मत परिणाम खराब आएपछि भारतीय कांग्रेस नेताको ‘हर्टअट्याक’बाट निधन

काठमाडौं, ९ जेठ । लोक सभा निर्वाचनको मतगणना चलिरहेका बेला भारतको मध्य प्रदेश राज्यमा प्रतिपक्षी भारतीय कांग्रेसका एक नेताको हृदयघात (हर्टअट्याक)का कारण निधन भएको छ ।

मध्यप्रदेशका सिहोरस्थित मतगणना केन्द्रमा रहेका ती नेतालाई हृदयघात हुनासाथ जिल्ला अस्पताल लगिएको थियो । सिहोर जिल्लाका कांग्रेस अध्यक्ष रतनसिंह ठाकुरको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सिहोर भोपाल लोकसभा सीट अन्तर्गत पर्छ। यस क्षेत्रमा भारतीय जनता पार्टीकी प्रज्ञासिंह ठाकुर र कांग्रेसका वरिष्ठ नेता दिग्विजय सिंहबीच प्रतिस्पर्धामा छन् ।

केरलामा राहुल १ लाख मतले अघि, अमेठीमा स्मृति भन्दापछि

भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी केरलमा भारी मतले अघि लागेका छन् । आफ्ना निकटतम प्रतिस्पर्धीसँग केरलको वायनाडबाट १ लाख मतले अघि परेका राहुल अमेठीमा भने केन्द्रीय मन्त्री स्मृति इरानीले भन्दा पछि छन् ।

यसभन्दा पहिले राहुल गान्धी केरलामा १३ हजार मतले अघि थिए भने अमेठीमा ७ हजार मतले मात्रै पछि थिए । केरलमा कांग्रेस पार्टी १५ सीटमा अग्रता हाँसिल गरेको छ ।

केरलाको कूल २० सीटको मतगणनामा कांग्रेस १५ सिटमा अघि छ । त्यहाँ इन्डियन मुस्लिम लिगको २, केरल कांग्रेस र आरएसपी १-१ सीटमा अघि छन् । उत्तर प्रदेशको अमेठी लोकसभा सीटमा कडा टक्कर भइरहेको छ । यहाँ लगातार आँकडा बदलिँदै आएको छ ।

चुनाव आयोगबाट प्राप्त जानकारी अनुसार बीजेपीकी स्मृति इरानीले कांग्रेस अध्यक्ष राहुल गान्धीलाई करिब ४४०० भोटले पछि पारेकि छिन् ।

अन्तिम अपडेट मिल्दासम्म स्मृतिले ४३ हजार ३३ मत ल्याउँदा राहुल गान्धीले ३८ हजार ६१५ भोट ल्याएका छन् । शुरुआती मत गणना अनुसार स्मृतिले राहुलमाथि ७ हजारसम्मको अन्तर कायम गरेकि थिइन् ।

दुई लाख मतले पछाडि रहेका कन्हैया

भारतमा मात्रै नभई नेपालमा पनि चर्चित रहेको बिहारको बेगुसरायमा ताजा मतगणना अनुसार, बीजेपी उम्मेदवार तथा केन्द्रीय मन्त्री गिरिराज सिंह दुई लाख बढी मतले अगाडि रहेका छन् ।

पछिल्लो परिणामअनुसार गिरिराज सिंहले ३ लाख ५० हजार मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी भारतीय कम्युनिष्ट पार्टीका उम्मेदवार कन्हैयाले एक लाख ५० हजार मत प्राप्त गरेका छन् ।

साथै राष्ट्रिय जनता दलबाट तनवीर हसन पनि यसै सिटबाट प्रतिस्पर्धामा रहेका छन् । उनले ९४ हजार मत प्राप्त गरेका छन् ।

जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्व विद्यार्थी नेता कन्हैया कुमारको चुनावी प्रचारप्रसारमा जावेद अख्तर, प्रकाश राजलगायतका चर्चित हस्ती मैदानमा उत्रिएका थिए ।

यसैबीच कन्हैया कुमारले आफूले हारे पनि केही नगुमाउने प्रतिक्रिया दिएका छन् ।