संसदको बैठक अचानक स्थगित, कारण सुनेर छक्कै परे सांसदहरू

विमल योगी

काठमाडौं, २७ जेठ । सरकारको चरम लापरपाहीका कारण संघीय संसदको बैठक अचानक प्रभावित भएको छ ।

सरकारले विनियोजन विधेयकमाथिको छलफलका लागि आवश्यक पर्ने तयारी नगरेका कारण संसद वैठक प्रभावित भएको हो । सभामुख कृष्णबहादुर महराले विशेष कारणभन्दै बैठक स्थगित गरेका हुन् ।

स्रोतका अनुसार सरकारले विनियोजन विधेयकअन्तर्गत आवश्यक पर्ने कितावहरू संसद सचिवालयलाई उपलब्ध गराउन सकेको थिएन । त्यसपछि संसद सोमबारसम्म स्थगित भएको हो ।

संसदको आइतबारको बैठकमा सांसदहरूले विशेष समयमा धारणा राखेका थिए ।

विशेष समय सकिनेवित्तिकै सभामुख महराले संसद बैठक सोमबार बिहान ११ बजे बस्ने गरेर स्थगित गरेका हुन् । संसद बैठक अचानक सोमबारसम्म स्थगित भएपछि सांसदहरू अचम्म परेका थिए ।

विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकहरूमाथि छलफल हुने कार्यसूची थियो ।

विनियोजन विधेयकअन्तगर्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुने कार्यक्रम थियो ।

 

दैनिक नेपालबाट