मलाई एचआईभी छ तर म खुसी छु, समाजका लागि केही गरिरहेको छु

हो, म एचआईभी पोजिटिभ हूँ । अहिले यो कुरा म समाजमा खुलेर भन्छु । १९ वर्ष अघि मलाई एचआईभी पोजिटिभ हुँदा डाक्टरले ६ महिनाभन्दा धेरै बाँच्दैनौ भनेका थिए । आज पनि म बाँचिरहेको छु ।

त्यसबेला र अहिलेमा आकाश पातालको फरक छ । त्यसबेला म लागु पदार्थको दुबर््यसनी थिएँ ।

जब साँझ पथ्र्यो तब डर लाग्न थाल्थ्यो । सुत्ने बेलामा भित्रैदेखि डर लाग्थ्यो । जीवन समाप्त हुँदैछ, मर्छु भन्ने थाहा पाएपछि अझ बाच्न मनलाग्ने रहेछ । मृत्युको नजिक पुग्दा जीवन असाध्यै सुन्दर लाग्ने रहेछ ।

दुब्र्यसनी बनेकोमा पछुतो लाग्न थाल्यो । जब आमालाई सम्झन्थें, मन थाम्नै सक्दिनथें, आँशु आउँथ्यो । रुन्थें । भित्रभित्रै जल्थें ।

घर परिवार र समाजले थाहा पाए भने के भन्लान् भन्ने चिन्ता लाग्यो ।

यसरी थाहा पाएँ

एचआईभी संक्रमितको संख्या पत्ता लगाउन एउटा गैैरसरकारी संस्थाले धरानमा लागुऔषध प्रयोगकर्ताहरुको रगत परीक्षण गरेको थियो । त्यहाँ मैले पनि परीक्षण गराएँ ।

मेरो परीक्षणमा एचआईभी पोजेटीभ देखियो । मेरो आकाश खस्यो, धरती हल्लियो । त्यसपछि डाक्टरले ६ महिनाभन्दा धेरै बाँच्दैनौ भन्दा म बेहोस जस्तै भएँ । आफ्नै माया लागेर आयो । आमा र घरपरिवारको माया लागेर आयो ।

साथीभाई सम्झिएँ, आफन्त सबैलाई सम्झिएँ, धरानको माया लागेर आयो, देशकै माया लागेर आयो । सबैभन्दा धेरै आफ्नै जीवनको माया लागेर आयो ।

हतास भएँ म ।

घरमा भनें

त्यसपछि लागु पदार्थ छाड्छु भन्ने अठोट गरें । म अम्मली भइसकेको थिएँ । लागु औषध छाड्न सबैभन्दा धेरै अठोट चाहिन्छ भन्ने बुझेको थिएँ । जसरी भए पनि बाँचेर समाजका लागि केही गर्छु भन्ने अठोट गरें ।

६ महिना मात्र बाँच्छु भने पनि ठिकै छ, त्यो समयमा समाजका लागि केही गर्छु भन्ने विचार आयो ।

तर, १९ वर्ष अघि म एचआईभी संक्रमित हो भनेर समाजमा खुल्न सक्ने वातावरण थिएन । त्यतिबेला एचआईभी संक्रमितलाई घृणा र अपहेला गरिन्थ्यो । मलाई पनि त्यसै गर्लान् भन्ने लाग्यो ।

बिस्तारै घरपरिवारलाई एचआईभीको बारेमा बताएँ । परिवारलाई बुझाएँ । परिवारलाई बताउन ठूलो साहस चाहियो, त्यो साहस गरें । परिवारले मलाई साथ दियो, सहयोग गर्यो ।

समाजले पनि सुरुका दिनमा एचआईभी संक्रमित भएको थाहा पाउदा सकरात्मक रुपमा लिएन । मसँग बोल्न नपरे हुन्थ्यो जस्तो गर्थे मानिसहरु । बोल्दा पनि एचआईभी सर्छ भन्ने गलत बुझाईको कारण पनि होला म बाट सबै टाढाटाढा भाग्थे । त्यतिबेला म नितान्त एक्लो थिएँ । विस्तारै सुधारकेन्द्रबाट म पुर्नस्थापित भएँ ।

