जीवन र जगतका कतिपय पक्षहरुका बारेमा वेदमा सूक्ष्म चिन्तन पाइन्छ

अमर गिरी
प्राज्ञ, नेपाल प्रज्ञा प्रतिष्ठान

नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग प्रमुख प्राज्ञ अमर गिरी दशैंसँग जोडिएका मिथक र रुढीहरुलाई छोड्दै यसलाई भेटघाट, आपसी एकता निर्माण र सद्भाव विकासको सांस्कृतिक चाडका रुपमा विकास गर्न सक्दा राम्रो हुने बताउनुहुन्छ । चाडपर्वहरुमा परिवर्तन वा सांस्कृतिक रुपान्तरण जनतासँग धेरै टाढिएर सम्भव नहुने र त्यो एकाएक नहुने उहाँको भनाई छ । चाडपर्व र धर्मप्रति माक्र्सवादीहरुको बुझाइ, चाडपर्वका नाममा भएका विसंगति र परिवर्तनका लागि सचेत वर्गको पहलकदमीलगायतका विषयमा केन्द्रित भएर चेतना अनलाइनका सम्पादक पाण्डव शर्माले गरेको कुराकानी । 

दशैं कसरी मनाउनु भयो ?

साथीभाई तथा आफन्तहरुसँग भेटघाट गरेर दशैं मनाएँ । विभिन्न कार्यक्रमहरुमा सहभागी भएँ । समग्रमा मेरो दशै रमाइलोसँग बित्यो ।

तपाईंको बुझाइमा दशैं के हो ?

दशैं हिन्दूहरुको ठूलो चाड हो । सयौं वर्षदेखि नेपाली समाजमा दशैं मनाउँदै आइएको छ । दशैसँग धर्म पनि गाँसिएको छ । तर, यसको सांस्कृतिक पक्ष नै सबैभन्दा महत्वपूर्ण रहेको छ । संस्कृतिको एउटा विशेषता परिवर्तनशीलता पनि हो । संस्कृति स्थिर रहँदैन । यो विस्तारै बदलिदै जान्छ । यसलाई बदल्नु पनि पर्छ । संस्कृतिका राम्रा पक्षहरुलाई बचाउँदै अगाडि बढ्ने समाज नै सांस्कृतिक दृष्टिले मात्र समृद्ध हुँदैन सबै दृष्टिले समृद्ध हुन्छ ।

दशैं मनाइरहँदाखेरि दशैंका कयौं पक्षहरुमा विचार गर्न र त्यसलाई परिवर्तन गर्न जरुरी छ । यससँग जोडिएको मिथक, यससँग जोडिएका कैंयौं रुढीहरुलाई छोड्दै दशैंलाई भेटघाट, आपसी एकताको निर्माण र सद्भावको विकासको सांस्कृतिक चाडका रुपमा विकास गर्न सक्दा राम्रो हुन्छ भन्ने लाग्छ ।

दशैंमा आज उपभोक्तावादी चिन्तनको छाप पनि जब्बर रुपमा परेको पाइन्छ । दशैंमा असाध्यै तडकभडक प्रदर्शन गर्ने, फजुल खर्च गर्न प्रवृत्ति बढेर गएको छ । यसलाई हटाउन आवश्यक छ । सामान्य र रचनात्मक ढंगले दशैंजस्तो चाडलाई मनाउन सक्दा राम्रो हुन्छ ।

तपाई माक्र्सवादीहरु सधैं समाजमा चल्दै आएका सबैखाले निरन्तरताको विरोध गर्नुहुन्छ । धेरैले यसलाई धर्मसँग पनि जोड्छन् । तपाईंहरु यसलाई किन फरक देख्नुहुन्छ ?

दशैं धर्मसँग पनि जोडिएको छ । दशैं चाडमा धार्मिक दृष्टिकोण अनुरुप कैयौं कुराहरु आएका छन् । यस चाडमा हिन्दू धर्मको गाढा प्रभाव हामी देख्न सक्छौं । तर, सांस्कृतिक पक्ष पनि यस चाडसँग जोडिएको छ । त्यसैले मैले धर्म र संस्कृतिका कुरा दशैंजस्ता चाडहरुका धार्मिक र सांस्कृतिक रुपमा जोडिएका छन् भनेको हुँ । धर्म र संस्कृति एउटै होइन । धर्म र संस्कृतिलाई समान ठान्नु र व्याख्या गर्नु गलत हुन्छ । संस्कृति बढी जीवनका विभिन्न पक्ष र क्रियाकलापसँग जोडिन्छ । संस्कृतिका भौतिक र आत्मिक पक्षहरु हुन्छन् । धर्मको सम्बन्ध ईश्वर, रहस्य, कर्मकाण्ड आदिसँग बढी रहेको छ । माक्र्सवादीहरु भौतिकवादमा विश्वास गर्ने भएकाले इश्वरीय सत्तालाई उनीहरु मान्दैनन् । धर्मप्रति उनीहरुको आलोचनात्मक दृष्टिकोण रहन्छ । र, उनीहरु आफूलाई धर्मदेखि अलग राख्दछन् ।

