लैंगिक हिंसा न्यूनिकरणको प्रयास घरभित्रैबाट गर्नुपर्नेमा जोड

लैंगिक हिंसा न्यूनिकरणका लागि घरबाट सुरुवात गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन ।

घोराही उपमहानगरपालिकाअन्तर्गत न्यायिक समितिको आयोजनामा आज आयोजीत लैंगिक हिंसा न्यूनिकरणका लागि राजनीतिक दल, पत्रकार तथा सरोकारवालाहरुवीच गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले लैंगिक हिंसा न्यूनिकरणको प्रयास घरभित्रैबाट गर्नुपर्नेमा जोड दिएका हुन । उनीहरुले आफूले पनि हिंसा न्यूनिकरणकालागि काम गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रमका प्रमुख अतिथी एवं प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले व्यक्ति, परिवार, समुदाय र अपुरा नीतिका कारण पनि हिंसा भइरहेको उल्लेख गर्दै आ आफनो क्षेत्रबाट न्यूनिकरणको प्रयास थाल्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी दाङका प्रहरी प्रमुख एसपी जनकप्रसाद भटराईले जुनसुकै हिंसापीडितको संरक्षण राज्यले गर्नुपर्ने भन्दै पीडितहरुको संरक्षणको संयन्त्र निर्माण अपरिहार्य भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेस सदस्य मेनका पोख्रेलले लिङगीयरुपमा हुने हिंसा न्यूनिकरण गर्ने दायित्व र जिम्मेवारी सवै सचेत नागरिकको भएको बताउनुभयो ।

सो अवसरमा बोल्दै अधिकारकर्मीहरुले लैंगिक हिंसा हुन नदिन खासगरी महिलाहरुलाई आत्मनिर्भर, सीप सिकाई, रोजगारका कार्यक्रममा जोडन जरुरी रहेको बताए ।

उपमहानगरका कार्यबहाक प्रमुख सिता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले घोराही उपमहानगरमा भएका लैंगिक हिंसाको तथ्याङक प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा इन्सेककै जिल्ला सहजकर्ता विनोद केसी, ओरेककी जिल्ला संयोजक इश्वरी थापा, अधिवक्ता गोमा महरा, घोराही उपमहानगरपालिका संस्थागत क्लिनीक इन्चार्ज राधा पौडेललगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन घोराही उपमहानगरपालिकाका कानुन अधिकृत पर्तला गौतमले गर्नुभएको थियो ।