सेल्फी

 

                          सबिन प्रियासन

विवाह भएको एकवर्ष पछि लिलावतिलाई सन्तान लाभ हुन्छ । उनको काखमा सालनालसहितको बच्चा सेतीया चौधरी सोढेनीले राखि दिन्छिन् ।

विवाह भएको एकवर्ष पछि लिलावतिलाई सन्तान लाभ हुन्छ । उनको काखमा सालनालसहितको बच्चा सेतीया चौधरी सोढेनीले राखि दिन्छिन् ।

‘लीलावति भाउजु, हजुरको घरमा लक्ष्मीको बास भयो । अब तपाईको घरपरिवारमा राम्रै राम्रो हुनेछ’, खिया लागेका दाँतहरु देखाउँदै सेतीयाले बच्चाको लिङ्गका बारेमा अवगत गराउँछिन् । चौधरी समुदायको भएकाले सेतीयाको बोलीमा थारु लय मिसिएको थियो ।

नयाँ वर्षको आगमनसँगै लिलावतिले छोरीलाई उपहारकारुपमा पाएकी थिइन् । छोरी जन्मिएको थाहा पाएपछि लिलावतिले प्रसब बेदनामा पाएको पीडा बिर्सन्छिन् । उनको मनमा खुशीका छालहरु उर्लन थाल्छन् । उनको गहमा खुशीको राप्ती सुसाउँछ । एकप्रकारले भन्ने हो भने उमङ्गको माहोल देखा पर्छ ।

आशा अनि भरोशा लिप्त महोत्सबमा खुशीयालीको गीत गुञ्जन थाल्छ । लिलावतिले धेरै महिनापछि खुशीको सुस्केरा सुसेल्छिन् ।  सुत्केरी कोठा भएकाले पराँटमा आगो बालिएको थियो । ताप्केको तेल आगोको रापले उम्ली रहेको थियो । सेतियाले तेलमा मेथि राख्छिन् । तात्तिएको तेलमा परेपछि मेथी उफ्रन थाल्छ । तेल चट्की रहेको थियो, मेथी भाँडाबाट उछुट्टिन थाल्छ । सेतियाले तेलको ताप्के भुइँमा राख्छिन् । तेल क्रमशः शान्त बन्छ । मेथीले आफ्नो स्थान बनाउँछ । आगोले काम नपाएपछि सेतीयाले देप्चीमा पानी तताउँन बसाल्छिन् ।

लिलावतिको टाउको कपडाले बेरिएको थियो । कम्मरमा पनि पटुकी लगाएकी थिइन् । शरीरमा बाक्लो कपडा थियो ।  लिलावतिले काखकी छोरीलाई नियालेर हेर्छिन् । चन्द्रमा जस्तै उज्यालो अनि छुँदा पनि मयाल लाग्ला जस्तो गोरी छोरीको दर्शनले लिलावति मख्ख परेकी थिइन् । आमाका लागि अरु भन्दा पनि सन्तान सुख अति नै प्रिय हुन्छ ।

९ महिना कोखमा राख्दा र प्रसब पीडालाई आत्मसात गर्ने भएकाले पनि सन्तानप्रति आमा यति धेरै नतमष्तक हुन्छन् कि जसको लेखाजोखा शव्दमा गर्न गाह्रो हुन्छ । लिलावतिको मुहार अनि मनमा देखा परेको खुशीलाई मापन गर्दा यहाँ यस्तै भन्न सकिन्छ ।

खुशीले भरिएकी लिलावतिले छोरीलाई काखीमा च्याँप्छिन् । छोरीको निधार अनि गालामा माया बर्साउँछिन् । संसारको खुशी छोरीको अङ्गालोमा पाएपछि लिलावतिले चयनको सास फेर्छिन् ।  सेतियाले एकपछि अर्को आशावादी कुराहरु भनि रहेकी थिइन् । सेतियाको कुरा सुनेपछि लिलावतिको मनमा आशाका त्यान्द्राहरु कर्णाली बनेर सल्बलाउन थाल्छन् ।