यही कुरो संस्कृतिको सन्दर्भमा उनीहरु गर्दैनन् । संस्कृतिको व्याख्या गर्दा उनीहरु संस्कृतिका राम्रा पक्षहरुलाई ग्रहण गर्दै अगाडि बढ्नुपर्छ भन्छन् । प्रत्येक संस्कृतिभित्र उज्याला पक्षहरु पनि हुन्छन् । संस्कृतिमा अँध्यारा पक्षहरु मात्र भन्नु संस्कृतिलाई ठिक ढंगले नबुझ्नु हो । संस्कृतिका राम्रा पक्षहरुलाई जोगाउनु र अझ राम्रो संस्कृतिको विकास गर्नु माक्र्सवादीहरुको दायित्व हो । संस्कृति आम जनतासँग जोडिएको हुन्छ । आम जनतासँग जोडिएको संस्कृतिलाई जोगाउँदै अगाडि बढ्न यसका नराम्रा पक्षहरुको परिवर्तन आवश्यक हुन्छ ।

दशैंका पनि राम्रा पक्षहरु छन् । दशैंका अवसरमा मानिसहरु आपसमा भेटघाट गर्छन् । शुभकामना आदानप्रदान गर्छन् । अग्रजहरुबाट आशिर्वाद लिन्छन् । बर्षौसम्म भेट नभएका परिवारका सदस्य एक ठाउँमा भेला हुन्छन् । यसले मानिसहरुमा आशा उत्साहनको संचार हुन्छ । यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ । जनताले सयौं वर्षदेखि मनाउँदै आएको दशैंजस्तो चाडलाई माक्र्सवादीहरुले पूरै बहिस्कार गरेर जानुपर्छ भन्ने दृष्टिकोण उपर्युक्त हो भन्ने मलाई लाग्दैन ।

चाडपर्वहरुमा परिवर्तन वा सांस्कृतिक रुपान्तरण जनतासँग धेरै टाढिएर सम्भव हुँदैन । यसको तात्पर्य माक्र्सवादीहरु चाडपर्वहरुको धार्मिक पक्षलाई यसका कैयौं रुढीहरुलाई मानेर अगाडि बढ्नुपर्छ भन्ने होइन । चाडपर्वहरुमा परिवर्तन अपेक्षाकृत ढिलो हुन्छ । माक्र्सवादी आन्दोलनले सांस्कृतिक आन्दोलनको बारेमा विमर्श गरिरहँदा यस विषयलाई हेक्का राख्न जरुरी छ । जनताभन्दा टाढै कुनै टापुमा बसेर समाज फेर्न सकिन्छ भन्ने लाग्दैन । दशैं मनाउनु पनि पर्छ तर, यसका धार्मिक र रुढीजन्य पक्षहरुप्रति आलोचनात्मक हुँदै र छोड्दै अगाडि बढ्नुपर्छ ।

तपाईंको बुझाइमा धर्म के हो ?

तपाईले सोधेको प्रश्नको उत्तर छोटोमा सम्भव छैन । धर्म के हो भन्ने विषयलाई स्पष्ट गर्न अलि लामो व्याख्याको जरुरत पर्छ । सभ्यताको विकासको प्रारम्भिक चरणमा धर्मको अर्थ आज जस्तो थिएन । आज धर्म भन्नाले मूलतः मानिसहरुको ईश्वरप्रतिको आस्था भन्ने बोध हुन्छ । सबै धर्महरुमा ईश्वरको सर्वोच्च र केन्द्रीय स्थान छ । जीवन र जगतसम्बन्धी आफ्नो व्याख्या छ । त्यो व्याख्या रहस्यवादी छ । सम्पूर्ण सृष्टिको रचनाकर्ताका रुपमा पालनकर्ताका रुपमा, सम्भारकर्ताका रुपमा ईश्वरलाई मानिन्छ । सबै धर्ममा ईश्वर परम शक्ति हो, जे हो सबै थोक ईश्वर हो । ईश्वर भन्दा माथि कोही छैन, केही छैन । आज संसारमा जति पनि धर्महरु छन् । ती सबै धर्महरु यहि मियोमा अडिएर संसारमा अस्त्विमा रहेका छन् ।

