सचिवालय बैठकमा प्रमको ब्रिफिङ : मेरो मिर्गौलाले काम गरेन, नियमित डायलासिस वा प्रत्यारोपण विकल्प

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सिकिस्त विरामी नभएको बताएका छन् । तर मिर्गौलाले राम्रोसँग काम नगरेकाले अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प रहेको जानकारी दिए ।

शनिबार बसेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे ब्रिफिङ गरेका थिए । मिर्गौलाले राम्रोसँग काम नगरेको र फोक्सोमा पानी जम्मा भएकाले ग्राण्डी अस्पतालमा गएर दुई पटक डायलासिस गराएको उनले जानकारी दिए ।

अब आज वा भोलि फेरि अर्को पटक डायलासिस गर्ने चिकित्सकहरुको तयारी रहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो उपचारमा अबको विकल्प नियमित डायलासिस र प्रत्यारोपण मात्र भएको समेत पार्टीका नेताहरुलाई ब्रिफिङ गरेका छन् । ‘केही रिपोर्ट आउन बाँकी छ, त्यसपछि डाक्टरहरुले फाइनल गर्छन्’ उनले भने ।

अनलाइनखबरबाट