विज्ञान विषयका सभामुख महराले कृषि विषय पढाएपछि……

पाण्डव शर्मा

घोराही । नेपाली राजनीतिमा धेरै नेताहरुको पृष्ठभुमि शिक्षण पेशा भएको पाइन्छ । शिक्षण पेशाबाटै आफ्नो राजनीति शुरु गरेका नेताहरु अहिले मुलुकको उच्च ओहदाको पदमा पुगेका छन् ।

ती मध्य एक हुन प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा । उनी २०४८ सालमा पहिलो पटक रोल्पाबाट संसद्मा निर्वाचित हुनुभन्दा पहिले सरकारी विद्यालयको शिक्षक नै थिए ।
शिक्षण पेशा छोडेको २८ वर्ष बितिसक्दा समेत महरामा शिक्षण पेशा प्रति मोह भने उस्तै देखियो । कार्यक्रम थियो बंगलाचुली स्थिति सुधा माविको प्राविधिक धारका कृषि विज्ञान (कक्षा ९–१२) तथा साधारण धार (कक्षा ११) को समुद्घाटन समारोह ।

बंगलाचुली गाउँपालिकाको एक मात्र प्राविधिक विद्यालय बन्न पुगेको सो विद्यालयमा भएको उद्घाटन समारोहमा महराले देशको वारेमा धेरै कुरा गरेनन् । न त गरे अन्य राजनीतिक विषयमा । शुरुमै उनले आँफू शिक्षण पेशाबाट आएकाले शिक्षणमा अँझै रुची भएको बताए । उनले कार्यक्रममा आँफूले माटो र कृषि वालीको वारेमा सबैलाई जानकारी दिने जानकारी दिए ।


त्यसपछि महराले त्यहाँ सहभागी विद्यार्थी र अभिभावकहरुलाई कृषि क्षेत्रका प्राविधिक कुराहरु गरे । उनले माटोको विशेषता, अनुकुल बाली, माटोलाई उर्वर बनाउने तरिका लगायतको विषयमा स्पष्ट पारे ।

‘हामीले माटोको अध्ययन नगरेरै खेती गर्छौ, यसबाट सफलता पाउन सकिदैन,’ महराले भने, ‘मकै लगाउने वारीमा बदाम हुँदैन बदाम लगाउने वारीमा मकै हुँदैन तर, हामीले यसको अध्ययन नगरेरै जहाँ जे फल्दैन त्यहाँ त्यहि रोप्छौं ।’

महराले अन्य बालिको बीचमा लगाईने कोषे बालीको महत्वको वारेमा समेत प्रष्ट पारे । ‘विगतमा हाम्रा पुर्खाहरुले अन्य बालीको बिचमा भटमास लगाउँथे, त्यो निकै वैज्ञानीक छ, यसले माटोको उर्वर क्षमता बढाउँछ,’ उनले भने, ‘माटोको उर्व बढाउनका लागि गडेउलाको पनि महत्व छ ।’ महराले कृषिको वारेमा जानकारी दिइरहँदा त्यहाँ सहभागिहरु प्रशन्न भएर सुनिरहेका थिए ।

बंगलाचुलीलाई कृषि र पर्यटन क्षेत्रको केन्द्रको रुपमा विकशित गर्नु पर्ने महराको भनाई छ ।
सो अवसरमा नेकपाका केन्द्रीय सदस्य हेमराज शर्मा डायमण्डले प्राविधिक शिक्षा आजको आवश्यकता भएको बताए । उनले यहाँ उत्पादित प्राविधिक जनशक्तिले मुलुकको मुहार फेर्ने विश्वास व्यक्त गरे ।

नेकपा दाङका सचिव सुवास पुनले बंगलाचुलीको विकासका लागि सबै पक्षले ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले समग्र गाउँपालिकाको विकाशको वारेमा जानकारी दिएका थिए । उनले चुनावी प्रतिबद्धता अुनसार घोराही–मुकर्टी हुँदै प्युठान जोड्ने सडकको कालोपत्रेका लागि बजेट विनियोजनका लागि पहल गरेकोमा सभामुख महरालाई धन्यवाद दिए । सो क्रममा सभामुख महराले बंगलाचुली स्थित स्वास्थ्य चौकीको निर्माणाधिन भवनको समेत निरिक्षण गरेका थिए ।