महिलाको मर्म बुझ्ने वडा अध्यक्ष, जसले पुर्याउछन् विद्यालयमै ‘सेनेटरी प्याड’

सन्तोष डाँगी

रोल्पा। महिनावारी भएको बेला रोल्पा माडी गाउँपालिका भावाङका छात्राहरु विद्यालय आउनै लजाउछन्। चेतनाको अभाव र सहजै सेनेटरी प्याड उपलब्ध नहुदा महिनावारी भएकोबेलामा भावाङका अधिकांस विद्यालयका छात्रा विद्यालयमा उपस्थित नै हुँदैनन्।

छात्राहरु विद्यालय समयमै महिनावारी भए साथीसंग लजाउने, शिक्षक र साथीसंग टाढै बस्ने, विचमै कक्षा छाडेर घर फर्किने गर्दै आएका छन् ।

भावाङका छात्राहरुको समस्यालाइ मध्यनजर गर्दै माडी गाउँपालिका ५ भावाङका वडा अध्यक्ष भरतबहादुर बुढा मगरले विद्यालयमै छात्राहरुको सहजताकालागि सेनेटरी प्याड उपलब्ध गराउने निर्णय गरेका छन्।

यस वर्ष वडा कार्यालयबाट ५० हजारको बजेट छुट्याएर वडाका विभिन्न विद्यालयमा कक्ष ७ देखि कक्षा १० सम्म अध्ययनरत छात्राहरुका लागि नि:शुल्क प्याड वितरण गरेका छन्।

‘शिक्षाले मात्रै नगरीलाई अगाडी बढाउन सहयोग पुर्‍याउछ, शिक्षित नारी नै समाज परिवर्तनका वाहक हुन्’, ‘अध्यक्ष भारतबहादुरले भने, महिनावारी भएका बेलामा सेनेटरी प्याड प्रयोग गर्नु स्वास्थ्यका दृष्टिकोणले महिला प्रजन्न अंगमा समेत संक्रमणहुनबाट रोक्नु पनि हो” ।

विद्यालयमै छात्राहरुहरुको लागि सेनेटरी प्याड उपलब्ध हुँदा महिनावारी भएकाबेला विद्यालय नआउने बाध्यताको अन्त्य हुने अध्यक्ष भरतबहादुर बताउछन् । अध्यक्षले महिलाको मर्म बुझेर विद्यालयमै प्याड उपलब्ध गराएपछि भवाङ पाछावाङका छात्राहरु महिनावारी भएकोबेला पनि नियमित विद्यालय आउन थालेका छन् ।