नेपाली युवाको लर्को : पहिले वेलायत र भारतीय सैनिक अब फ्रेन्च लेजन

काठमाडौँ — सन् १८३१ मा फ्रान्सका राजा लुई फिलिपले फ्रान्सेली शान्ति र सुशासनका लागि चालेका अनेकन कदममध्ये एक थियो— आफ्नो सैन्य संरचनामा व्यापक फेरबदल । फ्रान्सको राष्ट्रिय सेनाको दायराभित्र एउटा अलग पहिचानसहितको विशेष अंग खडा गर्ने नीतिअनुरूप ‘लेजियों एत्रन्जेर’(फ्रेन्च फरेन लेजन) नाममा भर्ना खुला गरियो ।

सेनाको तल्लो तहमा गैरफ्रान्सेली नागरिक मात्र भर्ना हुन सक्ने यो अंगको विशेषता थियो । यो सैनिक अंगलाई ‘लेजन’ र यहाँ भर्ती हुनेलाई ‘लेज्योनेयर’ भन्न थालियो । 

झन्डै २ शताब्दीको इतिहास बोकेको फ्रेन्च लेजनमा अहिले १४० भन्दा बढी देशबाट आएका युवा सम्मिलित छन् । फ्रान्सभित्रका विभिन्न जिल्लास्थित १० वटा भर्ना केन्द्रमा राहदानीसहित आफैं प्रस्तुत भएर परिचय खुलेका व्यक्ति मात्र प्रारम्भिक छनोट प्रक्रियामा जान्छन् । त्यहाँ हरेक दिन सयौंको संख्यामा बाहिरी बिश्वबाट आएका १८ देखि ३८ वर्षसम्मका युवाको भीड लाग्छ ।

आईक्यू, फिजिकल, मेडिकल परीक्षणपछि विस्तृत अन्तरवार्तामा छनौट हुन सकेमा फ्रेन्च लेजनको बर्दी लगाउने अवसर मिल्छ । तल्लो दर्जाबाट यसको् ५ वर्षे कार्यकाल रहन्छ । फ्रेन्च लेजनका सैनिकले कालान्तरमा फ्रान्सेली नागरिकता लिएर बसेको उदाहरण छ ।

बेलायती र भारतीय सेनाबाहेक फ्रान्सेली सेनामा नेपालीको ठूलो संख्या देखिएको छ । फ्रेन्च लेजनमा भर्ती हुने पहिलो नेपाली को थियो ? आधिकारिक रूपमा थाहा हुन नसके पनि अहिलेसम्म २६ वर्षको कार्यकाल सकेर हालै सेवानिवृत्त भएका नन्द थेबेलाई सबैभन्दा पुरानो मानिने गरिएको छ । हालसम्म सक्रिय रूपमा सेवारतले बढीमा २० वर्षयता कार्यरत छन् ।

लेजनमा २००६ तिर जम्मा २५ जना नेपाली भएकोमा अहिले यो संख्या ६ सय हाराहारी पुगेको छ । फ्रान्सभित्रकै भर्ना केन्द्रमा प्रत्यक्ष रूपमा हाजिर भएर उमेदवारी दिनुपर्ने भएकाले, फ्रान्सको प्रवेश आज्ञा सहज या खुला सिमाना भएका युरोपियन देशमा छरिएर रहेका नेपाली युवाका लागि यो एउटा रोजगारीको अवसरको रूपमा देखिएको छ ।

नेपालमै भएका युवाहरूलाई भने फ्रेन्च लेजनमै भर्ना हुने बहानामा प्रवेश आज्ञा उपलब्ध गराउने प्रावधान भने छैन । फ्रेन्च लेजनका नाममा दलाल चलखेलको अर्थ भने छैन । कुनै व्यक्ति या संस्थाले नेपालबाट पहल गरेर फ्रेन्च लेजनमा भर्ना हुने न कुनै नियम छ, न सम्भवाना । पेरिसस्थित नेपाली दूतावासले आधिकारिक रूपमा फ्रान्सेली सेनामा कार्यरत नेपालीको तथ्यांक राख्न सकेको छैन ।
हुम्ला जिल्लाको सोठी गाउँका राजेश शाही हुन् या लमजुङ घले गाउँका राम गुरुङ ।

