महिलाको गर्भमै रहेका जुम्ल्यहा बच्चाले गरे आपसमा कुटाकुट

एजेन्सी

एक चिनियाँ महिलाको गर्भमा रहेका जुम्ल्याहाले आपसमा कुटाकुट गरेको ‘अल्ट्रासाउन्ड’ भिडियो भाइरल भएको छ।नियमित स्वास्थ्य परीक्षणका लागि ती महिला अस्पताल गएको बेला उनका पतिले उक्त भिडियो लिएका थिए।

ताओ नाम गरेका उनले भने, ‘पत्नीको स्वास्थ्य परीक्षण गर्दा मैले भिडियो लिएको थिएँ।’ यिनचुआन निवासी उनले उक्त भिडियो गत वर्षको रहेको जानकारी दिँदै अहिले ती जुम्ल्याहाको जन्म भइसकेको बताए।भिडियोमा गर्भभित्रै जुम्ल्याहा आपसमा कुटाकुट गरिरहेका देखिन्छन्।

ताओले पत्नीको गर्भमा रहेका आफ्ना बच्चाको भिडियो यसरी भाइरल बन्छ भनेर नसोचेको पनि बताए। दुई दिनअघि युट्युबमा राखिएको सो भिडियो तीन लाख ८४ हजारभन्दा बढीले हेरिसकेका छन्। जुम्ल्याहा छोरी पाएकोमा दंग पर्दै उनले भने, ‘उनीहरुको नाम मेरी पत्नीकै मनपर्ने फलबाट राखिएको छ, एउटाको नाम चेरी र अर्काको नाम स्टबेरी राखेका छौं।’

कतिपय युजरले उक्त भिडियोका बारेमा कमेन्ट गर्दै ती बच्चा ‘बक्सर’ बन्ने टिप्पणी गरेका छन्। ताओ भने आफ्ना बच्चाले आपसमा कुटपिट गरेको नभई अंकमाल गरेको अनुमान लगाएका छन्। भिडियोमा देखिएजस्तो भविष्यमा उनीहरु त्यसरी झगडा नगर्नेमा उनी विश्वस्त छन्।