घोराही, २७ मंसिर । पूर्वसभामुख कृष्णबहादुर महराले तुलसीपुर विमानस्थालमा निर्माण कार्य प्रारम्भ हुन थालेको इन्धनडिपो समयमै सम्पन्न हुने बताउनुभएको छ ।
शनिवार विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महराले इन्धनडिपो स्थापना पछि दाङमा हवाई सेवा पूर्णरुपमा नियमित हुने बताउनुभयो । ‘दाङको विकासका लागि तुलसीपुर विमानस्थल निकै महत्वपूर्ण छ,’ महराले भन्नुभयो, ‘विमानस्थल नियमित रुपमा सञ्चालन भएमा यस क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुग्ने छ ।’
इन्धनडिपो स्थापनाका कुनै समस्या आए संघीय सरकार र प्रदेश सरकारले समयमै सुल्झाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले इन्धनडिपोलाई व्यवस्थित रुपमा समयमै निर्माणसम्पन्न गर्नका लागि स्थानीय सरकार तुलसीपुर उपमहानगरपालिकाले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
‘म मेयर घनश्याम पाण्डेयज्यूलाई इन्धनडिपोको अनुगमन प्रभावकारी बनाउन आग्रह गर्दछु,’ महराले मिवानस्थलबाटै तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेयलाई टेलिफोन गरेर इन्धनडिपोको वारेमा चासो व्यक्त गर्नुभएको थियो ।