विदेश भनेपछि अब त नाम पनि लिन्न, बरु दिनमै २५ लिटर दूध बेचेर बस्छु

उदयपुर, त्रियुगा नगरपालिका–९ झिल्केटोलका सर्जन दनुवारलाई लाग्यो विदेश नगई पैसा कमाउन नसकिने भयो । यही सोचका कारण सर्जनले गाउँघरमा कुनै काम देख्नुभएन ।

त्यसपछि सर्जनलाई २०६४ सालमा विदेशको बाटो लाग्नुभयो । म्यानपावरले महिनाको ३० हजार रुपैयाँ हुन्छ भनेपछि सर्जन साउदी पुग्नुभयो कमाउने सपना पुरा गर्न ।

तर म्यानपावरले भनेको भन्दा आधा अर्थात १५ हजारभन्दा धेरै तलब पाउनुभएन । कमाइ नभएपछि दुई वर्ष बित्यो तर जाँदा लिएको ऋण पनि तिर्न नसकी घर फर्किनुभयो ।

आर्थिक समस्याले गाँजेपछि सर्जन दुवई जानुभयो । दुवईमा त सर्जनको भनेको काम नै पाउनुभएन । दुवईमा पनि दुई वर्ष बित्यो तर हात लाग्यो शून्य भनेजस्तै भयो ।

विदेश गएर कमाउने सपना दुई पटकमा पनि पुरा नभएपछि सर्जनले सुख दुःख जे भएपनि गाउँमै काम गर्ने निधो गर्नुभयो ।

काम बारे सोधखोज गर्ने क्रममै गाउँमा दूधको धेरै माग रहेको तर उत्पादन त्यो अनुसार नभएको देख्नुभयो । यही कुराले उहाँलाई भैसी पाल्दा हुने रहेछ भन्ने लाग्यो ।

त्यो पनि व्यवसायिक रुपमा । उहाँले दिल कमला पशु तथा कृषी फर्म दर्ता गर्नुभयो अनि सुरु गर्नुभयो भैंसी पालन । गाउँमा गाई भैंसी पाल्ने चलन भएपनि व्यवसायिक रुपमा पाल्ने चलन थिएन ।

उहाँले व्यवसायिक बनाउने सोचेर काम थाल्नुभयो । गोठ बनाउनुभयो अनि दुई वटा भैंसीबाट व्यवसाय सुरु गर्नुभयो । अहिले उहाँको फर्ममा ७ वटा भैंसी छन् । दिनमा २५ लिटर दूध बेच्नुहुन्छ ।

भैंसी लैनो भएका बेला महिनाको ६० हजार रुपैयाँसम्म बचाउने सर्जनले दूध उत्पादन घटेका बेला पनि ४० हजार रुपैयाँ कमाइरहेको सुनाउनुभयो । स्वदेशकै काम र कमाइले सन्तुष्ट भएका सर्जनको सोच फेरिएको छ । अहिले त उहाँ वैदेशिक रोजगारीका बारेमा सोच्न पनि चाहनुहुन्न ।

उदयपुरको सदरमुकाम गाईघाटबाट ५ किलोमिटर टाढा रहेको फर्ममा भैंसी स्याहार्दै गर्दा भेटिनुभएका दनुवार भन्नुहुन्छ ‘अव त विदेशको नाम पनि लिन्न ।’ उहाँलाई श्रीमती बिना र आमा कमला दनुवारले सघाउनुहुन्छ ।

आमा र श्रीमतीको यही साथ र सहयोगले सर्जनलाई विदेश जाने सोच त्याग्न सघाएको छ । स्वदेशमै काम गरेर दाम कमाईने भएकाले विदेश जान मन नलाग्ने बताउनुहुन्छ । कारण विदेशमा दिनरात काम गर्दा पनि कमाउन नसेकेको पैसा उहाँले गाउँमै भैंसी पालेर कमाइरहनुभएको छ ।