइल कहिलेकाहीँ उनका श्रीमान्को हातमा पर्यो भने ? उनले पवनका सन्देश देखे भने के सोच्लान् ? पवनले कुनै अनुचित कुरा लेखेको थिएन । उनीहरूका कुराकानी सामान्य सामाजिक, व्यक्तिगत र भावनात्मक विषयमै सीमित थिए । तर, सम्बन्धको अर्थ सधैँ सन्देशका शब्दले मात्र निर्धारण गर्दैन रहेछ । सन्देश पठाउने व्यक्तिको मनसाय र संवादको निरन्तरताले पनि अर्थ निर्माण गर्छ ।
‘नराम्रो कुरा त केही गरेको छैन मैले । तर, मैले पठाएका सन्देशलाई उनका श्रीमान्ले कसरी बुझ्लान् ?’ उसले सोच्यो ।
उसलाई प्रतीक्षाको वैवाहिक जीवनमा आफ्नो कारणले कुनै समस्या उत्पन्न होस् भन्ने पटक्कै चाहना थिएन । ऊ प्रतीक्षालाई खुसी देख्न चाहन्थ्यो । तर, उसको खुसीको कल्पना गर्दा आफू पनि त्यसमा कतै उपस्थित हुन चाहन्छ भन्ने कुरा उसले मनभित्र लुकाउन सकेको थिएन ।
अन्ततः उसले एउटा सामान्य सन्देश पठायो ।
‘नमस्कार । आजको दिन कस्तो बित्दै छ ?’
केही मिनेटपछि प्रतीक्षाको जवाफ आयो ।
‘ठीकै छ । तपाईंको के छ खबर ? आज विद्यालयमा व्यस्त हुनुहुन्छ होला नि ?’
पवनको अनुहारमा मुस्कान आयो ।
‘विद्यालयको काम त चलिरहेको छ । तपाईंको सन्देश आएपछि चाहिँ थकान अलि कम भयो ।’
‘हाहा । तपाईं पनि कुरा गर्न जान्नुहुन्छ ।’
‘कुरा गर्न जान्ने भएर मात्र हुन्छ र ? सुन्ने मान्छे पनि राम्रो हुनुपर्छ ।’
‘त्यसो भए म राम्रो श्रोता भएँ ?’
‘त्यो त धेरै पहिले नै प्रमाणित भइसकेको छ ।’
प्रतीक्षाले हाँसेको सङ्केत पठाई ।
त्यो सानो संवादले पवनको मन हलुका भयो । उसले मोबाइल राख्यो र कापी जाँच्न थाल्यो । तर, केही मिनेटपछि फेरि मोबाइल उठायो । प्रतीक्षाले अर्को सन्देश पठाएकी थिई कि भनेर हेर्न मन लाग्यो ।
उसले आफैँलाई हाँस्दै भन्यो, ‘यो त साँच्चै बानी नै बस्न थालेछ ।’
आफ्नै घरभित्रको प्रश्न
पवनको आफ्नै वैवाहिक जीवन थियो । उसकी श्रीमती थिई, छोरा थियो । घरमा उसको प्रतीक्षा गर्ने मानिसहरू थिए । श्रीमतीले उसको काम र व्यस्तता बुझ्ने प्रयास गर्थिन् । पवनलाई सहज बनाउन घरका धेरै जिम्मेवारी आफैँ सम्हाल्थिन् । कहिलेकाहीँ पवन ढिलो घर फर्कँदा पनि उनी अनावश्यक प्रश्न गर्दिनथिन् । उसलाई आफ्नो पेसाप्रति लगाव छ भन्ने कुरा बुझ्थिन् ।
पवनले आफ्नी श्रीमतीको माया र साथलाई कहिल्यै कम आँकेको थिएन । उसको जीवनका कठिन समयमा श्रीमतीले साथ दिएकी थिई । आर्थिक, पारिवारिक र सामाजिक चुनौतीका दिनहरूमा उनीहरू सँगै उभिएका थिए । पवनको सफलतामा उसको श्रीमतीको पनि योगदान थियो ।
तर, पछिल्लो समय उसले आफ्नी श्रीमतीसँग बिताउने समय र प्रतीक्षासँग कुरा गर्ने समयलाई मनमनै तुलना गर्न थालेको थियो । यो तुलना आफैँमा उसलाई असहज लाग्थ्यो ।
एक साँझ घरमा श्रीमतीले खाना पस्किँदै गर्दा सोधिन्, ‘आज पनि धेरै ढिलो गर्नुभयो । विद्यालयपछि कार्यालयतिरै बस्नुभएको थियो ?’
‘हो, एउटा समाचारको काम थियो । त्यसपछि केही साथीहरूसँग भेट भयो ।’
‘अलि आराम पनि गर्नुपर्छ नि । सधैँ काम मात्र गरेर हुन्छ ?’
