फोहोरबाट ग्याँस उत्पादनमा ढिलाइ

पाण्डव शर्मा
घोराही उपमहानगरपालिकामा फोहोरबाट ग्याँस उत्पादनमा ढिलाई भएको छ ।
गत वैशाखमा फोहोरबाट ग्याँस उत्पादन गर्ने लक्ष्य थियो । तर, लकडाउनका कारण काममा समस्या उत्पन्न भएका कारण समयमा ग्याँस उत्पादन गर्न नसकिएको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले जानकारी दिनुभयो ।

आगामी मंसिर पुस सम्मा ग्यास प्लान्ट पूरा भइसक्ने उहाँले जानकारी दिनुभयो । ‘लकडाउनले विकास निर्माणमा निकै असर गरेको छ,’ उहाँले भन्नुभयो, ‘ग्याँस प्लान्ट मात्रै होइन अन्य पूर्वाधार निर्माणको काममा पनि ढिलाई भएको छ ।
उपमहानगरपालिकाका इञ्जिनियर रामधन श्रेष्ठले घोराही उपमहानगरपालिका वडा नं १६ स्थिति करौंतिडाँडामा रहेको ल्याण्डपिलसाइडमा ग्याँस प्लान्टको काम भइरहेको छ । प्लान्टबाट जैविक फोहोरलाई ग्याँसमा रुपान्तरण गरिने छ ।

प्लान्टबाट दैनिक २८ सिलिण्डर ग्याँस उत्पादन गरिने छ,’ श्रेष्ठले भन्नुभयो, ‘बजारमा निस्कने सबै जैविक फोहोरलाई संकलन गरेर सदुपयोग गर्ने हाम्रो योजना रहेको छ ।’ ग्याँस प्लान्ट निर्माणको जिम्मा काठमाण्डौं स्थित एक निजी कम्पनीले लिएको छ । सो कम्पनीले वार्षिक कारोवारको १ प्रतिशत उपमहानगरपालिकालाई राजश्व बुझाउनुपर्ने छ ।

हामी फोहोर उत्पादन गर्नेलाई पैसा दिन चाहन्छौं ः डाँगी
घोराही उपमहानगरपालिका वडा नं १४ का अध्यक्ष एवम् फोहोर व्यवस्थापनका संयोजक शक्तिराम डाँगी फोहोर उत्पादन गर्ने उपभोक्तालाई पनि पैशा प्रदान गर्ने आफूहरुको लक्ष्य रहेको बताउनुभयो ।

जैविक फोहोर हामीले उपमहानगर वा ग्याँस उत्पादन गर्ने प्लान्टको गाडीमा उठाइने छ । नकुहुने फोहोर पनि उपभोक्ताहरुबाट उपमहानगरले खरिद गर्ने उहाँले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७६÷०७७ मा फोहोर खरिदका लागि उपमहानगरपालिकाले ७ लाख रुपैयाँ विनियोजन गरेको थियो । तर, कोही पनि फोहोर बिक्री गर्नका लागि सचेत नभएको उहाँको भनाई छ । ‘हाम्रा नगरवासीहरु उपमहानगरले फोेहोर किन्छ भन्दा पनि बिक्री गर्न तयार हुनुभएको छैन,’ उहाँले भन्नुभयो, ‘चालु आर्थिक वर्षमा पनि फोहोर खरिदका लागि बजेट विनियोजन गरिएको छ, हामी आम नगरवासीहरुलाई उपमहानगरलाई आफ्नो घरमा उत्पादन हुने फोहोर बिक्री गर्न हार्दिक अनुरोध गर्दछौं ।’

उपमहानगरपालिकाको ल्याण्डफिल साइडमा ८६ विगाह १९ कट्ठा साढे दुई धुर जग्गा रहेको छ । सो मध्य दुई विगाह जग्गा ग्याँस प्लान्टलाई छुट्याइएको छ ।

घोराही उपमहानगरपालिकाले नेपालमा अन्य स्थानीयत तहको तुलनामा फोहोर व्यवस्थापनमा राम्रो नतिजा हासिल गर्न सफल भएको देखिन्छ । अहिले पनि विभिन्न स्थानीय तहहरुबाट फोहोर व्यवस्थापनको नमुना अध्ययनका लागि घोराही उपमहानगरपालिका आउने गरेका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *