भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पदबाट दिए राजीनामा

नयाँदिल्ली — भारतको तल्लो सदन लोकसभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको केही घन्टा नबित्दै प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजिनामा दिएका छन् ।

मोदीले शुक्रबार साँझ राष्ट्रपति रामनाथ कोविन्द राजीनामा बुझाएका हुन् । राजीनामासँगै नयाँ सरकार गठन नहुन्जेल मोदी सरकारले काम चलाउ हैसियतमा काम काम गर्ने छ ।

यसअघि मोदीले शुक्रबार साँझ मन्त्रीपरिषद्को अन्तिम बैठक डाकेका थिए । बैठकले मन्त्रिपरिषद्को संयुक्त राजीनामासँगै १६ औं लोकसभाको औपचारिक विघटनका लागि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

राजीनामासँगै नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ । आगामी साताभित्र नयाँ सरकार गठन हुने अनुमान गरिएको छ ।

हालै सम्पन्न १७ औं लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले अत्यधिक बहुमत ल्याएको हो । अन्तिम मतपरिणामअनुसार एनडिएले ३५० सिट जितेको छ ।

र, भाजपा एक्लैले ३०२ सिट जित्न सफल भएको छ । विपक्षी भारतीय राष्ट्रिय कांग्रेस भने ५२ सिटमा सीमित भएको छ । भाजपा र एनडिएको ऐतिहासिक जितसँगै नरेन्द्र मोदीले विश्वकै सबैभन्दा ठूलो लोकतन्त्रको संघीय सरकारको नेतृत्व गर्ने पक्कापक्की छ ।

मोदीले जित्नुको मुख्य कारण यस्तो रहेछ

२०१९ को आम चुनावको नतिजा आएको छ। यो नतिजाले प्रमुख रुपमा के कुरा प्रष्ट बनाएको छ भने यो केबल र केबल प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहको सांगठनिक क्षमताको जित हो।

यी दुईले आआफ्नो क्षेत्रमा हासिल गरेको कार्यकुशलता र व्यापकताको जित हो, जुन २०१४ को भन्दा केही बढी छ।

यसपटक यी दुईको नेतृत्वमा बीजेपी नयाँ सीमा पार गरेको छ। बंगाल, ओडिसालगायत पूर्व तथा उत्तरपूर्वका राज्यमा उनीहरूले आफूलाई बलियो बनाए। र, आफ्ना पुराना गढमा पनि दबदबा कायम राखिरहे। यसरी उनीहरूले नयाँ ठाउँमा पनि पार्टीको जित सम्भव बनाए।

यो एउटा यस्तो चुनाव थियो जसले भारतको प्रगतिशील वर्गको हार देखाउँछ। बौद्धिक स्तरमा उनीहरू मोदीको करिस्मा पहिचान गर्न असफल रहे। बीजेपीका नेताहरू भनिरहे कि- यसअघि कहिल्यै पनि समाजका यी दुई वर्ग अर्थात् भारतका आमजनमानस र बुद्धिजीवी वर्गबीच यति धेरै फरक देखिएको थिएन। यसले के पनि पुष्टि गर्छ भने यी दुईको दुनियाँ तथा सरोकारमा धेरै अन्तर छ।

प्रधानमन्त्री मोदीको कुरा गर्दा २०१४ देखि नै उदारवादीवर्गले उनलाई कम आँकेको थियो। उनीहरूले प्रधानमन्त्री पदका लागि मोदीलाई अयोग्य सम्झे जबकी उनले तीनतीन पटक गुजरातको मुख्यमन्त्री भइसकेका थिए। बारम्बार यो भनिएको थियो कि- मोदी पार्टीको उम्मेदवार बने भने बीजेपीलाई राष्ट्रिय स्तरमा ठूलो धक्का लाग्न सक्छ। तर नरेन्द्र मोदीले यी सबै अनुमानलाई गलत साबित गरिदिए।

२०१४ मा जब उनले चुनाव जिते तब देशमा हुने हरेक साना ठूला घटनाका लागि प्रत्यक्ष वा परोक्ष रुपमा उनैलाई जिम्मेवार ठहर्याउने एउटा ट्रेन्ड बन्यो। यो मानिसकता पनि कहीँ न कहीँ मोदीको पक्षमा देखियो किनभने यसका कराण उनी लगातार चर्चामा रहे।