माक्र्सवादीहरुले समाज विकासको एक खास चरणमा धर्मको विकास भएको ठान्छन् । यसको सम्बन्ध मनुष्यको आदिम चेतनासँग देख्छन् । धर्म तथ्य र तर्कमा भन्दा बढी विश्वासमा बाँचेको छ । त्यसैले माक्र्सवादीहरुले धर्मको निरन्तर आलोचना गर्दै आएका छन् ।

माक्र्सले धर्मको आलोचना गर्ने क्रममा यसलाई अफिमको संज्ञा पनि दिएका छन् । धर्मले समग्र परिवर्तनको प्रकृयामा व्यवधान खडा गर्छ भन्ने दृष्टिकोण माक्र्सवादीहरुको रहँदै आएको छ । तर पनि धर्म आम मानिससँग जोडिएका कारण माक्र्सवादीहरुले धर्मलाई गम्भीरतापूर्वक लिन्छन् र जनताको भावनामा चोट पुग्ने गरी जानु हुँदैन भन्छन् । समाज परिवर्तनको प्रक्रियामा विस्तारै धार्मिक चेतनामा पनि परिवर्तन आउँदै जान्छ भन्ने विश्वास माक्र्सवादीहरुको रहेको छ । माक्र्सवादीहरु धर्मसम्बन्धी बहसलाई मैत्रीपूर्ण रुपमा अगाडि बढाउन चाहन्छन् । तर, उनीहरु धार्मिक अतिवादका विरुद्ध सशक्त रुपमा उभिनुपर्छ भन्छन् ।

माक्र्सवाद तयार नहुँदै धेरै धर्म ग्रन्थहरु पनि बनेका थिए । तपाईंको दृष्टिकोणमा वेद के हो ?

वेदहरुलाई प्राचीन ग्रन्थका रुपमा लिइन्छ । विद् धातुबाट वेद बनेको छ । यसको अर्थ ज्ञान भन्ने हुन्छ । ज्ञानका कुरा भएकै कारणले त्यस्ता ग्रन्थहरुलाई वेद भनिएको हो । ऋग्वेदमा भारतीय चिन्तन परम्पराको प्रारम्भिक रुप पाइन्छ । ऋग्वेदमा प्रकृतिले महत्वपूर्ण स्थान राखेको छ । देवताहरु प्रकृतिसँग सम्बन्धित छन् तर, त्यसपछिका वेदहरुमा कैयौं कुराहरु भिन्न ढंगले विकास भएर आएका छन् । वेदहरुको रचना एउटै समयमा नभएर विभिन्न समयमा भएको छ र तीनले आ–आफ्नो समयको विचारको दृष्टिकोणको प्रतिनिधित्व गरेका छन् ।

समग्रमा भन्नुपर्दा वेदहरुमा आध्यात्मिक चिन्तनको केन्द्रीयता पाइन्छ । जीवन र जगतलाई हेर्ने आध्यात्मिक दृष्टिकोण हामी वेदहरुमा प्राप्त गर्छौं । माक्र्सवादीहरुले वेदलाई आलोचनात्मक रुपमा हेर्दछन् र तात्कालीन समाजको विकासको अवस्थासँग दाँजेर अध्ययन गर्दछन् । वेदका कैयौं कुराहरु आज पनि मानवजातिका निम्ति महत्वपूर्ण रहेका छन् । वेदले तात्कालीन समाजको चिन्तनको अवस्था कस्तो थियो भनेर बुझ्नको लागि हामीलाई मद्दत गर्दछन् ।

वेद सार तत्वलाई पकडेर उपनिषदहरुको रचना भएको पाइन्छ । उपनिषदमा आध्यात्मिक चिन्तनको अझ बढी विस्तार भएको हामी पाउँछौं । समग्रमा वेदजस्ता रचनाहरुलाई माक्र्सवादीहरुले आलोचनात्मक ढंगले हेर्नुपर्छ ।

अहिले पनि नासाका वैज्ञानिकहरु वेदमा भएका केही कुराहरुलाई हेरेर नयाँ प्रविधिको विकास गरिरहेका छन् भनिन्छ तर, तपाईले वेद तत्कालीन समाजको चिन्तन हो भन्नुभयो । वेद त निकै दूरगामी देखिन्छ त ?

वेदका बारेमा असाध्यै बढाइँ चढाइँ गरेर भन्ने गरिन्छ । तर, यो उपर्युक्त हो भन्ने मलाई लाग्दैन । जीवन र जगतका कतिपय पक्षहरुका बारेमा वेदमा सूक्ष्म चिन्तन पाइन्छ । वैज्ञानिकहरुले सूक्ष्म चिन्तनको संकेतलाई पक्रन सक्छन् । तर, यस आधारमा वेदमा सबै कुरा छ भन्नु गलत हुन्छ । यस्तो दृष्टिकोण नै अवैज्ञानिक दृष्टिकोण हो ।