राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पायो साढे १२ करोड बजेट

पाण्डव शर्मा

घोराही । संघीय सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १२ करोड ४१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७६/७७ का लागि सो रकम विनियोजन गरिएको हो । बजेटमा आइसकेको विषयलाई राम्रोसँग अध्ययन नगरेरै केही दिन पहिले जिल्ला स्थिति केही व्यक्तिहरुले सामाजिक सञ्जालहरुमा राप्ती विज्ञान प्रतिष्ठानलाई बजेट नपरेको भन्दै असन्तुष्टि पोखेका थिए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुख्य अभियन्ता सभामुख कृष्णबहादुर महराले प्रतिष्ठानमा पर्याप्त बजेट विनियोजन गरिने यस अघि देखि प्रतिबद्धता व्यक्त गर्दै आएका थिए । उनले प्रतिष्ठानले यस क्षेत्रको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सफल बनाउन सबै लाग्नुपर्ने बताउँदै आएका थिए ।


तर, पछिल्लो समय तत्कालिन शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले निर्वाचन आचारसंहिता विपरित नियुक्त गरेका पदाधिकारीहरु आए पछि प्रतिष्ठानले उचित गति लिन सकेको छैन ।