सरकार र माओवादी वार्ता भएको घरका घरवेटीको दुखान्त : सहयोग गरे बाफत जेल जानुपर्यो (भिडियो)

घोराही । पश्चिम दाङको हापुरे २०६० सालभन्दा पहिले खासै चर्चामा आएको थिएन । जिल्लास्तरमा हापुरेको नाम चर्चामा आए पनि राष्ट्रिय तथा अन्तराष्र्टि«य रुपमा हापुरेको नाम खासै चर्चामा आएको थिएन् । तर, २०६० साल पछि भने हापुरेलाई संसारले चिन्ने मौका पायो ।

तत्कालिन विद्रोही शक्ति नेपाल कम्युनिष्ट पार्टी माओवादीको नेतृत्वमा नेपालमा वर्गसंघर्ष चलिरहेको थियो । त्यतिबेला सम्म जनयुद्धमा हजारौंले बलिदान गरिसकेका थिए । कैयौं विस्थापित भएका थिए भने कैयौं घाइते तथा अपांग भएका थिए ।

देशमा दुई ओटा सत्ता नै सञ्चालन भएको थियो । एउटा सत्ता तत्कालिन राजा ज्ञानेन्द्र शाहको नेतृत्वमा चलिरहेको थियो भने ।

विद्रोही शक्ति माओवादीले जनस्तरबाट अर्को समान्तार सत्ता सञ्चालन गरेको थियौं । एउटै नागरिकले दोहोरो सत्ताको सामना गर्नुपरेको थियो । देश तथा विदेशबाट शान्तिका कामनाहरु पनि भइरहेका थिए ।

तत्कालिन संसदवादी दलहरु नेपाली कांग्रेस र एमालेलाई वाइपास गरेर राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएका थिए । २०५९ साल देखि नै राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासनको अभ्यास शुरु गरिसकेका थिए ।

विद्रोही शक्ति माओवादीले शान्तिको चाहना सहित युद्धविरामको घोषणा गरेको थियो । तत्कालिन राजा ज्ञानेन्द्रले पनि वार्ताका लागि भन्दै वार्ता टोली गठन गरेका थिए । सरकारी पक्षबाट वार्ता टोलीमा कमल थापा र प्रकाशचन्द्र लोहनी थिए ।

तत्कालिन विद्रोही शक्ति नेपाल कम्युनिष्ट पार्टी माओवादीले डा. वावुराम भट्टराई र कृष्णबहादुर महरालाई वार्ताको जिम्मा दिएको थियो । वार्ताका लागि विद्रोही र सत्ता पक्षबाट आ–आफ्नो अनुकुलको ठाउँको छनोट गरिरहेका थिए ।

सरकार पक्ष नेपालगञ्जमा वार्ता गर्न चाहन्थ्यो । तर, विद्रोही पक्ष भने आफ्नो आधार इलाका रोल्पाको थवाङमा वार्ता गर्न चाहन्थ्यो । दुबै पक्ष आ–आफ्नो अडानमै थिए । माओवादी वार्ताका लागि नुवागाउँसम्म आउन तयार भयो । तर, सरकारी वार्ता टोलीले दाङभन्दा माथी जान नसक्ने अडान लियो । अन्तः माओवादी दाङमामा वार्ता गर्न राजि भयो ।

सुरक्षालाई मध्यनजर गरेर माओवादीले वार्ताका लागि दाङको हापुरे रोज्यो । सरकारी वार्ता टोली पनि हापुरेमा वार्ताका लागि तयार भयो ।

त्यसपछि कुन घरमा वार्ता गर्ने भनेर नेताहरुलाई हम्मे हम्मे पर्यो । हापुरे माओवादीकै रोजाई भएकाले घरको व्यवस्थापन गर्ने जिम्मा पनि माओवादीले नै पायो । हापुरेमा ठूला भवनको अभाव । वार्ता गर्दा वार्ता टोलीका सदस्य, परिपक्षेक, पत्रकार तथा सुरक्षा निकाय बस्नका लागि ठाउँ पुग्ने गरी घरको व्यवस्थापन गर्नुपर्ने थियो ।

घर छनोटका लागि तत्कालिन पार्टी हेडक्वाटरले दाङका नेता हेमराज शर्मा ‘डायमण्ड’ लाई जिम्मा दियो । डामयण्ड सहित इन्द्रजित चौधरी लगायतका नेताहरुले भवनको खोजी गर्न हापुरे पुगे । हापुरेमा पक्की घर एउटा मात्रै थियो ।

त्यसको घरवेटी थिए पृथी केसी (शान्ति नेपाल) । शान्ति नेपाल उनको पछि राखिएको नाम हो । नेताहरुको आग्रहमा केसीले वार्ताका लागि घर दिन राजि भए । ‘नेपालमा शान्ति शुरु हुन्छ भने मैले किन सहयोग नगर्ने भन्ने सोचेर डायमण्ड सरले गर्नुभएको आग्रहलाई मैले स्वीकार गरे,’ उनले भने, ‘वार्ताका लागि घरको व्यवस्था गर्नु मेरा लागि पनि सौभाग्यको कुरा थियो ।’

तर, दुर्भाग्य वार्ता सफल हुन सकेन । त्यसपछि सरकारी पक्षले केसीमाथी निगरानी बढायो । माओवादीसँग सम्पर्क भएको व्यक्ति भनेर उनलाई दुःख दियो । हिरासतमा राख्यो । जेल बस्नु पर्यो । उनै केसी अर्थात शान्ति नेपालसँग चेतना अनलाइनले गरेको कुराकानि यहाँ प्रस्तुत गरिएको छ । वार्ता असफल हुनुमा त्यतिबेला शुरुमै एउटा अशुभ संकेत देखिएको केसी बताउँछन् । के थियो त त्यस्तो अशुभ संकेत ? पूरा भिडियो हेर्नुहोला