यो सरकारले शहीदको सपना पूरा गर्छ : मन्त्री बराल

चेतना अनलाइन
घोराही । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले वर्तमान सरकारले १० वर्षे महान जनयुद्ध तथा अन्य आन्दोलनका शहीदहरुको सपना पूरा गर्ने बताउनुभएको छ ।


दाङको तुलसीपुर उपमहानगरपालिका वडा नंं १७ स्थित शहीद स्मृति आवासिय माध्यामिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन समारोहमा बोल्दै मन्त्री बरालले सरकारले शहीदका सन्ताको शिक्षा, स्वास्थ्य तथा रोजगारीको ग्यारेन्टि गर्ने बताउनुभयो ।

उहाँले प्रदेश सरकारले प्राविधिक तथा वैज्ञानिक शिक्षामा जोड दिएको उल्लेख गर्दै व्यवहारिक शिक्षा विना मुलुकको विकास हुन नसक्ने स्पष्ट पार्नुभयो ।


मन्त्री बरालले मुलुकलाई विकास र समृद्धिको मार्गमा अघि बढाउनकालागि शहीदहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै शहीद परिवार, वेपत्ता योद्धा तथा घाइते अपांगहरुको पक्षमा प्रदेश सरकार रहेको जानकारी दिनुभयो ।

शहीदहरुको सम्मान स्वरुप अहिले सरकारले शहीदहरुका छोराछोरीलाई आवासीय सुविधा दिएर पठनपाठन गरिरहेको बताउनुभयो।


विद्यालय व्यबस्थापन समितिका अध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य हेमराज शर्मा ‘डायमण्ड’ले विद्यालयको वर्तमान अवस्थाको वारेमा अवगत गराउनुभएको थियो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरु शहीदहरुको नासो भएको उल्लेख गर्दै शर्माले शहीदको लक्ष्यलाई आँफूहरुले पूरा गरि छाड्ने बताउनुभयो । उहाँले विद्यालयमा आगामी दिनमा थप सुविधाहरु बढाइदै लगिने जानकारी दिनुभयो ।


कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिका संयोजक देवराज विश्वकर्मा, नेपाल पत्रकार महासंघ दाङका सचिव भुपेन्द्र वली र पत्रकार नरेन्द्र केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले गर्नुभएको थियो । विद्यालयमा हाल ५ सय जना शहीदका सन्तानहरुले अध्ययन गरिरहेका छन् । विद्यालयमा यसैवर्ष देखि प्राविधिक विषयम समेत पढाई हुन थालेको छ ।