‘अब के गर्नु, कामले नै त चलाउनुपर्छ ।’
श्रीमतीले मुस्कुराउँदै भनिन्, ‘कामको कुरा त तपाईंलाई कसले सम्झाउनुपर्यो र ! घरको कुरा पनि कहिलेकाहीँ सम्झिनुहोस् ।’
पवनले उनको अनुहारमा हेर्यो । त्यो वाक्य सामान्य थियो । तर, उसलाई भित्रै कताकता छोयो । उसले सम्झियो, घरमा पनि उसको प्रतीक्षा गर्ने कोही छ । उसको ढिलो आगमनमा चिन्ता गर्ने कोही छ । उसको थकान बुझ्ने र उसको खुसीमा खुसी हुने कोही छ ।
खाना खाँदै गर्दा श्रीमतीले छोराको पढाइबारे कुरा गरिन् । विद्यालयमा भएको कुनै रमाइलो घटनाबारे सुनाइन् । पवनले पनि छोराको पढाइ र भविष्यबारे चासो राख्यो । त्यो सबै सामान्य पारिवारिक संवाद थियो ।
तर, राति ओछ्यानमा पुगेपछि उसको मन फेरि प्रतीक्षातिरै फर्कियो ।
‘आखिर के कमी छ मेरी श्रीमतीमा ?’ उसले आफैँलाई सोध्यो ।
‘मलाई माया गर्ने, मेरो काम बुझ्ने, मेरो साथ दिने श्रीमती छ । घरमा मेरो प्रतीक्षा गर्ने परिवार छ । त्यसो भए म किन अर्की महिलाको सन्देशको प्रतीक्षामा यति धेरै समय खर्च गरिरहेको छु ? के यो मेरी श्रीमतीप्रतिको अन्याय होइन ?’
उसले आफ्नो मनलाई उत्तर दिन सकेन ।
त्यसपछि अर्को विचार आयो, ‘तर, मैले के नै गरेको छु र ? कसैसँग कुरा गर्नु, उसको विचार सुन्नु, उसको साथमा सहज महसुस गर्नु अपराध हो र ? के विवाह भएपछि मानिसले अर्को व्यक्तिप्रति आत्मीयता महसुस गर्नै नपाउने हो ?’
उसले आफूलाई फेरि प्रश्न गर्यो, ‘कसैलाई मन पराउनु र आफ्नो वैवाहिक प्रतिबद्धताप्रति इमानदार रहनु एकैपटक सम्भव छ कि छैन ?’
यस प्रश्नको उत्तर उसले कतै पढेको थिएन । न त पत्रकारिताका कुनै लेखमा भेटेको थियो, न समाजशास्त्रका पुस्तकमा । जीवनका केही प्रश्नहरू किताबले भन्दा आफ्नै व्यवहारले सिकाउँदा रहेछन् ।
प्रतीक्षाको एउटा सन्देश
भोलिपल्ट बिहान पवन विद्यालय जाने तयारी गर्दै थियो । मोबाइलमा प्रतीक्षाको सन्देश आयो ।
‘आजभोलि तपाईं धेरै हराउन थाल्नुभयो नि ।’
पवन केही क्षण मोबाइल हेरिरह्यो । उसले तत्काल जवाफ दियो ।
‘म हराएको होइन । कामले अलि व्यस्त बनाएको हो ।’
‘पहिले त व्यस्त हुँदा पनि समय निकाल्नुहुन्थ्यो ।’
‘अहिले पनि निकाल्छु नि । तर, तपाईंलाई अनावश्यक रूपमा डिस्टर्ब गर्न मन लाग्दैन ।’
‘मलाई डिस्टर्ब भएको भए जवाफ नै दिन्थेँ र ?’
पवन मुस्कुरायो ।
‘त्यसो भए म्यासेज गरिरहन अनुमति छ ?’
‘त्यस्तो अनुमति माग्नुपर्ने मान्छे हो र तपाईं ?’
‘तपाईंको कुरा सुन्दा त म अलि डराउनुपर्ने मान्छे हुँ जस्तो लाग्छ ।’
‘किन डराउनुहुन्छ ?’
‘तपाईं रिसाउनुभयो भने धेरै बेर बोल्नुहुन्न ।’
‘त्यसो भए मलाई रिस उठ्ने काम नगर्नुहोस् ।’
‘हस्, हुकुम ।’
प्रतीक्षाले हाँसेको सङ्केत पठाई ।
त्यसपछि पवनले लेख्यो, ‘एउटा कुरा सोधूँ ?’
‘सोध्नुहोस् ।’
‘तपाईंलाई म्यासेज गर्दा कहिलेकाहीँ तपाईंलाई झर्को लाग्छ ?’
‘किन यस्तो प्रश्न गर्नुभयो ?’
‘यत्तिकै । दिनमा धेरैपटक कुरा गर्न मन लाग्छ । तर, कतै तपाईंलाई मेरो बानी नराम्रो लाग्ने हो कि भन्ने लाग्छ ।’
‘सबै कुरा समय र परिस्थितिअनुसार हुनुपर्छ नि । म व्यस्त हुँदा ढिलो जवाफ दिन सक्छु । त्यसलाई तपाईंले नराम्रो नमान्नुहोला ।’
‘म नराम्रो मान्दिनँ । तपाईंको आफ्नै संसार छ भन्ने कुरा मलाई थाहा छ ।’
‘त्यसो भए ढुक्क हुनुहोस् ।’
पवनले त्यो संवाद धेरैपटक पढ्यो । प्रतीक्षाले आफूलाई संवाद गर्नबाट रोकेकी थिइन । तर, उसले कुनै विशेष आश्वासन पनि दिएकी थिइन । उसको जवाफ सहज थियो । पवनले त्यसलाई आफूले चाहेको अर्थमा बुझ्न खोजेन ।
उसले मनमनै भन्यो, ‘प्रतीक्षाको आफ्नै समय, आफ्नै जीवन र आफ्नै प्राथमिकता छन् । म उसको समयमाथि अधिकार जमाउन सक्दिनँ ।’
तर, मनको अर्को कुनामा एउटा सानो इच्छा थियो– प्रतीक्षाले पनि कुनै दिन आफैँ सन्देश गरोस् । उसले पनि पवनलाई सम्झिएको बताओस् । उसले पनि पवनको आवाज सुन्न मन लागेको भनिदिओस् ।
प्रेम भन्न खोजेको दिन
एक दिन पवन विद्यालयबाट फर्किएर आफ्नो कार्यकक्षमा बसेको थियो । बाहिर साँझ पर्न थालेको थियो । टेबलमा केही कागजात थिए । उसले समाचारको एउटा शीर्षक मिलाउँदै थियो । तर, मन भने काममा केन्द्रित हुन सकेको थिएन ।
प्रतीक्षासँग अघिल्लो दिन भएको संवाद सम्झिरहेको थियो । प्रतीक्षाले आफ्नो परिवार, श्रीमान् र छोरीका बारेमा कुरा गरेकी थिई । उनीहरूको दैनिकीबारे सुनाएकी थिई । कहिलेकाहीँ आफू पनि एक्लो महसुस गर्ने बताएकी थिई ।
पवनलाई उसलाई फोन गर्न मन लाग्यो ।
उसले नम्बर खोल्यो । फोन गर्ने बटनमा औँला पुर्यायो । फेरि रोकियो ।
‘आज फोन गरेर भनिदिऊँ– प्रतीक्षा, म तिमीलाई प्रेम गर्छु ।’
यो वाक्य मनमा आउनासाथ उसले मोबाइल टेबलमा राख्यो ।
‘तर, के एउटा विवाहित पुरुषले अर्की विवाहित महिलालाई प्रेम गर्छु भनेर भन्नु सुहाउने कुरा हो ? के यो नैतिक हुन्छ ? के मैले आफ्नो श्रीमतीप्रतिको विश्वासलाई बेवास्ता गरिरहेको छैन ?’
