‘हातका मैला’ देखि पैसाको साम्राज्यसम्म

विपिन आचार्य

गुरुप्रसाद मैनालीको ’छिमेकी’ कथा कक्षा ६ को पाठ्यक्रममा पनि थियो । पछि यही कथा प्रमाणपत्र तहको पहिलो वर्षको पाठ्यक्रममा पनि दोहोर्याउनु पर्यो । यो त हामिले ६ कक्षामै पढिसक्यौ नि भन्दा सरले “त्यो समयमा तिमीले कथालाई कसरी बुझ्यौ, कसरी विश्लेषण गर्यौ, के निष्कर्ष निकाल्यौ ? र आज कसरी बुझ्दैछौ आफै तुलना गरि हेर न “  भन्नुभयो ।

१) ’सादा जीवन उच्च बिचार’ भन्ने कथन सर्वप्रथम कक्षा ६ वा ७ मा पढ्दा गहिरो गरि मेरो मानसपटलमा पर्यो । त्रिभुवन जन माध्यमिक बिधालय लुहापिङ्ग सल्यानमा सत्ती मिसले हामीलाई समाजसेवी तुलसीमेहर श्रेष्ठ र दयावीर सिंह कंसाकारको जीवनी पढाउने क्रममा यो कथन बारम्बार दोहोर्याउनु हुन्थ्यो ।

दयावीर सिंह कंसाकार पहिलो स्वयंसेवी रक्तदाता हुनुका साथै राणाकालमै परोपकार सस्था स्थापना गरि थुप्रै परोपकारी कार्य गरेका थिए । उता तुलसीमेहर श्रेष्ठ भने महात्मा गान्धीको निकट रहि बसेका र उनकै सिको गर्दै चन्द्र शमशेर कै पालामा ’श्री चन्द्र कामधेनु चर्खा प्रचारक महागुठी’ स्थापनापछि स्वदेशी लुगा कपडाको प्रयोगको अभियान नै चलाए । ’गान्धी आदर्श हाइस्कुल’को स्थापनामा पनि नेतृत्व लिए । यसरी समग्रमा यी दुवैको जीवन पद्धति ’सादा जीवन उच्चविचार’ को आदर्शमा टिकेको थियो ।

२) प्राथमिक तह देखि नै ’मुनामदनको ’साग र सिस्नु खाएको बेस आनन्दी मनले’ भन्ने कथन पनि जिब्रोमा झुन्डिइरह्यो । जिब्रोमा त झुन्डियो नै मानसपटलमा पनि जीवन त सामान्य नै  हुनुपर्ने पो रहेछ, महा कविले भनेको कुरो पो हो त भन्ने लागिरह्यो ।

३) किशोर अवस्थामा हुँदै खेरि लक्ष्यवर्ती, सप्ताह, पुराणका कथा सुन्दा पण्डितले बडो जोडले के भन्थे भने –“ यो मनुष्यको चोला २ दिनको हो । लोभ, मोह, ईष्र्या केही नराखौँ । मरेर लाने केही हैन । हाम्रो भन्नु नै परमेश्वरकै त हो । हामी त खाली यो धर्तीका २ दिनका पाहुना मात्र हौँ । तेरो मेरो भन्नु बेकार हो ।“ अनि प्रवचन पछिका कीर्तन पनि त्यस्तै हुन्थे –“ यो जीवन हाम्रो कागजको पुतली, हावा आए उडाइ लान्छ जीवन हो दुई दिनको……….“, “ दायाँ छामे खालीखाली बायाँ छामे भित्तो, मरी लाने केही हैन जान्छम सबै रित्तो……।“

माथिका यी ३ प्रसङ्ग बाट माध्यमिक तह उतिर्ण गर्दा सम्म के लाग्यो भने ’सादा जीवन उच्च बिचार“ नै जिबनको आदर्श हो । तडक भडक बेकार हो ।

एसएलसी पछि उच्च शिक्षा लिन भनी बाणिज्य शास्त्र संकायमा भर्ना भइयो । त्यसपछी बिषय पिच्छे ’पैसा’ पढियो । पैसा, पैसा, पैसा अनि पैसै पैसा पढियो । पढ्ने क्रममा कलम भन्दा बढी क्याल्कुलेटर समातियो । “सादा जीवन उच्च बिचार“ हैन “उच्च जीवन उच्च बिचार“ पो हुनुपर्छ त भन्ने कुरो आयो । सादा जीवन भनेको त वृद्धि (ग्रोथ) को दुश्मन हो । त्यसैले टन्न उत्पादन गर त्यो उत्पादनलाई बेच्न भयंकर बजारिकरण (मार्केटिङ्ग) गर अनि खपत बढाउ । बजारीकरण (बिज्ञापन) यसरी गर कि त्यसले मानिसमाअत्यधिक उपभोगको भोक जगाओस र त्यो भोक पूरा गर्न उसले अतिरिक्त  श्रम गरोस अनि क्रय शक्ति बढाओस । यो चक्र जती तिब्र गतिमा घुम्छ त्यो पो राम्रो हो त । यसले रोजगारी बढाउछ, अर्थतन्त्र चलायमान बनाउछ अनि ग्राहस्थ उत्पादन (जिडिपी) बढछ । बिकास, समृद्धि भनेको यही त हो । आहा ! यो पो हो तरिका । ’सादा जिबन’भनेर बिकास बिरोधि हुनु त भएन । यसरी म “सादा जीवन उच्च बिचार“ बाट “उच्च जिबन उच्च बिचार“को अनुयायी भएँ ।