अनि धनकुटा देब्रेबासका ९ वर्ष सिंगापुर पुलिसमा काम गरेर हाल फ्रेन्च लेजनमा छिरेका रवि तुम्बा हुन् वा, अध्ययन गर्न अस्ट्रेलिया गएका अनिल खत्री— सबैले फ्रेन्च फरेन लेजनको साझा चौतारीमा उभिएका छन् । यहा पनि सेवा–सुरक्षा र जीवनको चुनौती त छ नै । सेवाकै क्रममा केही वर्षअगाडि पोखराका किसनबहादुर थापा आफ्नो एक्लो छोरालाई टुहुरो बनाएर बिते भने सिन्धुलीका नवीन खपांगीकी नवविवाहिता पत्नीविधवा बनिन् ।

एउटालाई अप्ठ्यारो पर्दा अर्कोले सहयोग गर्नुपर्छ भन्ने भावना प्राय: नेपालीमा रहने विशेषता हो । परस्पर सहयोगी भावना भनेको नेपालीको पहिचान पनि हो । बनेको छ । आउँदा दिनहरूमा नेपालीहरूले फ्रेन्च फरेन लेजनमा अझै राम्रो काम गर्दै जाऊन्, नेपालको नाम र इज्जत राख्न सकून्, प्रगति र उन्नति गरून्, नेपाली–नेपालीमाझ अझै सद्भावको विकास होस्, भगवान्ले सबैको कृपा गरून् ।

३१ मार्च १८३१ मा आधिकारिक रूपमा गठन भएको ‘फ्रेन्च फरेन लेजन’ ले अहिलेसम्म थुप्रै युद्धहरू लडेको छ । तत्कालीन अल्जेरियाको युद्ध, १८७० को जर्मनीसगको युद्ध, प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, भियतनामको युद्ध, खाडी युद्धलगायत फ्रान्स संलग्न अन्तर्राष्ट्रिय सैनिक बलमा फ्रेन्च फरेन लेजन सक्रिय छ ।

एवं, ठूलो इज्जत पनि कमाइरहेको छ । १८६३ मा मेक्सिकोको ‘हासीआन्डा’ मा ६३ जना लेज्योनेयरहरूले दुइ हजार मेक्सिक सैनिकसँग गरेको भिडन्त फ्रेन्च फरेन लेजनको इतिहासमा सबैभन्दा उलेखनीय मानिन्छ ।

फ्रेन्च लेजन हाल अन्तर्राष्ट्रिय शान्ति सेनाको रूपमा अनि फ्रान्सको दुईपक्षीय सैनिक सम्बन्ध भएका माली, सेन्टर अफ्रिका, आइभरी कोस्टलगायतका मुलुकसगका सैन्य गतिविधिमा संलग्न छ । ‘आतंकवादविरुद्ध निगरानी’ को रूपमा रेल स्टेसन, विमानस्थल, गिर्जाघर, चर्चलगायत अन्य सामरिक महत्त्वका भवनमा फ्रेन्च लेजन परिचालित छ । अहिले लगभग ९ हजारको हाराहारीमा फ्रेन्च लेजनरहेका छन् ।

फ्रान्सको दक्षिणी भेगमा छरिएर रहेका कस्तेल्नौदरी, ओबान, कार्पियान, निम, लोदा, सान्ट–क्रिस्टल, लार्जाक र काल्वी गरेर मुख्यत: ७ सहरमा भएका पल्टनमा दर्जनौंको संख्यामा नेपाली समुदाय बनेका छन् । पेरिसमा रहेको प्रारम्भिक चरणको छनोट केन्द्रमा पनि नेपालीले विभिन्न पदमा रहेर काम गरिरहेका छन् । साभार : कन्तिपुर कोशेली