उसले केहीबेर आँखा बन्द गर्यो ।
उसलाई प्रतीक्षासँग कुरा गर्न मन लाग्थ्यो । उसको हाँसो सुन्न मन लाग्थ्यो । कहिलेकाहीँ उसको आवाज सुन्नकै लागि फोन गर्न मन लाग्थ्यो । प्रतीक्षा रिसाउँदा उसलाई मनाउन मन लाग्थ्यो । उसले कुनै कुरा सुनाउँदा ध्यान दिएर सुन्न मन लाग्थ्यो । यो सबैलाई प्रेम नभने के भन्ने ?
तर, प्रेमको नाम दिएर आफूले चाहेको सबै कुरा गर्न मिल्छ र ?
उसले आफूलाई अर्को प्रश्न गर्यो ।
‘के म प्रतीक्षालाई साँच्चै प्रेम गर्छु ? कि उसले मलाई दिने ध्यान, सम्मान र आत्मीयताप्रति आकर्षित भएको हुँ ?’
यो प्रश्नले उसलाई केही बेर मौन बनायो ।
उसलाई थाहा थियो, प्रतीक्षा उसलाई एउटा फरक दृष्टिले हेर्थी । उसको पेसागत पहिचान, विचार राख्ने शैली र सामाजिक सक्रियताभन्दा पर उसलाई सामान्य मानिसका रूपमा बुझ्ने प्रयास गर्थी । पवनलाई त्यो कुरा मन पर्थ्यो । बाहिर धेरै मानिसले उसलाई पत्रकार, शिक्षक वा सामाजिक व्यक्तित्वका रूपमा हेर्थे । तर, प्रतीक्षासँग कुरा गर्दा उसले आफ्नो कमजोरी, अन्योल र सामान्य मानवीय भावना पनि व्यक्त गर्न सक्थ्यो ।
सायद उसलाई प्रतीक्षाको सबैभन्दा प्रिय पक्ष यही थियो ।
उसले मोबाइल फेरि उठायो । फोन गर्यो ।
‘हेलो,’ प्रतीक्षाको आवाज आयो ।
‘के गर्दै हुनुहुन्छ ?’
‘घरमै छु । तपाईं ?’
‘म पनि काम सकेर बसेको ।’
‘आज के भयो ? आवाज अलि गम्भीर छ ।’
‘केही भएको छैन । तपाईंको आवाज सुन्न मन लाग्यो ।’
प्रतीक्षा केही बेर चुप लागी ।
‘यति धेरै कुरा गर्न मन लाग्छ तपाईंलाई ?’
‘हो । कहिलेकाहीँ त के कुरा गर्ने भन्ने पनि थाहा हुँदैन । तर, कुरा गर्न मन लाग्छ ।’
‘त्यो त तपाईंको बानी नै भइसकेछ ।’
‘सायद ।’
‘तर, बानी धेरै बसाल्नु पनि राम्रो होइन है,’ प्रतीक्षाले हाँस्दै भनी ।
पवनले पनि हाँस्ने प्रयास गर्यो । ‘त्यसो भए तपाईंले नै कम बोल्न भन्नुपर्छ ।’
‘मैले किन भन्नु ? आफूलाई नियन्त्रण गर्न सक्नुहुन्न ?’
‘कोसिस गरिरहेको छु ।’
‘किन ?’
पवनले केही क्षण मौनता राख्यो । त्यसपछि भन्यो, ‘किनकि तपाईंको कुरा सुन्ने बानी बसिसकेको छ ।’
प्रतीक्षाले जवाफ दिइन । तर, फोन काटिन पनि ।
पवनले त्यही मौनतामा धेरै कुरा खोज्न थाल्यो ।
के प्रतीक्षाको मनमा पनि म छु ?
पवनका लागि सबैभन्दा जटिल प्रश्न यही थियो । उसले प्रतीक्षालाई सम्झिएजस्तै प्रतीक्षाले पनि आफूलाई सम्झिन्छे कि सम्झिँदिन ? उसले सन्देश नपठाउँदा प्रतीक्षालाई पनि मोबाइल हेर्न मन लाग्छ कि लाग्दैन ? उसले फोन नगर्दा प्रतीक्षालाई पनि कुनै दिन फोन गर्न मन लाग्छ कि लाग्दैन ?
