युवाहरू दिनभरी क्यारामबोर्डमा बाजी खेल्छन, तर २२ वर्षीया माया खड्का मोटरसाइकल मर्मत गर्छिन

तेह्रथुम — पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारमा वारिपारिका अधिकांश युवा क्यारामबोर्ड खेलेर दिन बिताउँछन्  । हातमा सीप नभएका युवाहरू आफूसित भएको पैसा क्यारामबोर्डमा बाजी खेलेर सक्छन्  ।

यही बजारमा २२ वर्षीया युवती माया खड्का दास, मोटरसाइकल मर्मत गरेर दैनिक हजारौं आम्दानी गर्छिन् ।

१६ लाख लगानी गरेर सुरु गरेको सिंहदेवी मोटरसाइकल वर्कशर्पमा उनले दुई वर्षयता मोटरसाइकल मर्मत गरेर लाखौं कमाइ गरी सकेकी छन् । १७ वर्षकै उमेरमा विवाह बन्धनमा बाँधिएकी माया यासोक बजारमा बरालिएर हिँड्ने युवाहरूका लागि समेत प्ररणाको स्रोत बनेकी छन् ।

‘क्यारामबोर्डका गोटी समाउने हातले रेन्ची र पिलास समाउने हो भने घरमै बसेर मनग्यै आमदानी गर्न सकिन्छ,’ उनले भनिन् । मोटरसाइकल बनाउने रेन्च पक्रिएर उलने मनग्यै आमदानी गरिरहेकी छिन् ।

अक्सर महिलाहरू पुरुषले गर्ने यस्ता प्रकृतिका काम गर्न अघि सर्दैनन् । पढालेखा नभएका महिलाहरू घरधन्दा, घाँस दाउरा र घरेलु काममा दिन विताइरहेका हुन्छन् । तर यासोक बजारकी मायाले यी सवै कामलाई तिलाञ्जली दिएर सीपयुक्त सफल महिला बनेकी छन् ।

गाउँपालिका केन्द्र यासोक बजारमा उनले सञ्चालनमा ल्याएको मोटरसाइकल वर्कशप यो क्षेत्रको विश्वासिलो मोटरसाइकल वर्कशपमा दरिएको छ । सुरुमा उनका दाजुले यासोक बजारमा मोटरसाइकल ग्यारेज सञ्चालनमा ल्याएका थिए ।

उनले दाजुसँगै मोटरसाइकल मर्मत गर्ने सामान्य काम सिकिन् । दाजुको ग्यारेजमा काम गर्न पूर्वी तराईबाट आएका धनञ्जय कुमार दाससँग उनले प्रेम विवाह गरिन् । त्यसपछि आफूलाई काम सिक्न थप सहयोग पुगेको उनको भनाइ छ ।

उनका श्रीमान् धनञ्जय यासोक बजारभन्दा बाहिर बिग्रिएका सवारी र मोटरसाइकल मर्मत गर्न सडकमै पुग्छन् । श्रीमती मायाले ग्यारेजमा मर्मतका लागि आएका सवै प्रकारका सवारी साधनको मर्मत गरिदिएर पठाइदिन्छिन् ।

दुवैले दुःख गरेर कमाएको पारिश्रमिक महिनाको अन्त्यतिर जोडा ४० देखि ५० हजारसम्म पुग्छ ।‘सीपले गरीखान एकदमै सजिलो भएको छ,’ ग्यारेजमा ग्राहकले ल्याएको पल्सर मोटरसाइकल मर्मत गर्दै गरेको अवस्थामा भेटिएकी मायाले गर्वका साथ भनिन् । दुई वर्षअघिबाट व्यावसायिक बनेकी माया मोटरसाइकलको हाफ इन्जिन आफै बाँध्छिन् ।

काम गर्दै गर्दा कुनै समस्या आइलागे श्रीमानको सहयोग माग्छिन् । श्रीमानले खोलेको ग्यारेज अहिले उनकै जिम्मामा छ । ग्यारेजमा केही युवाले रोजगार पनि पाएका छन् ।

काम सिक्न आउने धेरै युवालाई उनले आफ्नै वर्कशर्पमा मोटरसाइकलसम्बन्धी धेरै काम सिकाएर पनि पठाएकी छिन् ।

मोटरसाइकल सभिसिङ, पञ्चर, वल्डिङ, भाइजर, हेडलाइट, चेनस्पकेट, मोबिल, डिसप्याड, क्लज तार, टायर लगायतका सामान फेर्ने सवै काम उनी आफैं गर्छिन् । ६ वर्षीय छोरालाई विहानको खाना खुवाएर नजिकैको बोर्डिङ स्कुलमा पठाएपछि उनको मोटरसाइकल मर्मतको दैनिकी सुरु हुन्छ । कुनै दिन त उनी ७ वटासम्म मोटरसाइकल सर्भिसिङ गरेर सिध्याउछिन् ।

यसबाट पैसा पनि राम्रै आउने गरेको उनले सुनाइन् । मोटरसाइकल मर्मत गरेरै यी जोडीले यासोक बजारमा १० लाखमा घडेरी किनेर घर बनाउदै छन् । तीन तलाको घर बनाउन ५० लाख बढी खर्च भएको उनले बताइन् ।

सवै कमाइ मोटरसाइकल मर्मतकै हो । गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले माया पाँचथर जिल्लाकै पहिलो मोटरसाइकल मेकानिक महिला भएको बताए ।