राप्तीमा आयो नेपालकै महंगो भेस्पाको स्कूटर

पाण्डव शर्मा
घोराही । राप्ती अञ्चलमै पहिलो पटक भेस्पा र अप्रिला व्राण्डको स्कुटरको शोरुम खुल्ने भएको छ ।
दाङको घोराही स्थित स्वर्गद्धारी अटो डिष्ट्रिव्यूटर्सले नेपालमै सबैभन्दा महंगो मानिएको भेस्पा र अप्रिला व्राण्डको स्कुटरको शोरुम खोल्न थालेको हो । स्वर्गद्धारी अटोले यसअघि देखि नै दाङमा सुजुकी व्राण्डको गाडी बिक्री गरिरहेको छ ।

Image may contain: 1 person, smiling, sitting, motorcycle and outdoor

राप्ती अञ्चलमा पछिल्लो समय महंगो स्कूटरको माग बढे पछि आफूहरुले भेस्पा र अप्रिला व्राण्डको स्कुटरको शोरुम खोल्न थालेको स्वर्गद्धारी अटोका सञ्चालक संकल्प श्रेष्ठले जानकारी दिए । ‘भेस्पा र अप्रिला व्राण्डको स्कूटरको मुख्य बजार आर्थिक अवस्था राम्रो भएका युवाहरु नै हुन्,’ उनले भने, ‘केही वर्ष यता राप्तीमा वाईकको तुलनामा स्कूटर प्रयोग गर्नेहरुको संख्या ह्वात्तै बढेको छ ।’
अहिलेसम्म दाङमा करिब २ लाख मूल्य पर्ने स्कूटरहरु बिक्री भइरहेका छन् । दङ्गाली बजारमा न्यूतम दुई लाख ५० हजार रुपैयाँ देखि तीन लाख ६० हजार रुपैयाँ सम्मका भेस्पा र अप्रिला व्राण्डको स्कुटर आउने भएका छन् ।

भेस्पा र अप्रिला व्राण्डको स्कुटर नेपाली बजारमा डी लाइफस्टाईल प्रालिले भित्र्याउँदै आएको छ ।
धनाढ्यका छोराछोरी र नेपाली सेलिव्रेटीहरुले यी व्राण्डका स्कूटरलाई पहिलो रोजाई बनाउदै आएको श्रेष्ठ दावी गरे ।

शोरुमको सम्पूर्ण तयारी पूरा भइसकेको श्रेष्ठले जानकारी दिए । एक महिना भित्र स्कूटरको बिक्री शुरु हुने छ ।

भेस्पा र अप्रिला व्राण्डका स्कुटरले अन्य स्कूटरको तुलनामा राम्रो माइलेज दिने श्रेष्ठको भनाई छ ।

‘नेपालमा राम्रो व्यक्तित्व भएका ग्राहकहरुले भेस्पा र अप्रिला व्राण्डको स्कुटर प्रयोग गरिरहनुभएको छ,’ श्रेष्ठले भने, ‘यो निकै आकर्षक र बलियो छ ।’