एक दिन पवनले सोध्यो, ‘प्रतीक्षा, एउटा कुरा सोधूँ ?’
‘सोध्नुहोस् न ।’
‘म केही दिन तपाईंलाई सन्देश नगरी बसेँ भने तपाईंलाई याद आउँछ ?’
प्रतीक्षाले हाँस्दै भनी, ‘किन ? प्रयोग गर्न खोज्नुभएको हो ?’
‘त्यस्तो होइन । सामान्य जिज्ञासा हो ।’
‘मान्छेले कुरा गर्ने बानी बसालेपछि केही दिन कुरा नभए सम्झना आउनु स्वाभाविक हो नि ।’
‘त्यसो भए सम्झना आउँछ ?’
‘तपाईंलाई सिधा जवाफ नै चाहिने ?’
‘हो नि ।’
‘आउँछ । तर, त्यसको अर्थ के लगाउनुहुन्छ भन्ने चाहिँ मलाई थाहा छैन ।’
पवनको मनमा एकाएक खुसी फैलियो ।
‘त्यसो भए म पनि तपाईंको सम्झनामा आउँदो रहेछु ।’
‘धेरै खुसी नहुनुहोस् ।’
‘किन ?’
‘किनकि तपाईंले त्यसलाई आफूले चाहेको अर्थमा बुझ्न थाल्नुहुन्छ ।’
पवन केही बेर हाँस्यो । तर, उसको मनमा प्रतीक्षाको अन्तिम वाक्य गहिरोसँग बस्यो । प्रतीक्षाले उसलाई सम्झिन्छे । तर, त्यसको अर्थ के हो भन्नेबारे ऊ आफैँ पनि निश्चित थिइन ।
पवनले सोध्यो, ‘तपाईंलाई मसँग कुरा गर्दा कस्तो लाग्छ ?’
‘सहज लाग्छ ।’
‘अरूसँगभन्दा फरक ?’
‘त्यो तुलना गरेर भन्न सक्दिनँ । तपाईंको कुरा गर्ने शैली फरक छ । कहिले गम्भीर, कहिले बच्चाजस्तो । कहिले धेरै बोल्नुहुन्छ, कहिले एकदमै शान्त भएर सुन्नुहुन्छ ।’
‘म बच्चाजस्तो हुन्छु र ?’
‘धेरैपटक । कहिलेकाहीँ त तपाईंलाई सम्झाउनुपर्ने मान्छे जस्तो लाग्छ ।’
‘त्यसो भए तपाईंले मलाई सम्झाइरहनुहोस् न ।’
‘म तपाईंको शिक्षक होइन ।’
‘तर, तपाईंको कुरा म ध्यान दिएर सुन्छु ।’
प्रतीक्षा हाँसी । पवनलाई त्यो हाँसो निकै प्रिय लाग्थ्यो ।
मनको अर्को पक्ष
एक दिन पवनले आफ्ना पुराना तस्बिरहरू हेर्दै थियो । श्रीमतीसँग विवाहपछिका तस्बिर, छोराको जन्मदिन, पारिवारिक घुमघाम र विभिन्न उत्सवका तस्बिरहरू । ती तस्बिर हेर्दा उसलाई आफ्नो जीवनका धेरै खुसीका क्षण सम्झना आए ।
उसले सोच्यो, ‘मेरी श्रीमतीले मेरो साथमा कति वर्ष बिताएकी छे । मेरा कठिन समय देखेकी छे । मेरो सफलतामा खुसी भएकी छे । म बिरामी हुँदा रातभर जागेकी छे । मेरो व्यस्तताका कारण आफ्ना धेरै इच्छा पछि सारेकी छे ।’
उसको मनमा अपराधबोधको अनुभूति आयो ।
‘के म उसलाई विश्वासघात गरिरहेको छु ?’
उसले आफ्नो मनलाई फेरि तर्क दिन खोज्यो ।
‘मैले कसैलाई गलत आश्वासन दिएको छैन । प्रतीक्षासँग कुनै अनुचित कुरा गरेको छैन । हामीले एकअर्कासँग मनका कुरा मात्र गरेका छौँ । के दुई वयस्क मानिसबीच आत्मीय संवाद हुनु नै विश्वासघात हो ?’
तर, अर्को आवाज आयो ।
‘यदि तिमीले आफ्नी श्रीमतीलाई प्रतीक्षासँगका सबै संवाद जस्ताको तस्तै सुनाउन सक्दैनौ भने तिमी आफैँ आफ्नो व्यवहारप्रति पूर्ण रूपमा ढुक्क छैनौ ।’
यो प्रश्नले पवनलाई रोक्यो ।
उसले बुझ्यो, विश्वासघात सधैँ शारीरिक सम्बन्धबाट मात्र सुरु हुँदैन । कहिलेकाहीँ मनमा लुकाइएका अपेक्षा, गोप्य संवाद र अर्को व्यक्तिप्रतिको बढ्दो भावनात्मक निर्भरता पनि सम्बन्धलाई प्रभावित गर्न सक्छन् ।
तर, ऊ आफ्नो भावनालाई गलत भनेर मात्र पन्छाउन पनि सकिरहेको थिएन ।
‘के विवाह भएपछि प्रेम गर्ने क्षमता समाप्त हुन्छ ? के मानिसको मनमा अर्को व्यक्तिप्रति आत्मीयता जन्मिनै हुँदैन ?’ उसले फेरि सोच्यो ।
‘जन्मिन सक्छ,’ उसको मनले जवाफ दियो, ‘तर त्यसलाई कसरी व्यवहारमा उतार्ने भन्ने कुरा नैतिकताको प्रश्न हो ।’
प्रतीक्षासँगको एउटा गम्भीर संवाद
केही दिनपछि उनीहरूबीच फोनमा लामो संवाद भयो । त्यस दिन पवन सामान्यभन्दा बढी भावुक थियो ।
‘प्रतीक्षा, तपाईंलाई एउटा कुरा भन्न मन लागेको छ ।’
‘भन्नुहोस् ।’
‘तपाईंलाई मसँग कुरा गर्न मन लाग्छ ?’
