विश्वकप फुटसल खेल्न बिहीबार अर्जेन्टिना जाँदै नेपाली टोली ! तपाइलाई थाहा थियो फुटसल के हो ?

काठमाण्डाै – नेपाल फुटसल सङ्घले अर्जेन्टिनामा आयोजना हुने विश्वकप फुटसल प्रतियोगिताका लागि आज १२ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।

बाह्रौँ संस्करणको त्यस प्रतियोगिताका लागि समीर कार्कीको कप्तानीमा टोलीको घोषणा गरेको हो । नेपाली टोलीका अन्य सदस्यमा दीपेन्द्र रसाइली, वरदान लामा, दिनेश श्रेष्ठ, विशाल थापा, सुजन बलामी, साहिल राना, राजु बुढाथोकी, अनुप राना, गौरव श्रेष्ठ, सञ्जीव तामाङ र ग्रिजेशमान श्रेष्ठ छन् । टोली प्रशिक्षकमा कमल विष्ट छन् । विश्वकप खेल्न नेपाली टोली बिहीबार त्यसतर्फ प्रस्थान गर्नेछ । नेपाल समूह ‘डी’ मा छ । त्यस समूहमा क्यानडा, क्याटलाेनिया (स्पेन) र फ्रान्स छ ।

नेपालले पहिलो खेल यही चैत १८ गते क्यानडासँग खेल्नेछ । दोस्रो खेल क्याटलनासँग यही चैत १९ गते तथा समूहको अन्तिम खेल यही चैत २० गते फ्रान्ससँग खेल्नेछ । समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन् ।

विश्वकप फुटसलमा नेपालले ‘वाइल्ड कार्ड’बाट सहभागिता जनाउन लागेको हो ।

के हो फुटसल ?

फुटबल खेलको सानो रुप ‘फुटसल’ अहिले विश्वभर लोकप्रिय बन्दै गइरहेको छ । बढ्दो जनघनत्व, वस्ती विस्तार र खुल्ला ठाउँको अभावका कारण शारीरिक व्यायाम गर्न नपाएकाहरुका लागि फुटसल भरपर्दो विकल्प बनेको छ ।

‘खुला ठाउँको अभावले केटाकेटीदेखि वृद्धवृद्धासम्मका लागि ‘फुटसल’ खेल अभ्यास उपयुक्त विकल्प भएको छ ।

नेपालको सन्दर्भमा सुरुवातमा काठमाडौंमा केन्द्रित यो खेल अहिले विराटनगर, हेटाैंडा, बनेपा, पोखरा, धरान, चितवनजस्ता प्रमुख शहरमा विस्तार भएको छ । करिव एक वर्ष पहिलेको एक अध्ययन अनुसार मुलुकभर एक सयको हाराहारीमा व्यावसायिक फुटसल सञ्चालनमा छन् । हाल सम्म त्यो भन्दा धेरै भएको हुनसक्ने अनुमान गर्न सकिन्छ।

यसलाई कतिपयले ‘फिटनेस सेन्टर’ का रुपमा प्रयोग गर्ने गरेका छन् । सन् २०११ मा नवाङ निमा लामाले ठमेलमा एरेना फुटसलको शुरु गर्नुभयो र यो नै नेपालमा स्थापित पहिलो फुटसल हो । ‘सन् २००९ मा थाइल्याण्ड जाँदा घरभित्रै फुटबल खेलेको देखे, पछि थाहा भयो यो त फुटसल पो रहेछ’ उहाँले भन्नुभयो ।

थाइल्यान्ड, सिंगापुरजस्ता देशमा फुटसल ‘बिजनेस’ धेरै फस्टाएको देख्नुभएका उहाँले नेपालमा पनि फुटसल शुरु गर्ने अठोट गर्नुभयो र लामो सोचविचारपछि ठमेलमा एरेना फुटसल खोल्नुभयो । आफूले थालेको व्यवसाय विस्तार भएकामा खुशी देखिनुभएका उहाँ अझै अन्तर्राष्ट्रिय मापदण्डअनुसार मैदान बनाउन नसकेकामा भने दुःखी हुनुहुन्छ । ‘अधिकांश मैदान अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेका छैनन्’ उहाँ थप्नुहुन्छ ।

फुटसलको नियम
फुटसल भनेको ‘मिनी’ फुटबल हो । फरक के हो भने यो ‘इन्डोर’ खेलिन्छ । यसको मैदान ४० मिटर लामो र २० मिटर चौडा हुन्छ । प्रत्येक टिममा एक गोलरक्षकसहित पाँच खेलाडी हुन्छन् । नियम सबै फुटबलसँग मिल्दाजुल्दा देखिए पनि केही फरक छन् ।

यो सामान्यतः २० मिनेट प्रतिहाफ खेलाइन्छ । दुई हाफको बीचमा १५ मिनेटको विश्राम हुन्छ । फाउल, फ्रिकिक, पेनाल्टी, रातो र पहेँलो कार्ड सबै फुटबलका नियमसँग मिल्छन् । यसमा ६ मिटर टाढाबाट पेनाल्टी हानिन्छ ।

गोलरक्षकलाई ब्याक पास दिन पाइँदैन । बल नियन्त्रणमा लिएपछि गोलरक्षकले पाँच सेकेण्डभन्दा बढी समय बल ‘होल्ड’ गर्न पाउँदैन । खेलाडीले रातो कार्ड पाएको दुई मिनेटपछि अर्को खेलाडी मैदान प्रवेश गर्न पाउँछ ।

यस्तो छ इतिहास
यो खेल सन् १९३० मा उरुग्वेका जुहान कार्लोस सेरियानीले सुरु गरेको इतिहास छ । उरुग्वेको स्थानीय भाषामा यसलाई ‘फुटोबल डे सालोना’ भनिन्थ्यो । फुटबलको नियमलाई आधार मानेर सेरियानीले फुटसलको नियम समेटेर नियम पुस्तिका प्रकाशन गरे । सन् १९३० को पहिलो फुटबल विश्वकप जितेपछि उरुग्वेमा फुटसल खेल्न थालिएको होे ।

फिफाले १९८९ देखि फिफा फुटसल विश्वकप सुरु गरेको पाइन्छ । नेदरल्याण्ड्स आयोजक रहेको पहिलो विश्वकपको विजेता ब्राजिल बन्यो । ब्राजिल फिफा फुटसल विश्वकपको सर्वाधिक पाँच पटकको विजेता हो । फिफाले आठ पटक विश्वकपको आयोजना गरिसकेको छ ।