आकाशको छाना, धर्तीको भूइँ अनि पहाडहरुको भित्ता बनेर ठाडिएको आफ्नो आलिशान सपनाको महल छोरीको जन्मले वास्तविक महलमा एकदिन ठाडिनेछ भन्ने आशा लीलावतिको मनमा जाग्छ । उनले छोरीलाई अङ्गालोमा बेर्दै आँखा चिम्म गर्छिन् ।

चिम्लिएको आँखा अगाडि सुन्दर घर ठाडिन्छ । जुन घरमा लिलावतिको सुखी परिवार हाँसिखुशी बसि रहेको थियो ।  गहबाट बगेको आँशुको थोपा छोरीको हातमा पर्छ । आमाको गहबाट बगेको आँशुले हातमा स्पर्श गरेपछि भर्खरै जन्मिएकी छोरी चलमलाउँछिन् ।

छोरी चलमलाएपछि मन्द मुस्कान छर्दै लीलावती मनमनै बरबराउन थाल्छिन्, ‘मेरी छोरी १ अपसरा जस्तै राम्री छे । अब मेरा सारा दुःखहरु हराउनेछन् । म छोरीको मुख हेरेर अभागी कर्मसँग पैठेजोरी खेल्नेछु । दुःखी संसार सजाउनेछु । मलाई विश्वास छ, हाम्रो पनि सुखको दिन आउनेछ ।’

लिलावतिको सुत्केरी स्याहार्ने जिम्मा सेतीयाले पाएकी थिइन् । सेतीयाले एक महिनासम्म लिलावतिको स्याहार गर्छिन् । सेतीयाले वन्दनालाई पनि आफ्नो बलबुताले भ्याएसम्म हेरबिचार गर्छिन् । सुत्केरीबाट उम्किएपछि लिलावतिले सेतीयाको सुखद् बिदाई गर्छिन् ।

‘सेतीया नानी १ तिमीले मेरो राम्रोसँग हेर बिचार ग¥यौं । मेरो तर्फबाट तिमीलाई यो कपडा अनि पैशा । कहिले काँही अफ्ठ्यारो प¥यो भने आउनु’, लिलावतिले मुस्कुराउँदै सेतीयाको बिदाई गर्छिन् ।

सेतीया पनि मन प्रशन्न बनाएर त्यहाँबाट बाटो लाग्छिन् । ०००

लिलावतीको माइत प्युठान होे । उनको विवाह दाङ घोराहीका रैथाने डाँगी परिवारको सन्तान चोपबहादुर डिसीसँग भएको थियो । डाँगी परिवार प्रशस्त धनसम्पत्ती, जग्गाजमीन भएको परिवारमा गनिन्थ्यो ।

अहिले पनि डाँगी परिवारको प्रशस्त धनसम्पत्ती छ । तर जुन परिवारको नाम अनि प्रशंशा सुनेर लीलावती डोली चढिन्, घरमा आएपछि थाहा भयो कि आफ्नो ससुराको नाममा एकधुर पनि जग्गा छैन ।

भाईगोत्यारहरु घरमा नोकरचाकर राखेर, गाडीघोडा चढेर, आलिशान महलमा बस्छन् । तर लिलावतीको महलमा छाना आकाश, भूइँ धर्ती अनि भित्ता पहाडको थियो ।  आफ्नो घरपरिवारको बारेमा यथार्थ कुरा थाहा पाएपछि छातीमा चीर्को पर्छ । तर पनि डोली चढेर आइसकेकाले माइत फर्कन उनी सक्दिनन् ।

लिलावतिको कर्म डाँगी परिवारसँग जोडि सकेको थियो ।  डाँगी डिलक्स घरको अगाडि बजा बजाउँदै जन्ती लगेर जाँदा गाउँका साथीसँगीहरुले समेत ‘लिलावतिले दाङमा मोज गर्ने भई, कर्मै लिएर जन्मिएकी रहिछे’ भनेर फुर्काएका थिए । एकप्रकारले भन्ने हो भने लिलावतिको विवाहले उनको गाउँमा अत्यन्त चर्चा पाएको थियो ।

