हजुरबुवाको उमेरका ६८ वर्षे व्यक्तिसंग विवाह गर्दै २६ वर्षे सेलेना गोमेज

जेन्सी। २६ वर्षे चर्चित अमेरिकन गायिका एवं नायिका सेलेना गोमेजले ६८ वर्षे बिल मुर्रेसँग विवाह गर्ने भएकी छिन्।

सेलेना गोमेजले ‘द डेड डोन्ट लाइ’का सहकर्मी बिल मुर्रेसँग विवाह गर्न लागेको इन्टाग्राममार्फत् जानकारी दिएकी हुन्।

गायिका एवं नायिका आफ्नो पहिलो कान्स फिल्म फेस्टिबलमा उपस्थिती जनाएपछि घर फिर्ता भएकी छिन्। कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा हिँड्दाको अनुभव साझा गर्न सेलिनाले इन्स्टाग्रामको सहारा लिएकी छिन्।

उनले बिहिबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेकी छिन्, ‘म यो फिल्मको सदस्य हुन पाउँदा निकै भाग्यमानी महसुस गरिरहेकी छु। अँ साँच्ची, म र बिल मुर्रे विवाह गर्दैछौं।’

कान्सको रेड कार्पेटमा बिलले गोमेजसँग कानेखुसी गरिरहेको देखेपछि यी दुईको प्रेम सम्बन्धबारे विभिन्न समाचार प्रकाशित भएका थिए।

उनीहरु एक–अर्काको हात समातिरहेको पनि भेटिएका थिए। ६८ वर्षे मुर्रेले भ्यानिटी फेयरसँगको कुराकानीमा गोमेजको निकै तारिफ गरेका थिए।

उनले भनेका थिए, ‘मलाई उनी निकै मनपर्छ । उनी निकै तीक्ष्ण छिन्, असाध्यै दयालु पनि। आफूलाई मनपर्ने पप आइकन भेटिँदा निकै खुसी छु।’ यद्यपी, पिंकभिल्लाका अनुसार सेलेनाको मुर्रेसँग विवाह गर्ने भन्दै ठट्टा मात्र गरेकी हुन्।

लुपसबाट गुज्रिएकी सेलेना गोमेज

२६ वर्षीया हलिउड गायिका तथा अभिनेतृ सेलेना गोमेजले सन् २०१५ अक्टोबरमा आफूलाई लुपस रोग लागेको र औषधि लिइराखेको सार्वजनिक गरेकी थिइन्। लुपसले मिर्गौलालाई छोइसकेको थियो। उनले सन् २०१७ मा मिर्गौला प्रत्यारोपण गराइन्।

उनलाई साथी फ्रान्सिया रसियाले मिर्गौला दान गरेकी हुन्। यो रोग लागेपछि उनी दुखाइ तथा छट्पटी महसुस गर्नुका साथै डिप्रेसनको पनि शिकार भएकी थिइन्।

लुपस रोगले करिब १.५ मिलियन अमेरिकी नागरिकलाई सताएको छ।

सेलेना मिर्गौला प्रत्यारोपण गराएको केही समयपछि बाहिर निस्किन्।

सेलेनाले एक कार्यक्रममा आफ्नो रोगको बारेमा एकदिन उपचार सम्भव हुने आशा गरेको बताउँदै भनेकी छिन्, ‘म त्यो दिन देख्न चाहन्छु, जतिबेला महिलाहरु लुपसरहित जिन्दगीको सपना देखून् ताकि कसैले एक्लो महसुस गर्न नपरोस्, विशेषगरी युवावस्थाका महिलाले। म धन्यवाद दिन चाहन्छु र आशा गर्छु, युवाको लागि यसबारे जनचेतना फैलाउन सकिन्छ।’

उनी अहिले सामान्य जीवन बाँचिरहेकी छिन् र आफ्नो सांगीतिक यात्रा कायमै राखेकी छिन्।

लुपस एक प्रकारको बाथ रोग हो। यो रोग लागेमा भित्री जुनसुकै अंगलाई समात्न सक्छ। यसको सही पहिचान गर्ने र समयमा उपचार गरेमा शरीरका विभिन्न अंगलाई बचाउन सकिन्छ।

सामान्य रूपमा मानिसको रोगप्रतिरोधी क्षमताले संक्रमणबाट जोगाउँछ, तर लुपसले चाहिँ शरीरका स्वस्थ कोशिका र तन्तुहरूमै असर गर्छ ।

यो एक क्रोनिक अटोइम्युन डिजिज हो। हामी सबैको शरीरमा रोग वा जिवाणुसँग लड्ने क्षमता हुन्छ। यो रोग लागेपछि मानसको रोगसँग लड्ने क्षमतामा गडबडी आउँछ। विशेष कोषिकाहरुले आफ्नै शरीरका कोषिकाहरुलाई नष्ट गर्न थाल्छ।

