चेतना अनलाइन
दाङ, १३ माघ । कोरोना भाइरस (कोभिड(१९) विरुद्धको तीन हजार डोज ‘कोभिशिल्ड’ खोप दाङ आइपुगेको छ । तीन हजार जनालाई लगाउन पुग्ने खोप आज दिउँसो दाङ आइपुगेको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिनुभयो ।
खोप भोलीबाट लगाउन सुरु गरिने छ । राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठान घोराही र प्रादेशिक अस्पताल तुलसीपुरबाट खोप लगाउन सुरु गरिने दाङका प्रमुख प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभयो ।
उहाँका अनुसार पहिलो चरणमा कोरोनाबाट मृत्यु भएकाको शव ब्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई खोप लगाइने छ । विहान ८ बजे छलफल गरेर छिट्टै नै खोप लगाउन सुरु गरिने आचार्यले जानकारी दिनुभयो ।
अर्को चरणको खोप कार्यक्रम पनि छिट्टै सुरु हुने विश्वास ब्यक्त गर्दै उहाँले नागरिकले पनि केही समयमा खोप लगाउन पाउने बताउनुभयो । नेपाल सरकारले पहिले चरणमा स्वास्थ्यकर्मी, शुरक्षाकर्मी, फोहरमैला व्यवस्थापनमा खटिन संकलक, चालक त्यसैगरी एम्बुलेन्स तथा शववाहन चालक र सहचालक लगायतलाई खोप लगाउने जनाएको छ ।