विवाहको दिन लिलावतिलाई विदाई गर्नु अगाडि उनका बुबा चुमानसिङ र आमा गीमाकुमारीले धेरैबेर सम्झाएका थिए । लिलावति पनि घर नै उचालिएला जसरी रोएकी थिइन् ।

‘घर भनेको घर हो । घरलाई कसतो बनाउने भन्ने कुरा छोरी मान्छेको हातमा हुन्छ । राम्रोसँग घरको इज्जत धानेस्, गरेर खाएस्, कुनै पनि कुरामा हिम्मत नहारेस्’, घुकघुक गर्दै आमाले छोरीलाई सम्झाएपछि लिलावति आमाको अङ्गालोमा जुका चप्किए सरी नछुटिने गरी चप्किन्छिन् ।

बुबाको आँखा पनि रोइ रहेका थिए । आमाछोरी केही समय अङ्गालोमा बाँधिएपछि चुमानसिङले छोरीलाई आफूतिर फर्काउँदै ओठ चलाउँछन्, ‘आमाबाबाका लागि सन्तान कहिले पनि भार हुँदैनन् । हामीले पनि छोरा र छोरीमा कहिल्यै अन्तर देखेनौ । तर समाजको चलन, रीत यस्तै छ । छोरीलाई अर्कैको घरमा जानुपर्ने । जन्मघरलाई पराया ठानेर कर्मघर सजाउनुपर्ने । विवाहको संस्कार कहिले देखि सुरु भयो मलाई  थाहा छैन, तर जसले सुरु गरेको हो, सायद उसले छोरीलाई बोझ सम्झिन्थ्यो । त्यसैले विवाह गरेर छोरी अर्कैको घरमा जानुपर्ने संस्कार सुरु भयो ।’

वुवाको कुरा सुनेर लिलावति झनै जोडजोडले रुन थाल्छिन् । उनको रुवाइले त्यहाँको माहोल नै भावविभोर बनेको थियो । वुवाले छोरीलाई अङ्गालोमा बेर्छन् । लिलावति केही पनि बोल्न सकि रहेकी थिइनन् ।

केही समयको रुवाईपछि लिलावतिको विदाई हुन्छ । जन्तीसँग लिलावति दाङ आउँछिन् ।  यी सब कुराहरु सम्झिएपछि लिलावति श्रीमान्कै छत्रछायाँमा बस्ने सङ्कल्प गर्छिन् । उनको मनमा ‘माइत फर्किदा गाउँमा माइतीको खिस्सी गर्नेहरुको जमात बढ्ने छ’ भन्ने कुराले डेरा जमाउँछ ।

उता, लिलावतिको माइतमा घरको हरिबिजोगको बारेमा थाहा पाउँछन् । माइतीले छोरीलाई फर्काउने प्रयास गर्छन् । तर बाबुआमाले माइत फर्कन गरेको आग्रहलाई उनले हिम्मत जुटाएर लत्याउँछिन् । उनले नै बुबा आमाले विदाईको क्षणमा भनेका कुराहरुलाई स्मरण गराउँछिन् । छोरीको कुरा सुनेपछि आमाबाबा पनि शान्त वन्छन् ।  दुःखको महासागरमा संघर्ष गर्ने प्रण गरेकी लिलावतिले छोरीको मुख हेर्दै दुःखका दिनहरुसँग मितेरी लगाएकी थिइन् ।

संघर्षका पाइलाहरु अगाडि बढाउने प्रण गर्छिन् । उनलाई श्रीमान्को पनि भर थिएन । उनलाई के थाहा थियो भने अब आफू र छोरीको लागि आफैले पौरख गर्नुछ । आफ्नो खुट्टामा आफै उभिनु छ । अरु कसैले गरिदेला र आफूले पेट भरि खाउँला, खुवाउँला भन्ने उनलाई थिएन ।