‘लाग्छ ।’
‘किन ?’
‘तपाईंले कुरा सुन्नुहुन्छ । मेरो कुरा बीचमै काट्नुहुन्न । कहिलेकाहीँ असहमत भए पनि मेरो विचारलाई सम्मान गर्नुहुन्छ ।’
‘त्यति मात्र हो ?’
‘अनि के हुनुपर्यो ?’
‘थाहा छैन । तपाईंको मनमा मप्रति के छ भन्ने जान्न मन लाग्छ ।’
प्रतीक्षा केही बेर मौन रही ।
‘पवन, तपाईं कहिलेकाहीँ धेरै प्रश्न गर्नुहुन्छ ।’
‘किनकि म तपाईंलाई बुझ्न चाहन्छु ।’
‘म आफैँलाई पूर्ण रूपमा बुझ्न सकेकी छैन । तपाईंलाई कसरी बुझाऊँ ?’
‘के कुरामा अन्योल छ ?’
‘तपाईंको उपस्थिति मलाई राम्रो लाग्छ । तपाईंको सन्देश आउँदा खुसी लाग्छ । तपाईंले केही दिन कुरा नगर्दा सम्झना आउँछ । तर, मेरो जीवनको अर्को पाटो पनि छ । म एउटी श्रीमती हुँ, आमा हुँ, परिवारकी सदस्य हुँ । मेरा सम्बन्ध र जिम्मेवारी छन् ।’
‘म ती कुरा बुझ्छु ।’
‘बुझ्नु मात्र पर्याप्त हुँदैन । व्यवहारमा पनि त्यसको सम्मान गर्नुपर्छ ।’
पवनले गम्भीर हुँदै भन्यो, ‘म तपाईंलाई अप्ठ्यारोमा पार्न चाहन्नँ ।’
‘त्यसो भए हामीले आफ्नो सम्बन्धलाई के नाम दिने ?’
‘मलाई नामभन्दा पनि यसको आत्मीयता महत्त्वपूर्ण लाग्छ ।’
‘नाम नदिएको सम्बन्ध सधैँ सजिलो हुन्छ र ?’
पवनले जवाफ दिन सकेन ।
प्रतीक्षाले फेरि भनी, ‘तपाईंले मलाई धेरै कुरा सुनाउनुहुन्छ । म पनि आफ्ना कुरा सुनाउँछु । तर, हामीले यो बुझ्नुपर्छ कि हाम्रो संवादले कसैको जीवनमा अनावश्यक पीडा जन्माउनु हुँदैन ।’
‘म सहमत छु ।’
‘अनि अर्को कुरा, तपाईं कहिलेकाहीँ आफ्नो भावना व्यक्त गर्दा धेरै अगाडि पुग्नुहुन्छ । म तपाईंलाई अस्वीकार गर्न चाहन्नँ, तर तपाईंले मेरो मौनतालाई पनि सहमति ठान्नु हुँदैन ।’
पवनले उसको कुरा गम्भीरतापूर्वक सुन्यो ।
‘तपाईंले ठीक भन्नुभयो । म कहिलेकाहीँ आफ्नै भावनामा बग्छु । त्यसका लागि म सचेत रहनेछु ।’
‘म पनि तपाईंलाई गलत बुझ्न चाहन्नँ । तपाईंको आत्मीयता राम्रो लाग्छ । तर, त्यसलाई जोगाउन हामी दुवैले समझदारी अपनाउनुपर्छ ।’
फोन काटिएपछि पवन धेरै बेर मौन बस्यो । प्रतीक्षाले उसलाई नजिक पनि ल्याएकी थिई र उसको अगाडि एउटा स्पष्ट प्रश्न पनि राखिदिएकी थिई ।
प्रेम कि निर्भरता ?
त्यस रात पवनले धेरै बेर निदाउन सकेन । उसले आफ्नो मनलाई व्यवस्थित गर्ने प्रयास गर्यो ।
प्रतीक्षाप्रति उसको आकर्षण गहिरो थियो । तर, के त्यो प्रेम थियो ? प्रेम हो भने त्यसमा जिम्मेवारी कहाँ थियो ? प्रेम हो भने उसले प्रतीक्षाको स्वतन्त्रता र वैवाहिक जीवनको सम्मान कसरी गर्ने ? प्रेम हो भने आफ्नी श्रीमतीप्रतिको प्रतिबद्धता कहाँ राख्ने ?
