हिजो मैले जंगल जान्छु भनेको फेरि लडाईं र हिंसाको लागि जान्छु भनेको होइन : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको लागि आवश्यक पर्यो भने सबै चिज त्यागेर गौतम बुद्ध जस्तै बन्न सक्ने बताएका छन् ।

पण्डित नारायण पोखरेल प्रतिष्ठान महानुष्ठान मूल समारोह समितिले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले मैले अब देशको लागि, जनताको लागि र समृद्विकोे लागि जरुरी पर्यो भने गौतमबुद्धको बाटोमा हिँड्न सक्ने बताएका हुन् ।

‘बाँकी जीवन अब समृद्वि र देशमा शान्ति सुदृढ गर्नको निम्ति तयार छ,’ उनले भने, ‘हिजो मैले जंगल जान्छु भनेको फेरि लडाईं र हिंसाको लागि जान्छु भनेको होइन । भन्न खोजेको के भने देशको लागि र जनताको लागि जरुरी पर्यो भने म सबै कुरा त्यागेर जंगल जान तयार छु ।’

अध्यक्ष प्रचण्डले भने, ‘फेरि पनि त्याग गर्न मलाई केही चाहिएको छैन् । सम्पत्ति चाहिएको छैन् । घरगाडी चाहिएको छैन् । म फेरि पनि दुःख गर्न सक्छु । यो कुरालाई त्यही रुपमा बुझियोस् ।’

हिजो पनि निकै ठूलो त्याग गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने, ‘त्याग त त्याग नै हो । त्यागका पनि धेरै खाले रुप हुन्छन् । त्यसैले म आवश्यक परे अब देशको लागि जनताको लागि समृद्विकोे लागि जंगल जान तयार छु ।’

प्रचण्डको कार्यक्रमको मन्तव्य

२१ औं शताब्दीमा म एउटा सानो किसानको छोरा हुँ । नेपालमै जन्मिएको । तर मलाई नियतिले भन्नुस् या कर्मले । मैले युद्वको पनि नेतृत्व गर्ने अवसर पाएँ । नेपालमा ठूलो राजनीतिमा परिवर्तन ल्याउने । जनताको हितमा जनताको पक्षमा भनेर लड्ने पनि जिम्मेवारी मलाई आयो ।

म त्यो कर्ममा करिब–करिब कृष्णले अर्जुनलाई उत्प्रेरित गरे जस्तो । मैले पनि एउटा दर्शनबाट उत्प्रेरित भएर अर्जुनलाई लडाईंमा धकेले जस्तो कर्मले लडाईंतिर लग्यो । र, एउटा भिन्न परिवेशमा फेरी शान्ति प्रक्रियामा फेरी नेतृत्व गर्ने अवसर मिल्यो ।

शान्ति सम्झौतामा हस्ताक्षर गर्ने सातपार्टीको तर्फबाट दिवंगत गिरिजाप्रसाद कोइराला र विद्रोहिको तर्फबाट मैले हस्ताक्षर गर्ने अवसर प्राप्त भयो ।

लुम्बिनीमा एउटा अन्तर्राष्ट्रिय कार्यक्रममा जाँदा मैले के स्मरण गरे भने कि बुद्धको दर्शनलाई–शिक्षाहरुलाई सबैभन्दा राम्रोसँग स्थापित र प्रचार कसले गर्यो भन्दाखेरी अशोक सम्राटले । लुम्बिनीमा अशोकको स्तम्भ छ । सम्राट अशोक ।

अशोकले लुम्बिनीमा आएर बुद्ध जन्मेको ठाउँ यहीँ हो । धेरैले त्यहीँबाट बुद्धको शिक्षा पाए भनेर अशोकले अशोक स्तम्भ ठड्याएपछि हामीलाई इतिहासको अध्ययन गर्न, बुद्धको बारेमा जानकारी प्राप्त गर्न, शान्तिको महत्व बारे बुझ्न र अहिसांबारे बुझ्न मद्दत गर्यो ।

आखिर अशोक को थिए भन्दाखेरी त्यत्रो ठूलो सेनाका कमाण्डर थिए । र, एउटा साम्राज्य खडा गर्ने विद्रोही थिए । उनले पनि निकै ठूलो लडाईंको नेतृत्व गरे ।

धेरै लडाईं जित्दै अगाडि बढेकाले अन्तिम लडाईंको रुपतिर जाँदा उनले हजारौं मान्छेको शवहरु देखे । सबै आफ्नै नातागोता दाजुभाई दिदीबहिनी थिए । त्यस्तो बेहाल अवस्था देखेपछि अशोकलाई यो बाटोबाट अगाडि बढ्नु मानव हितमा छैन् पर्यो ।

त्यस्तो निश्कर्षसहित फेरी बुद्धको बाटो पक्रेर शान्तिको बाटो पक्रेर उनै शान्तिको अग्रदूत भए । अहिले अशोकलाई मान्छेले एउटा ठूलो कमाण्डरको रुपमा सम्झिँदैनन् । बरु बुद्धको अग्रदूतको रुपमा सम्झिन्छन् ।

कहिलकाहिँ मलाई लाग्छ । एउटा मामुली गरिब किसानको छोरालाई युद्धको पनि नेतृत्व गर्ने, शान्तिको पनि नेतृत्व गर्ने र समृद्विको पनि नेतृत्व गर्ने अवसर जुर्यो । मलाई २६०० वर्ष अगाडिको त्यो इतिहासको अलि–अलि झल्को सपनामा बेला बेला आइराख्छ । रातोपाटीबाट