चेतना अनलाइन
घोराही, २२ पुस । संयुक्त व्यावसायिक प्यानल प्रचारप्रसार समितिले दाङ जिल्ला उद्योग वाणिज्य संघमा निर्वाचित नयाँ नेतृत्वलाई स्वागत तथा शुभकामना प्रदान गरेको छ ।
प्रचारप्रसार समितिले औपचारिक कार्यक्रम गरेर नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको हो । दाङ उवासंघमा २० सदस्यीय कार्यसमितिमा १८ जना सर्वसम्मत निर्वाचित हुनुभएको थियो । अध्यक्ष र कोषाध्यक्ष पदमा निर्वाचन भएकोमा दुबै जना संयुक्त प्यानलका उम्मेदवार विजयी हुनुभएको थियो । उवासंघमा सर्वसम्मतका लागि अन्तिमसम्म प्रयास गरिए पनि सहमति हुन सकेको थिएन ।
स्वागत तथा शुभकामना कार्यक्रममा बोल्ने राजनीतिक नेता तथा व्यवसायीहरुले नयाँ नेतृत्वले दाङको आर्थिक विकासका लागि उचित पहल गर्नुपर्ने बताएका थिए । उनीहरुले उवासंघको नेतृत्वले व्यवसायीक सुरक्षाका साथै उपभोक्ताहरुको पक्षमा वकालत गर्नुपर्ने आवश्यकता औंल्याए । उनीहरुले उत्पादनमुखी व्यवसायबाट मात्रै मुलुकले समृद्धि हासिल गर्न सक्ने धारणा व्यक्त गरे ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज जीवन गौतमले मुलुकको समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले मुलुकमा स्थिरता कायम हुन सके मात्र आर्थिक क्रियाकलाप बढ्ने धारणा व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेसका नेता राजु खनालले उदार अर्थ व्यवस्थामा मात्रै निजी क्षेत्रको व्यवसायीक सुरक्षाको ग्यारेन्टि हुने धारणा व्यक्त गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका अध्यक्ष टिकाराम खड्काले आयात मुखी व्यसायलाई निरुत्साहित गर्दै निर्यातमुखी व्यवसाय गर्नुपर्ने धारणा व्यक्त गर्नुयभयो ।
नेपाली कांग्रेस दाङका सचिव शंकर डाँगीले लोकतन्त्रमा मात्रै व्यवसायी तथा आम नागरिकको सुरक्षा हुन सक्ने धारणा व्यक्त गर्नुभयो ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुसालले प्रादेशिक राजधानी स्थापनका लागि उवासंघको दबावकारी भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै आँफूहरुको पहलमा अन्तिम चरणमा पुगेको औद्योगिक क्षेत्र निर्माणका लागि थप दबाव दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले उवासंघ व्यवसायीक मात्र नभएर एउटा सामाजिक संस्था भएकाले पत्रकार महासंघसँग विगतमा जस्तै सहकार्य हने बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका उद्योग विभाग प्रमुख तथा संयुक्त चुनाव प्रचारप्रसार समितिका संयोजक गेहेन्द्र बस्नेतले उवासंघलाई साझा बनाउने आँफूहरुको अभियानमा साथ दिएकोमा सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । ‘यस्ता व्यवसायीक संस्थाहरुमा एक पक्षीय व्यक्तिहरु मात्र आएर काम गर्न सकिदैन,’ उहाँले भन्नुभयो, ‘साझा नेतृत्व र सबै बिचार तथा भावनाहरुको प्रतिनिधित्व हुन सके मात्र अपेक्षाकृतिरुपमा काम हुन सक्छ ।’ जटिल परिस्थितिमा पनि आँफूहरुले सर्वसम्मत नेतृत्व बनाउन पहल गरेको उल्लेख गर्दै उहाँले आगामी दिनमा सामाजिक संघ संस्थाहरुमा साझा नेतृत्व चयन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नवनिर्वाचित अध्यक्ष टंक सिंह बुढाथोकीले आँफूलाई मतदान गर्ने तथा जिताउन सहयोग गर्ने सबै पक्षलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले लोकतन्त्रमा निर्वाचन स्वभाविक भएको उल्लेख गर्दै निर्वाचित भइसकेपछि आँफूले विजयी हुन नसकेकाहरुसँग पछि सल्लाह गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रजातान्त्रिक उद्यमी संघका अध्यक्ष गुरुप्रसाद कँडेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सुशिल प्रकाश आचार्यले गर्नुभएको थियो ।