उसलाई कहिलेकाहीँ लाग्थ्यो, प्रेमको कुनै निश्चित उमेर हुँदैन, कुनै निश्चित अवस्था हुँदैन । मानिसको मनमा जुनसुकै समयमा कसैप्रति आकर्षण जन्मिन सक्छ । विवाहले मनका सबै भावना नियन्त्रण गर्न सक्दैन ।
तर, उसले अर्को कुरा पनि बुझ्न थालेको थियो । भावना जन्मिनु आफ्नो नियन्त्रणमा नहुन सक्छ, तर त्यसअनुसार व्यवहार गर्नु भने आफ्नो निर्णय हो ।
उसले प्रतीक्षालाई प्रेम गर्छु भन्न चाहन्थ्यो । धेरैपटक फोन गरेर यही वाक्य बोल्ने सोच बनाएको थियो । तर, हरेकपटक उसले आफ्नी श्रीमतीको अनुहार सम्झिन्थ्यो । छोराको भविष्य सम्झिन्थ्यो । प्रतीक्षाका श्रीमान् र छोरी सम्झिन्थ्यो ।
‘के मेरो प्रेमले उनीहरूको जीवनमा कुनै असर पार्नु हुँदैन ?’ उसले सोच्थ्यो ।
फेरि अर्को विचार आउँथ्यो, ‘के म प्रतीक्षालाई आफ्नो जीवनबाट पूर्ण रूपमा हटाउन सक्छु ?’
यो प्रश्नको उत्तर पनि ऊसँग थिएन ।
प्रतीक्षाको प्रतीक्षा
एक दिन पवनले जानाजानी प्रतीक्षालाई सन्देश गरेन । बिहान विद्यालय गयो । कक्षा पढायो । सहकर्मीसँग छलफल गर्यो । त्यसपछि समाचार सम्पादनमा लाग्यो । दिउँसो बैठकमा सहभागी भयो । दिनभर काममा व्यस्त रह्यो ।
तर, मोबाइलमा पटकपटक आँखा पुगिरह्यो ।
उसले प्रतीक्षालाई सन्देश नगर्ने निर्णय गरेको थियो । आफूले मात्र सधैँ संवाद सुरु गर्नु ठीक होइन भन्ने लागिरहेको थियो । प्रतीक्षालाई पनि कुरा गर्न मन लाग्छ भने उसले आफैँ सन्देश गर्ली भन्ने अपेक्षा थियो ।
बेलुका घर फर्कँदासम्म पनि कुनै सन्देश आएको थिएन ।
उसले मोबाइल खोलेर प्रतीक्षाको नाम हेर्यो । कुनै नयाँ सन्देश थिएन ।
‘सायद ऊ व्यस्त होली,’ उसले आफैँलाई भन्यो ।
राति खाना खाएपछि पनि उसले मोबाइल हेरिरह्यो । अन्ततः सुत्नुअघि एउटा सन्देश आयो ।
‘आज त निकै व्यस्त हुनुहुन्छ कि क्या हो ?’
पवनको अनुहारमा मुस्कान आयो । उसले तत्काल जवाफ दियो ।
‘किन ? आज मेरो याद आयो ?’
‘आज त तपाईंको कुनै खबर नै आएन ।’
‘मैले सोचेँ, तपाईं व्यस्त हुनुहुन्छ होला ।’
‘व्यस्त त हुन्छु । तर, त्यसको अर्थ कुरा गर्न मन लाग्दैन भन्ने होइन ।’
पवनले त्यो सन्देश पढेर केही बेर मोबाइल हेरिरह्यो ।
‘त्यसो भए तपाईंले पनि कहिलेकाहीँ आफैँ सम्झिन सक्नुहुन्छ नि,’ उसले लेख्यो ।
‘मलाई सधैँ सम्झाउने काम तपाईंको हो र ?’
‘होइन । तर, तपाईंले सम्झिँदा राम्रो लाग्छ ।’
‘तपाईंलाई धेरै कुरा राम्रो लाग्छन् ।’
‘तपाईंका कुरा त झन् धेरै ।’
दुवै हाँसे ।
त्यो संवादपछि पवनले एउटा कुरा महसुस गर्यो । प्रतीक्षाले पनि उसलाई सम्झिँदी रहिछे । तर, उसको सम्झनालाई आफूले चाहेअनुसारको अर्थ दिनु हुँदैन । उसले आफूलाई मन पर्ने मानिससँग आत्मीयता महसुस गर्नु र आफ्नो जीवनका सबै निर्णय बदल्नु एउटै कुरा होइन भन्ने बुझ्नुपर्ने थियो ।
सम्बन्धको भविष्य
समय बित्दै गयो । उनीहरूबीच दैनिकजसो संवाद भइरह्यो । कहिले बिहानको अभिवादन, कहिले दिउँसोको हालखबर, कहिले रातिको लामो फोन । उनीहरूले एकअर्काका काम, परिवार, रुचि, सामाजिक विषय र व्यक्तिगत अनुभवबारे कुरा गर्थे ।
पवनले प्रतीक्षालाई आफ्ना लेखका विषय सुनाउँथ्यो । कुनै समाचारको शीर्षकमा उसको राय माग्थ्यो । प्रतीक्षाले पनि आफ्नो विचार राख्थी । कहिलेकाहीँ पवनले कुनै कुरा लेख्नुअघि उसलाई पढ्न दिन्थ्यो । प्रतीक्षाले सुझाव दिन्थी । पवन ती सुझावलाई ध्यानपूर्वक सुन्थ्यो ।
‘तपाईंको एउटा विशेषता छ,’ पवनले एक दिन भन्यो ।
‘के ?’
‘तपाईं सानो कुरामा पनि फरक दृष्टिकोण दिनुहुन्छ ।’
‘त्यसो भए मसँग कुरा गरेर तपाईंको ज्ञान बढिरहेको छ ?’
‘ज्ञानभन्दा पनि सोच्ने तरिका फराकिलो भइरहेको छ ।’
‘यति धेरै प्रशंसा नगर्नुहोस् ।’
‘प्रशंसा होइन, अनुभव हो ।’
प्रतीक्षाले हाँस्दै भनी, ‘तपाईंलाई कहिलेकाहीँ धेरै गम्भीर कुरा गर्न मन लाग्छ, कहिलेकाहीँ बच्चाजस्तो कुरा गर्नुहुन्छ ।’
‘तपाईंको अगाडि म दुवै हुन पाउँछु ।’
‘किन ?’
‘किनकि तपाईंले दुवै अवस्थालाई स्वीकार गर्नुहुन्छ जस्तो लाग्छ ।’
प्रतीक्षाले केही बेरपछि भनी, ‘मानिसले कसैसँग सहज महसुस गर्नु राम्रो कुरा हो । तर, सहजता र निर्भरता एउटै होइनन् है ।’
पवनले त्यो वाक्य फेरि सम्झियो ।
उसलाई साँच्चै प्रतीक्षाको बानी परेको थियो । तर, के त्यो बानी स्वस्थ थियो ? ऊ काममा हुँदा पनि उसको सन्देश खोज्थ्यो । जवाफ नआउँदा मन खिन्न हुन्थ्यो । प्रतीक्षाले व्यस्तताको कुरा गर्दा पनि उसलाई कहिलेकाहीँ निराशा हुन्थ्यो । यो सबै सामान्य आत्मीयता मात्र थिएन । यसमा भावनात्मक निर्भरता मिसिन थालेको थियो ।
उसले सोच्यो, ‘म प्रतीक्षालाई माया गर्छु भने उसको समय र स्वतन्त्रताको पनि सम्मान गर्नुपर्छ । उसले मलाई सन्देश नगरेको दिन म असन्तुष्ट हुनु हुँदैन । उसको आफ्नै जीवन छ ।’
तर, अर्को प्रश्न पनि थियो ।
‘के प्रतीक्षाले पनि मलाई आफ्नै जीवनको एउटा विशेष स्थानमा राखेकी छे ?’
उसले एक दिन फेरि सोध्यो ।
‘प्रतीक्षा, हाम्रो सम्बन्ध भविष्यमा कहाँ पुग्ला जस्तो लाग्छ ?’
‘तपाईंलाई कहाँ पुर्याउन मन छ ?’
‘मलाई त तपाईं सधैँ नजिक रहनुहोस् भन्ने लाग्छ ।’
‘नजिक हुनु भनेको के हो ? हरेक दिन कुरा गर्नु ? सधैँ भेट्नु ? कि एकअर्काको मनमा रहनु ?’
‘सायद यी सबै ।’
‘सबै कुरा चाहनु सजिलो हुन्छ, पवन । तर, सबै कुरा सम्भव हुँदैन ।’
‘तपाईंलाई हाम्रो संवाद रोकियोस् भन्ने लाग्छ ?’
‘त्यस्तो भनेकी छैन । तर, संवादलाई जीवनको सबैभन्दा ठूलो आवश्यकता बनाउनु पनि ठीक होइन ।’
‘मलाई तपाईंको कुरा बुझ्न गाह्रो हुन्छ कहिलेकाहीँ ।’
‘किनकि तपाईं आफ्नो मनले चाहेको उत्तर खोज्नुहुन्छ । म चाहिँ हाम्रो अवस्थालाई पनि हेर्न खोज्छु ।’
पवन केही बेर मौन रह्यो ।
‘त्यसो भए तपाईंलाई मप्रति कुनै भावना छैन ?’
प्रतीक्षाले लामो सास फेरी ।
‘मैले तपाईंलाई त्यसो भनेकी छैन । तपाईंको आत्मीयता मलाई राम्रो लाग्छ । तपाईंको कुरा सुन्न मन पर्छ । तपाईंको सन्देश आउँदा खुसी पनि लाग्छ । तर, भावनाको नाम दिएर हामीले के गर्ने भन्ने प्रश्न अझै बाँकी छ ।’
पवनले त्यो उत्तरलाई सहजै स्वीकार गर्न सकेन । तर, उसले प्रतीक्षाको अवस्थालाई बुझ्ने प्रयास गर्यो ।
पवनको निर्णय
त्यस रात पवनले आफ्नी श्रीमती र छोरालाई हेर्यो । छोरा कुनै कुरा सुनाउँदै थियो । श्रीमती उसको कुरा सुन्दै मुस्कुराइरहेकी थिइन् । पवन पनि उनीहरूसँग हाँस्यो । उसलाई आफ्नो परिवारप्रतिको माया महसुस भयो ।
त्यसपछि ऊ आफ्नो कार्यकक्षमा गयो । मोबाइल खोलेर प्रतीक्षाको सन्देश हेर्यो । उसले केही लेख्न खोज्यो । तर, रोकियो ।
उसले मनमनै भन्यो, ‘मलाई प्रतीक्षा मन पर्छ । उसको कुरा सुन्न मन लाग्छ । उसको सम्झनाले खुसी दिन्छ । तर, उसलाई मन पराउनुको अर्थ उसको जीवनमा आफ्नो अधिकार खोज्नु होइन ।’
उसले अर्को कुरा पनि सोच्यो, ‘मलाई मेरी श्रीमतीको माया र साथको मूल्य थाहा छ । मैले उसको विश्वासलाई कमजोर बनाउने व्यवहार गर्नु हुँदैन । प्रतीक्षाको पनि आफ्नै परिवार छ । उसको जीवनमा अनावश्यक तनाव थप्ने अधिकार मलाई छैन ।’
उसले सम्बन्धलाई समाप्त गर्ने निर्णय गरेको थिएन । तर, यसलाई जस्तोसुकै दिशामा बग्न दिने पनि निर्णय गरेन । उसले आफूलाई केही नियम बनाउनुपर्ने ठान्यो । प्रतीक्षाको समयको सम्मान गर्ने, अनावश्यक रूपमा बारम्बार सन्देश नगर्ने, उसको मौनतालाई गलत अर्थ नलगाउने, भावनात्मक दबाब नदिने र आफ्नो पारिवारिक जीवनलाई बेवास्ता नगर्ने ।
उसलाई थाहा थियो, मनलाई एकैपटक नियन्त्रण गर्न सकिँदैन । तर, व्यवहारलाई सचेत बनाउन सकिन्छ ।
भोलिपल्ट बिहान उसले प्रतीक्षालाई सन्देश पठायो ।
‘शुभप्रभात । तपाईंको दिन राम्रो रहोस् ।’
प्रतीक्षाको जवाफ आयो ।
‘शुभप्रभात । आज अलि शान्त हुनुहुन्छ कि क्या हो ?’
‘किन ?’
‘आजभोलि तपाईं धेरै सोच्न थाल्नुभएको जस्तो लाग्छ ।’
पवन मुस्कुरायो ।
‘हो, केही कुरा सोचिरहेको छु ।’
‘के कुरा ?’
‘हाम्रो सम्बन्धबारे ।’
प्रतीक्षाले केही बेरपछि लेखी, ‘सोच्नु राम्रो हो । सम्बन्ध जोगाउन भावना मात्र पर्याप्त हुँदैन । समझदारी पनि चाहिन्छ ।’
‘म सहमत छु ।’
‘अनि आफ्नो ख्याल राख्नुहोस् । काममा धेरै नडुब्नुहोला ।’
पवनले जवाफ दियो, ‘तपाईं पनि आफ्नो ख्याल राख्नुहोस् ।’
उसले मोबाइल टेबलमा राख्यो । आज उसलाई प्रतीक्षासँग कुरा गर्न मन त अझै थियो । फोन गर्न पनि मन थियो । तर, उसले आफ्नो मनको हरेक चाहनालाई तत्काल पूरा गर्नैपर्छ भन्ने सोचबाट बाहिर निस्कने प्रयास गरिरहेको थियो ।
उसले बुझ्न थालेको थियो, कसैलाई प्रेम गर्नु भनेको उसलाई आफ्नो बनाउनु मात्र होइन । कहिलेकाहीँ उसको जीवन, उसको परिवार, उसको स्वतन्त्रता र उसको निर्णयको सम्मान गर्नु पनि हो ।
तर, यस बुझाइले उसको मनबाट प्रतीक्षाको सम्झना हटेको थिएन ।
विद्यालय जाँदा बाटोमा, कक्षाकोठामा पढाउँदा, समाचार लेख्दा र साँझ घर फर्किँदा पनि उसको मनमा प्रतीक्षा आइरहन्थी । उसले प्रतीक्षालाई सम्झिन छाडेको थिएन । बरु अब उसले आफ्नो सम्झनालाई कसरी व्यवस्थित गर्ने भन्ने सिक्न खोजिरहेको थियो ।
कहिलेकाहीँ ऊ सोच्थ्यो, ‘के यो प्रेम हो ?’
अनि आफैँ उत्तर दिन्थ्यो, ‘सायद हो । तर, प्रेमको अनुभूति हुनु र प्रेमको नाममा सबै सीमा पार गर्नु एउटै कुरा होइन ।’
उसको मनमा अझै एउटा अपूरो प्रश्न बाँकी थियो ।
‘के प्रतीक्षाले पनि आफ्नो मनको कुनै कुनामा मलाई त्यस्तै स्थान दिएकी छे ?’
यो प्रश्नको उत्तर उसले कहिल्यै पूर्ण रूपमा पाउने थिएन होला । तर, प्रतीक्षासँगको संवादमा उसले पाउने आत्मीयता, कहिलेकाहीँ आउने उसको सानो सन्देश र उसको आवाजमा सुनिने सहजताले पवनलाई फेरि त्यही सम्बन्धतिर तानिरहन्थ्यो ।
उसले मोबाइल उठायो । प्रतीक्षाको नाम हेर्यो । सन्देश लेख्न मन लाग्यो ।
‘प्रतीक्षा, म तपाईंलाई धेरै सम्झिरहेको छु ।’
उसले केही बेर त्यो वाक्य हेर्यो । त्यसपछि मेटायो ।
अनि सामान्य सन्देश लेख्यो ।
‘आजको काम कस्तो हुँदै छ ?’
सन्देश पठाएपछि ऊ मुस्कुरायो ।
सायद पवनको जीवनमा प्रतीक्षा अब एउटा नाम मात्र रहेकी थिइन । ऊ उसको दैनिक जीवनको एउटा बानी, मनको एउटा प्रश्न र भावनाको एउटा अपूरो अध्याय बनिसकेकी थिई ।
तर, त्यो अध्याय कसरी अगाडि बढ्ने हो भन्ने कुरा अझै निश्चित थिएन । पवनलाई यति मात्र थाहा थियो– प्रतीक्षाप्रतिको उसको आकर्षण गहिरिँदै गएको थियो, र त्यहीसँगै आफ्नो जिम्मेवारीप्रतिको चेतना पनि उसलाई झन् धेरै सताउन थालेको थियो ।
मनले प्रतीक्षालाई खोज्थ्यो । विवेकले उसलाई रोक्थ्यो । अनि पवन यी दुई आवाजको बीचमा आफ्नो बाटो खोजिरहेको थियो ।
