यसरी हुन्छ स्क्रबटाइफस संक्रमण : किर्नाले टोकेको पाँचदेखि ६ दिनभित्र संक्रमण

काठमाडौं – देशका विभिन्न भागमा फैलिएको स्क्रबटाइफस संक्रमणका कारण पाँच सयजनाभन्दा बढी संक्रमित भएका छन्। इपिडियोमियोलोजी तथा रोग नियन्शाखामा सोमबारसम्म विभिन्न अस्पतालबाट संकलित सूचनाअनुसार पाँच सयजनाभन्दा बढीमा स्क्रबटाइफस पोजेटिभ भेटिएको तथ्यांक अधिकृत कृष्णराज पाण्डेले बताए।

महाशाखामा मंगलबारयताको तथ्यांक संकलन हुन बाँकी छ। स्क्रबटाइफस संक्रमणका कारण डोटीमा एकजनाको मृ’त्यु भइसकेको छ। बिरामीमा डेंगी र स्क्रबाटइफस एकै पटक भएको र त्यो क्षेत्रमा डेंगीभन्दा स्क्रबटाइफस संक्रमण बढी भएकाले स्क्रबटाइफसकै कारणले मृ’त्यु भएको हुनसक्ने महाशाखा प्रमुख डा. विवेककुमार लालले बताए।

महाशाखाका अनुसार देशका विभिन्न जिल्लामा देखिएको यो रोगबाट डेडल्धुरा, गुल्मी, धादिङ, पाल्पा, चितवन, रूपन्देही जिल्ला बढी प्रभावित देखिएका छन्। राजधानीका अस्पतालहरू टिचिङ तथा शुक्रराज ट्रपिकल अस्पतालमा उपचारका लागि पुगेका बिरामी भने नुवाकोट, धादिङ तथा काठमाडौंका बढी छन्। एक सातायता स्क्रबटाइफस संक्रमितहरू बढी आउने गरेको अस्पतालका अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनले बताए।

सुरुमै उपचार गरे एक÷दुई सयकै औषधिले स्क्रबटाइफस निको हुन्छ, नगरे लाखौं खर्च हुन्छ।
बिरामीहरूमा यो रोगमा पनि कडा ज्वरो आउने भएकाले डेंगीको आशंका गरी उपचार गर्न आउने क्रममा स्क्रबटाइफस पोजेटिभ फेलापरेको डा. पुनको अनुभव छ। टिचिङ अस्पतालमा भने दुई सातादेखि नै स्क्रबटाइफसका बिरामी आकस्मिक कक्षमा पुगेका थिए। उनीहरूमा गम्भिर समस्या देखिएपछि एक साता भर्ना गरी उपचार गरिएको अस्पतालले जनाएको छ।

चिकित्सकका अनुसार स्क्रबटाइफस मनसुनमा देखिने रोग हो। विशेषगरी असारदेखि असोजसम्म यो रोगको संक्रमण बढी हुन्छ। मुसाले झाडी तथा घरभित्र बस्ने क्रममा किर्ना (माइट) छोड्ने र त्यो किर्नाले टोकेपछि ‘ओरेन्सिया सुसुगामोसी’ नामक जीवाणु रगतमा प्रवेश गरेपछि स्क्रबटाइफस रोग लाग्छ। किर्नाले टोकेको पाँचदेखि ६ दिनभित्र संक्रमण हुन्छ र ज्वरो तथा पसिना आउने, टोकेको भागमा कालो दाग बस्ने या शरीरभरि रातो बिमिरा आउने, ग्रन्थी सुन्निने जस्ता लक्षण देखिन्छन्।

किर्नाले टोकेको भागमा कालो दाग देखिन सक्छ। किसान, मुसो घुमेका घरमा बस्ने परिवार, झाडीमा खाली खुट्टा पल्टिने मानिसहरू यो रोगको बढी जोखिममा हुन्छन्।

बर्सेनि यो रोगबाट बढी मात्रामा जनस्वास्थ्यमा असर परेको र केहीको मृ’त्युसमेत भइसकेको हुनाले यो रोगको सुरुमै उपचार गर्न बिरामी आफैं र स्थानीय तहका स्वास्थ्य संस्था सचेत हुनुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेककुमार लाल बताउँछन्। यो वर्षदेखि स्वास्थ्य व्यवस्थापनको बजेट स्थानीय सरकारमा गइसकेको हुनाले स्थानीय तहमार्फत नै यो रोगको उपचार व्यवस्थापनमा सहजीकरण हुनुपर्ने डा. लालको भनाइ छ।

सुरुमै उपचार गरेमा सामान्य उपचारले निको हुने र ढिला गरेमा जटिल बन्ने डा. लालले बताए। ‘सुरुमै उपचार गरे एक÷दुई सयकै औषधिले निको हुन्छ, नगरे लाखौं खर्च हुन्छ,’ उनले भने।

यो रोगमा आवश्यक औषधिहरू सरकारले वितरण गर्दै आएको निःशुल्क औषधिभित्र पर्ने र त्यसको व्यवस्थापन स्थानीय सरकारले गर्नुपर्ने उल्लेख गर्दै डा. लालले भने, ‘प्राथमिक स्वास्थ्य केन्द्रमै औषधि उपलब्ध हुनुपर्छ र जटिल अवस्थामा स्वास्थ्य बिमाबाट व्यवस्थापन हुनुपर्छ।’

यो रोगको समयमै उपचार नभएमा स्नायु प्रणाली (मस्तिष्क सुन्निने), कलेजो, मुटु,मिर्गौला बिग्रिने जस्ता समस्या भई बिरामी गम्भीर अवस्थामा पुग्ने र उचित उपचार हुन नसकेमा मृ’त्युसमेत हुने हुनाले समयमै उपचार नै एक मात्र उपाय भएको डा. पुन बताउँछन्।

यसको साथै खेतबारीमा काम गर्दा नांगो गोडा तथा हात प्रयोग नगर्ने, झाडीमा, भुइँमा नसुत्ने र घरभित्र मुसा आउन रोक्ने जस्ता उपाय अवलम्वन गरेर यो रोगको संक्रमणबाट बच्न सकिने डा. पुनको सुझाव छ।