चेतना अनलाइन
दाङ, ८ मंसिर । दाङ तुलसीपुरको टरिगाउँ बिमानस्थलमा तत्काल हवाई इन्धन डिपो स्थापना हुने भएको छ । डिपो स्थापनाका लागि स्थापनाका लागि स्थायी संरचना निर्माणको काम तत्काल शुरु हुने नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो ।
सोमबार टरिगाउँ बिमानस्थमा आउनुभएका निर्देशक पौडेलले डिपो स्थापनाका लागि आवश्यक जग्गाका छनौट भइसकेको बताउनुभयो । बिमानस्थलको गेट नजिककैको दक्षिपट्टिको जग्गामा इन्धन डिपो स्थापना गरिने भएको हो ।
इन्धन डिपो नहुँदा हवाई उडान नियमित हुन नसकेको भन्दै निर्देशक पौडेलले आगामी २०७८ सालको बैशाख १ गतेसम्म संचालन गर्ने गरी संरचना निर्माणको काम अघि बढेको बताउनुभयो । टरिगाउँ बिमानस्थलमा पत्रकारसंग कुराकानी गर्दै निर्देशक पौडेलले इन्धन भण्डारणका लागि आवश्यक प्रविधिको डेण्डर भइसकेको बताउनुभयो । करिब ४ करोडको लागतमा इन्धन भण्डारण गर्ने प्रविधि निर्माणको काम शुरु भइसकेको उहाँको भनाई छ । डिपो स्थापनाका लागि करिब १० करोडको लगानी आवश्यक पर्ने निर्देशक पौडेलले बताउनुभयो ।
जग्गामा पनि १५/१६ दिनभित्रै काम अघि बढ्ने भएको छ । बिमानस्थलको गेटको दक्षिण पट्टी रहेको जग्गामा ७५ मिटर लम्बाई र ३० मिटर चौडाईमा डिपो स्थापना हुने भएको हो । डिपो स्थापनाका लागि करिब ५ देखि ७ रोपनी जग्गा आवश्यक पर्ने निर्देशक पौडेलले बताउनुभयो । जग्गा भएका बुट्यान र संरचना तुलसीपुर उपमहानगरपालिकाले हटाउने भएको छ । इन्धन डिपो स्थापना भएपछि दैनिक तीन वटा उडान भएमा १५ दिनसम्मका लागि इन्धन पर्याप्त रहेने उहाँले बताउनुभयो ।
यसैबिच तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले इन्धन डिपो स्थापना भएपछि रारा, पोखरा, भैरहवा लगायतका ठाउँमा उडान थप गर्न पहल गर्ने बताउनुभयो । बिमानस्थलमा इन्धन डिपो स्थापना गर्ने काम अब करिब ६ महिनाभित्रै पुरा हुने विश्वास व्यक्त गर्दै तुलसीपुर बिमानस्थलबाट थप ठाउँहरुमा उडान थप गर्न पहल थाल्ने बताउनुभयो । डिपो स्थापनासंगै तुलसीपुर काठ्माण्डौको हवाईभाडा घट्ने विश्वास लिइएको पनि उहाँले बताउनुभयो ।