अबको कृषि क्रान्ति तपाइँ हामी युवाको काँधमा छ

वर्तमान अबस्थामा विश्व कोरोना (कोभिड(१९) को शिकार हुन पुगेको छ । हामी पनि त्यो बाट अछुतो नहुने कुरै भएन। कहिले खुकुलो र कहिले कडा गर्दै नेपालमा पनि २०७६ चैत्र ११ देखि लकडाउन छ । लकडाउनकै कारण अर्थ व्यवस्था तहसनहस छ । कोरोनाको भविष्यको बारेमा कोही पनि जानकार छैनन् ।

बेरोजगारीको भयावह अवस्था आउनसक्ने आकलन गर्न सहजै सकिन्छ । वैदेशिक रोजगारीबाट स्वदेश फिर्ता हुने युवाहरूको संख्या बढिरहेको छ । वैदेशिक रोजगारीको लागि नेपालबाट जाने प्रायः युवाहरू कृषि वा निर्माण क्षेत्रमा काम गर्नको लागि गएका हुन्छन् । अहिले कोभिडका कारण फर्किएपछि बेरोजगार भएर बसेका जनशक्तिको व्यवस्थापन गर्नु सरकारको एउटा चुनौतीको कुरा हो ।

नेपाल कृषिप्रधान मुलुककै रुपमा चिनिँदै आएको भएपनि यस क्षेत्रमा कार्यरत कृषकहरु आवश्यक विभिन्न कारणहरुले गर्दा सन्तुष्ट हुन सकेका छैनन् । आवश्यक प्रविधि, पूर्वाधारको अभाव, घट्दो उत्पादकत्व, राज्यका नीतिहरुले कृषि क्षेत्रलाई राम्रो तवरले सम्बोधन गर्न नसकिनु, अनुदान तथा सुविधाहरु समानुपातिक तवरले आवश्यकता अनुसार वितरण नभई पहुँचको आधारमा वितरण गरिने परिस्थिति लगायतका कारण यस क्षेत्रबाट पछिल्लो समय जनशक्ति बाहिरिँदै गएको अवस्था छ । शैक्षिक जनशक्ति कृषि क्षेत्रमा भेट्न नै गाह्रो छ । कृषि कार्य अझै पनि कतिपय ठाउँमा महिला,बृद्धवृद्धाको भरमा चल्दै आएको अवस्था पनि छ ।

कृषि क्षेत्रलाई व्यावसायिक र बैज्ञानिक तवरले सञ्चालन गर्नुपर्छ भन्ने हामी युवाबर्ग को मान्यता हो । विदेशमा ठक्कर खाएर देश फर्केपछि कृषि कर्ममा लागेका कर्मशील युवाको कथा साच्चिकै अनुकरणीय पनि छन् । उनीहरूको देखासिकी र प्रेरणाले विदेश नगइ स्वदेशमै खेतीपाती गर्न लागेका युवा पनि छन् । युवा कृषिमा आउन थाल्नु भनेको कृषिको भविष्य नेपालमा उज्ज्वल छ भन्ने उदाहरण हो । युवाको सोच र योजनाले छोटो समयमै कृषिलाई आकर्षक क्षेत्रको रूपमा पहिचान दिनेछ र उत्तम पेसा हो भन्ने स्थापित गर्न सघाउनेछ । किनभने पुरानो पुस्ताको तुलनामा नयाँ पुस्ताले आफूलाई समयानुकूल परिवर्तन गराउन सक्छ । कृषि क्षेत्रमा उनीहरूको प्रवेशले श्रम गरेपछि सानो भइन्छ भन्ने मान्यतालाई बदल्दिन्छ । सरकारले कृषिमा लाग्ने युवालाई ७० प्रतिशत अनुदान दिने पनि भनेको छ यस आर्थिक बर्ष देखी ।

खेतीपाती पहिले निरक्षर र नपढेका मानिसले गर्ने पेसा थियो, अब विस्तारै शिक्षित तथा योग्य मानिसले गर्ने इज्जतदार पेसामा बदलिँदै गएको पनि छ । खेतीपातीमा व्यावसायिकता देखापर्न थालेको छ । युवाको व्यावसायिकताले उनीहरूलाई कुशल व्यवस्थापनतर्फ लगिरहेको छ । उनीहरूको कुशल व्यवस्थापनले शिक्षित र कर्मशील युवाहरूलाई पनि आकर्षित गरिरहेको छ । व्यावसायिक खेतीले सक्षम बजार र आवश्यक लगानी गर्न प्रोत्साहित गरिरहेको छ। कृषि र उद्योगको समन्वयले मनग्य रोजगारी सिर्जना गर्न सक्छ र यो दिगो पनि अवश्य नै हुनेछ । कुनै पनि राज्यमा समृद्धि ल्याउन सर्वप्रथम स्थानीय स्रोत(साधन, जनशक्ति, ज्ञान तथा प्रविधिलाई पहिचान गर्नुपर्छ । त्यसका साथै यी सबैलाई बढीभन्दा बढी सदुपयोग गर्नुपर्छ ।
अन्त्यमा,
हाम्रो देशको कृषि क्षेत्रमा देखिएको सबै भन्दा ठुलो चुनौती कृषिलाई निर्वाह मूलकबाट व्यवसायीकरण तर्फ लैजान नसक्नु हो । जब सम्म कृषिमा व्यापक उत्पादन हुन सक्दैन, तब सम्म कृषकले मनग्य आम्दानी गर्न सक्दैनन् र अहिलेको परिस्थितिमा सबै बस्तु पैसामा किनबेच हुने भएकाले जुन पेसामा मनग्य आम्दानी छैन, त्यस पेसामा मानिस रही रहन सक्दैन ।
देशको राजनीतिक, सामाजिक र आर्थिक विकाशका लागि, युवाहारुको भूमिका निकै नै महत्त्वपूर्ण हुन्छ । अहिलेको समयमा युवा प्रविधि सँग सामिप्यतामा छन् । त्यसै कारणले कृषि र प्रविधिलाई जोड्नका लागि युवाको प्रयोग गर्न सक्नु पर्छ । कृषिलाई आधुनिकतामा बदल्नका लागि युवा माझ कृषि क्रम लोकप्रिय हुन आवश्यक छ । अब युवालाई आधुनिक कृषि क्रान्तिको अभियन्ता बनाउन जरुरी देखिन्छ । कृषि क्षेत्रको बागडोर युवाको हातमा दिने हो भने मात्र अब कृषि क्रान्ति सम्भव देखिन्छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *