विभागिय मन्त्रीहरुलाई सभामुखले भने- मल र इन्धनको अभाव हुन नदिनुहोस्

पाण्डव शर्मा

घोराही । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले दाङमा रासायनिक मल र पेट्रोलियम पदार्थको अभाव हुन नदिन विभागिय मन्त्रीहरुलाई आग्रह गरेका छन् ।

महराले केन्द्रीय कृषि मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ र केन्द्रीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवलाई टेलिफोन गरेर तत्काल मल पेट्रोलियम पदार्थ उपलब्ध गराउन आग्रह गरे । उनले कृषि मन्त्रीलाई मल नपाएर किसानहरुले दुःख पाएको भन्दै तत्काल मल उपलब्ध गराउन आग्रह गरेका थिए ।

दाङका जनप्रतिनिधि समेत रहेका महराले अहिले खेतमा व्यवस्त हुनुपर्ने किसानहरु मलका लागि बजार आएर लाइन लाग्नुपर्ने अवस्था सृजना हुनु राम्रो नभएको बताए ।

कृषिमन्त्री खनालले मलको सहज आपूर्तिका लागि आँफूले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको सभामुख महरालाई जानकारी गराएका थिए । त्यसैगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले पेट्रोलियम पदार्थको अभाव हुन नदिन आँफूले पहल गरिरहेको जानकारी दिए ।

सभामुख महराले चेतना अनलाइनसँग टेलिफोनमा कुरा गर्दै रासायनिक मलमा हुन सक्ने कालोबजारी रोक्न आँफूले जिल्लाका सम्बन्धित सरोकारवाला निकायहरुलाई सचेत बनाएको जानकारी दिए ।