हिन्दु शास्त्र पुराण सुन्दा कथाको सुरु देखि नब्बे प्रतिशत कथामा उच्च नैतिकता हुनुपर्ने, कसैको  कुभलो गर्न नहुने, ब्यभिचार गर्यो भने पापको कुण्डमा डुबुल्की मार्नुपर्ने छ भनेर भनिन्छ । अनि अन्त्यमा के छिद्र बाकी राखिन्छ भने यदि तपाइँले पाप नै गर्नुभएको छ भने पनि त्यसको मुक्तिका पनि केहीउपाए छन । केही दान गर्नुस, रुद्री, सत्यनारायण पुजा लगाउनुस, ब्राह्मणलाई खुसी पार्ने गरि दक्षिणा दिनुस । तपाइँले गरेको पाप चैट । यसबाट त के हुने भयो भने सुरुमा जति नै अनैतिक, अधर्म, र अन्याय गरे पनीअन्तिममा दान दक्षिणा गरेपछी चोखिने भएपछी मानिसले यही चक्र दोहो¥याउने भयो । यस्तै गरि अहिलेको कर्पोरेट जगतमा पनि तपाईं जति सुकै अनैतिक काम गर्नुस त्यसको उपाए छ । सस्थागत सामाजिक उतरदायित्व (कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटि, सिएसआर ) मार्फत केही ’च्यारिटि’ गर्नुस तपाइँ पाप मुक्त हुनुहुन्छ ।

पछिल्लो ३÷४ वर्षको अबधिमा बाताबरण, पर्यावरण तर्फ केही चासो बढे पछि यो व्यापक उत्पादन र ब्यापक उपभोगको ’उपभोक्ताबादी’ अबधारणा त भयंकर डरलाग्दो पो रहे रहेछ भन्ने लाग्यो । सयुक्त राज्य अमेरिकाको प्रति ब्यक्ती कार्बन उत्सर्जन १५.५३ टन छ भने नेपालको जम्मा ०.२९ टन । (श्रोत www.worldometers.info)  (कार्बन उत्सर्जनलाई सजिलो गरि के बुझौ भने पृथ्वी तताउने, पृथ्वीको स्वास्थ बिगार्ने र पृथ्वी प्रदुषित गर्ने एक तत्व) । अर्थात ५३ जना नेपाली गर्ने कार्बन उत्सर्जन बराबर १ जना अमेरिकनले गर्छ ।

यो सबै त्यहि उपभोक्ताबादी (कन्ज्युमरिज्म) सस्कृतिको परिणाम हो । अब रोचक कुरो के भने, कार्बन उत्सर्जनले देशको सिमाना चिन्दैन रहेछ । यसले त पुरै पृथ्विकै स्वास्थ बिगार्छ । यो कार्बन उत्सर्जनको सजाय चै नेपालिको तुलनामा अमेरिकनहरुले ५३ गुणा बढी भोग्नुपर्दैन । बरु गरिबिको कारण ती समस्या सङ्ग जुध्न नसकेर नेपाली नै बढी पिडित हुने गर्छन । ती धेरै कार्बन उत्सर्जन गर्ने धनी राष्ट्रहरुले यसको असरबाट बच्न बलियो प्रतिरक्षा प्रणाली बिकास गर्दैछन तर गरिब राष्ट्र र त्यहाँका जनतालाई नखाको बिष लाग्दैछ । एकजना बयस्क मानिसको लागि बनाईने जुत्ताको कारण उत्सर्जन हुने कार्बनको तौल औसत १२.५ केजिहुने गर्छ । (श्रोतःwww.bncnews.com) . हामी उपभोग गर्ने बहुसंख्यक बस्तुको उत्पादन देखि अन्तिम उपभोग सम्मको चक्रमा कार्बन उत्सर्जन भइरहन्छ ।

धेरै फिल्म सेलिब्रेटीहरुले बडो गर्बका साथ म सङ्ग १०० जोडि जुत्ताको कलेक्सन छ भनेको सुनिन्छ । यहाँ उसले गर्ने यो अतिरिक्त र अनावश्यक उपभोगको असर त्यो सङ्ग सरोकार नै नभएको गरिब किसानले भोग्नु पर्छ । अनि हामी चै यिनै सेलिब्रेटिहरुलाई ’महानायक’’ महानायिका’ घोषणा गर्न लड्दैछौँ । यहाँ हुनेले लाउछन, खान्छन, खर्च गर्छन त किन डाह गरेको ? भनेको पनि सुनिन्छ । तर उनिहरुको यो उपभोक्ताबादी सस्कृतिले गरिब र बिपन्न मानिस नै पिडित हुने हुन अर्थात  ’नखाको बीस’लाग्ने भो । आफ्नै पैसो खर्च गरेर बस्तुको अतिरिक्त खपत गरे पनि त्यो कानुनि त हो तर पर्याबरणिय र मानबिय हिसाबले अनैतिक पनि हो ।

त्यसैले सिर्जनसिलतालाई नमार्ने, नबप्रबर्तन (इन्नोभेसन) लाई बल दिने, श्रोतको साधनको विवेकपुर्ण प्रयोग गर्ने र अनियन्त्रित, अनावश्यक उपभोगमा लगाम लगाउने सर्तमा म फेरि उही पुरानै ’सादा जीवन उच्च बिचार’ भन्ने कथन मै फर्किए ।

म फेरि कुनै दिन पुरानै ’उच्च जीवन उच्चविचार’ को कथनमा फर्किने दिन पनिआउला त ?

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *