यसवर्ष देखि मावि रझेनामा कानून विषयको पढाई

चेतना अनलाइन

घोराही । दाङको घोराही स्थित सामुदायिक विद्यालय मावि रझेनामा यसवर्ष देखि कानून विषयको पढाई हुने भएको छ ।

यसै शैक्षिक सत्र देखि भर्ना शुरु भएको विद्यालयका प्राचार्य उद्धव न्यौपानेले जानकारी दिए । उनका अनुसार एक÷दुई दिन भित्रै भर्नाका लागि फाराम वितरण गरिने छ ।

न्यौपानेले विद्यार्थीको आवश्यकताको आधारमा कानून विषय पढाउन शुरु गरिएको बताए । दाङका विद्यार्थीहरुलाई विश्वविद्यालय तहमा कानून पढ्नका लागि अहिले पनि जिल्ला बाहिर जानुपर्ने बाध्यता छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् शिक्षामन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतमले कक्षा ११ र १२ मा कानून विषय अध्ययन गरि सकेपछि माथिल्लो तहमा दाङमै कानून विषयको पढाईका लागि पहल गरिने बताए ।

गौतम विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भए देखि मावि रझेनामा व्यापक सुधार आएको छ । रझेनामा प्राविधिक विषयका साथै साना बालबालिकाहरुका लागि मण्टेश्वरी कक्षा समेत शुरु भएको छ ।

नेकपाका केन्द्रीय सदस्य समेत रहेका गौतमले दाङलाई प्राविधिक शिक्षाको हव बनाउने आफ्नो मिसन भएको बताए । उनी शिक्षा मन्त्रीको सल्लाहकार भएपछि मात्रै दाङका १९ ओटा विद्यालयले प्राविधिक विषय अध्यापनको अनुमती पाएका छन् ।

त्यसैगरी घोराहीमा कृष्ण सेन बहुप्राविधिक शिक्षालय सञ्चालनमा आइसकेको छ भने तुलसीपुरमा पनि बहुप्राविधिक शिक्षालय स्थापन भइसकेको छ । आगामी दिनमा दाङमा थप प्राविधिक शिक्षालयहरु खुल्ने गौतमले बताए ।