रोगसँग लड्नसक्ने क्षमताले जब आफ्नै शरीरका कोषिकाविरुद्ध काम गर्न थाल्छ, त्यसपछि लुपस देखापर्छ। यसपछि शरीरका अंगहरुलाई बिगार गर्न थाल्छ। आँखा, छाला, मिर्गौला, फोक्सो, मष्तिष्क आदिमा यसले असर गर्नसक्छ।

इम्युन सिस्टमले ‘एन्टिबडिज’ नामक प्रोटिन उत्पादन गर्छ, जसले भाइरस, ब्याक्टेरियाको जोखिमबाट बचाउँछ।

तर यो रोग लागेपछि ‘अटोएन्टिबडिज’ उत्पादन हुन्छ जसले स्वस्थ कोषिकालाई नष्ट गरिदिन्छ। लुपस रोग महिलालाई पुरुषको तुलनामा ९ देखि १२ गुणासम्म बढी लाग्ने गरेको पाइन्छ।

लुपस रोग कसरी लाग्छ भनेर यकिन कारणहरु अझै पनि पत्ता नलागेको चिकित्सकहरु बताउँछन्। यो रोग पुरुषमा लागे पनि एकदम कडा खालको लक्षण लिएर आउने चिकित्सकहरु बताउँछन्। यो वंशाणुगत रोग हो।

एक जना परिवारमा कोहीलाई छ भने अरुलाई पनि ३० गुणाभन्दा बढी लाग्ने सम्भावना रहेको चिकित्सक बताउँछन्। त्यसैगरी हार्मोनको कारणले पुरुषमा भन्दा महिलामा बढी पाइने गरेको छ।

लुपसले प्रायः मिर्गौलामा आक्रमण गरेको पाइन्छ। मिर्गौलामा आक्रमण हुँदा प्रोटिन भन्ने तत्व जान्छ, जसले गर्दा हातखुट्टा सुन्निन थाल्छ। यदि मुटुमा आक्रमण भएको छ भने छाती दुख्ने, साँस फेर्न गाह्रो हुनसक्छ।

फोक्सोमा असर गर्‍यो वा पानी जम्यो भने खोकी लाग्ने, मस्तिष्कमा गाह्रो भयो भने बारम्बार टाउको दुखिराख्ने, आँखा देख्न समस्या हुने, आँखा धमिलो हुने, बेहोस् हुने जस्ता समस्या आउन सक्छन्। समान्यतयाः छाला, जोर्नीको लक्षण हुन्छ, अरु जुन अंगमा प्रभावित पारेको छ त्यसैअनुसार लक्षण देखापर्ने गर्छ।

लुपसका यी सबै लक्षण देखापरेमा चिकित्सकहरु बिरामीलाई रगत तथा पिसाब जाँच, छातीको एक्सरे, मुटुकोे इको तथा मिर्गौला जाँच गर्ने सुझाव दिन्छन्।

यो रोगले कुन–कुन अंगलाई असर गर्छ भन्ने थाहा हुँदैन, त्यसैले जुन अंगलाई असर गर्छ, त्यहीअनुसार रोगको उपचार गरिन्छ। रोगको उपचार व्यक्तिअनुसार फरकफरक हुनसक्छ।

यो रोग लागेका बिरामी घामको किरणबाट बँच्नुपर्छ। छाता, सन ब्लक लोसन लगाउने, बाहुला भएको लुगा लगाउने गर्नुपर्छ ताकि छालामा असर नपुर्‍याओस्। त्यसैगरी यो रोग लागेका व्यक्तिलाई निमोनिया र फ्लु भ्याक्सिन लगाउनुपर्छ।

यो रोग लागेका धेरैजसो गर्भवती महिलामालाई जोखिम हुन्छ। गर्भखेर जाने सम्भावना बढी हुन्छ। त्यसैले गर्भवती हुनुअघि चिकित्सकको सल्लाह लिनुपर्छ।

लुपस रोग नियन्त्रणमा आएको ६ महिनापछि मात्र गर्भवती हुने सल्लाह दिइन्छ। गर्भवती अवस्थामा नियमित जाँच गराइराख्नुपर्छ र अन्य औषधि पनि नियमित खाने गर्नुपर्छ।

चिकित्सकहरुका अनुसार यो रोग निको नभए पनि नियन्त्रण गर्न सकिने हुनाले नियमित फलोअपका साथै नछुटाई औषधि सेवन गर्नुपर्छ। लुपस लागेका बिरामीलाई संक्रमणले छिटो भेट्ने हुनाले सजग हुनुपर्छ।

लुपस एक दीर्घरोग हो, कुन अंगलाई असर पारेको छ, त्यही अनुसार चिकित्सकले औषधि चलाउँछन्। औषधि नछुटाई खाएमा बिरामी आफ्नो दैनिक क्रियाकलापमा फर्किन सक्छन्।