त्यसपछि आफूजस्तै एचआईभी संक्रमितहरुका लागि खुलेको संस्थामा आवद्ध भएर काम गर्न थालें । मन सम्हालेर आत्मविश्वाससाथ अघि बढ्ने हो भने जस्तोजुकै बाधा अप्ठ्यारोमा पनि अगाडी बढ्न सकिन्छ भन्ने बुझें ।

फेरियो समाज, बदलिए आँखा

दुई दशक अघि र अहिलेमा एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोण धेरै परिवर्तन भएको छ । संक्रमितलाई गरिने व्यवहार र सद्भावमा परिवर्तन आएको छ । म उहि खगेन्द्र खड्का हो जतिबेला मलाई समाजमा हेय र दुव्र्यहार हुने गथ्र्यो । आज मलाई हेर्ने दृष्टिकोण आकाश जमिनको फरक भएको छ । म जस्ता कयौ संक्रमितहरु समाजले उपेक्षा गरेको कारणले आत्महत्या समेत गर्न वाध्य भएका छन् । एचआईभी एड्स प्राणघातका रोग हो भन्ने गलत बुझाईको कारण पनि समाजले हेर्ने दृष्टिकोण गलत भएको हो ।

१९ वर्षअघि आफूलाई एचआइभी लागेको थाहा हुँदा के गरौं र कसो गरौं भएको थिएँ, अन्यौलमा परेको थिएँ, बेसहारा बनेको थिएँ । अहिले म सयौं एचआइभी पोजेटिभहरुलाई परामर्श दिइरहेको छु । आफ्नो अनुभव सुनाउने र सिकाउने मौका पाएको छु । म प्रत्येक दिन पुर्नजिवन पाएको ठान्छु ।

धरान पोजेटिभ समूहमा रहेर एचआईभीको क्षेत्रमा काम गरिरहेको छु । अझै पनि पोजेटीभहरु खुलेर आउन सकेका छैनन् । संक्रमितहरुमा अझै चेतनाको अभाव छ । संक्रमितहरुमा संकुचित सोचाई अझै हट्न सकेको छैन । केही संक्रमितहरुले मात्र एचआईभी सम्बन्धी तालिम लिने मौका पाएका हुन्छन् । तालिम पश्चात उनिहरु केही हदसम्म समाजमा सहज तरिकाले घुलमिल हुन्छन् ।

अब समाज फरक भइसकेको छ, पहिलेजस्तो संक्रमितलाई छुनै नहुने भन्ने भ्रम हटिसकेको छ । संक्रमितहरु खुलेर समाजमा आउन सके औषधी उपचार, तालिम र सरसहयोग समेत पाउन सकिन्छ ।

एचआईभी पोजेटिभ हुँदैमा जीवन समाप्त भयो भन्ने गलत बुझाई हटाउन जरुरी छ । आज समाजमा तिनै संक्रमित व्यक्तिहरु सामाजिक अभियान्ताको रुपमा काम गरिरहेको प्रशस्त उदाहरण पाउन सकिन्छ ।

म बाँच्न चाहन्छु, समाजका लागि केही गर्न चाहन्छु । मर्ने बाँच्ने कसैको पनि ठेगान छैन तर बाँचिन्जेल समाजको भलाईको काम गर्छु । त्यसैले म खुसी छु ।

(यो सामग्री सुनसरी धरानका खगेन्द्र खड्कासँग सुम्निमा चाम्लिङले गरेको वार्तामा आधारित छ । खड्का हाल एचआईभी तथा एड्स महासंघका केन्द्रिय उपाध्यक्ष तथा धरान पोजेटिभ समूहका अध्यक्ष छन् ।) हाम्रो कथा डट कम