उनलाई थाहा थियो, आत्मनिर्भर बन्नका लागि संघर्षको सगरमाथा बनाउनुपर्नेछ । हिम्मत हारेर सफलताको उचाईमा पुग्न सकिदैन, घर चलाउन सकिदैन भन्ने निष्कर्षका साथ उनी अगाडि बढ्छिन् ।  मनभरी जेलिएका पीडाका पोकाहरुलाई नफुकिने गरी बाँधेर राखेकी लिलावतिको समर्पण, घरपरिवारप्रतिको आदरसत्कार अनि उनको आँटलाई देखेर बुढो ससुराले लिलावतिलाई एक कठ्ठा जग्गा दिन्छन् ।

घोराहीको गुलरीयामा जग्गा पाएपछि लिलावतिले सबैको साथ–सहयोगमा एकतले घर बनाउँछिन् ।  विवाह भएको करिब डेढवर्षपछि लिलावति आफ्नै घरको छाना मुनि पुग्छिन् । यतिबेला उनको महलको छानालाई जस्ता पाताले छाएको थियो, घरको भूइँ अनि तला माटोले बनेको थियो भने भित्ताहरुमा इँट्टा, ढुँगा, माटो प्रयोग गरिएका थिए ।

पनातिनीको चम्किलो मुहारले मनमा दया जागेपछि बुढो–हजुरबुवाले जग्गा दिनुका साथै घर बनाउन सहयोग गरेका थिए ।  लिलावतिको संसार क्रमशः खुशीले भरिदै थियो । सुखको यात्रातर्फ जिन्दगी अगाडि बढेको अनुभूति लिलावतिले गरिरहेकी थिइन् ।

छोरीको नाम घरपरिवारको सल्लाह बमोजिम वन्दना राखिन्छ । वन्दना १ अर्थात, कुनै पनि कुराको साधना, पुकार, समर्पण । सुखको खोजीका लागि एकाग्रह भएर गरिने सकारात्मक प्राथना । वन्दना सानै देखि शान्त स्वभावकी थिइन् । सबैसँग घुलमिल गर्न सक्ने भएकाले उनलाई घर देखि गाउँछिमेकसम्मले हातहातमा बोक्ने गर्थे । उनी घरमा एकछिन् पनि बस्न पाउँदिनथिन् ।

काखमा खेलाउनेहरुले उनलाई कहिले कहाँ, कहिले कहाँ पु¥याउँथे ।  लिलावति अत्यन्त जाँगरिलि थिइन् । उनमा घमण्ड रत्तिभर थिएन । जसले गर्दा सबैले उनलाई राम्रो मान्थे । तर कर्महारा लिलावतिले श्रीमान्बाट भने घरपरिवार चलाउनका लागि अहिलेसम्म साथ–सहयोग पाएकी थिइनन् ।

श्रीमान्लाई सम्झाउँदा–सम्झाउँदा थाकिएपछि उनले श्रीमान्लाई सम्झाउँनै छाडेकी थिइन् ।  जग्गाजमिन नभएपनि श्रीमान्को जमिन्दारी पारा कायम थियो ।

आयआर्जनको बाटोमा श्रीमान् नलागेपछि बिरक्तिएकी लिलावतिले छोरीको मुहार हेर्दै आफूलाई सम्हाल्छिन् । उनी निरन्तर अगाडि बढि रहन्छिन् । लिलावति दुईचार पैशा कमाउने मेलोमा लाग्छिन् । रातदिन नभनेर आयआर्जनका कामहरु गरेपछि लिलावतिले केही रकम समेत जम्मा गर्छिन् । ०००

 

  • नेपाल पत्रकार महासंघ दांगका अध्यक्ष सविन प्रियासनको प्रकाशोन्मुख सेल्फी उपन्यासको केही अशं