जनधार अत्यन्त कम भएका नेतालाई मोदीविरुद्ध उतार्ने कोसिस पनि भयो तर मोदीले यी सबैकुरालाई आफ्नो पक्षमा ल्याउन सफल भए किनकि मोदी भारतका आम नागरिकलाई बुझ्न, उनीहरूसँग जोडिन र उनीहरूका आशालाई सही दिशा दिन सक्षम थिए।

विपक्षीहरूलाई यसको कुनै फाइदा मिलेन। विपक्षीहरू लगातार यो कोसिस गरिरहे कि गठबन्धन, महागठबन्धन र जातीय गणितमा आधारित भएर विकल्प बनाउन सकियोस्। तर यी सारा कोसिसहरू असफल भए। उनीहरूले कुनै पनि ठोस विकल्प तयार पार्न सकेनन्।

मतदातामा बफादारीको जुन परिवर्तन देखियो यसलाई बुझ्न पनि विपक्षी राजनीतिक दल असफल भए। यो असफलताका लागि उनीहरू इलेक्ट्रोनिक भोटिङ मेसिनलाई दिइरहे।

गएका पाँच वर्षमा एउटा कुरा खुब रोचक तरिकाले सतहमा आयो। त्यो के भने जसरी मोदीको कद बढ्यो, त्यसरी यी विपक्षी दलहरूको जनतासँगको कनेक्सन टुट्दै गइरहेको थियो।

देशको कुनै पनि ठाउँमा यात्रा गरेको जो कोही नागरिकले बुझ्न सक्छ कि सत्ताविरोधी फ्याक्टर चुनावमा थिएन। न त मोदीविरोधी माहौल नै थियो। तर मोदीका नीतिको तटस्थ आलोचना गर्नुको साटो विपक्षीले लगातार मोदीको व्यक्तित्व गिराउने काममा आफ्ना सारा शक्ति गुमाए।

जसको नतिजा यो निस्क्यो कि मोदीको व्यक्तित्व भारतीय राजनीतिको केन्द्र बन्यो र विपक्षीको पराजयका लागि जमिन बन्दै गयो।

मोदीले भारतीय राजनीतिको दशा र दिशा आधारभूत तरिकाबाटै बदलेका छन्। उनले भारतीय जनता पार्टीलाई भारतीय राजनीतिको केन्द्रमा ल्याएर उभ्याइदिएका छन्। जहाँ लामो समयदेखि कंग्रेसको एकाधिकार थियो। भारतीय जनता पार्टीले बनाएको यो कथ्यको वरीपरी आउने धेरै वर्ष भारतीय राजनीति घुमिरहने छ।

मोदीले आफ्नो पार्टीको आधार भारतको भूमिमा रहने अनेकौँ समूहसम्म विस्तार गरेका छन्, यसको असर के भयो भने भारतका अन्य दलहरू कि त खतम हुँदै गएका छन् वा खुम्चिरहेका छन्।

मोदीले भारतीय राजनीतिलाई नयाँ शब्दमा परिभाषित गरेका छन्- ती पार्टीहरू जो २०१४ सम्म जातीय गणितमा केन्द्रीय थिए, उनीहरू अब शासनको कुरा गर्न लागेका छन्। भारतीय मतदाताले राजनेताहरूसँग लगातार असल शासनको माग गर्न थालेका छन्। र, यो जागरण कहीँ न कहीँ मोदीको ‘हाइभोल्टेज क्याम्पेनिङ’ का कारण सम्भव भएको हो। र, यही कारण मोदी मुलुकका युवा मतदातामाझ निकै लोकप्रिय छन्।

भारतमा यतिबेला अन्य कोही त्यस्तो नेता छैन जसले यहाँका नागरिकको इच्छा, आकांक्षा र आशालाई सही तरिकाबाट बुझ्न सकोस्। र, त्यसलाई महसुस गरेर नयाँ रंग दिन सकोस्। सायद यही ‘क्वालिटी’ ले मोदीलाई उनका मतदातासँग जोडेको छ।

मोदीको राजनीतिले फेरि एकपटक कयौँ पाखण्डहरूलाई ऐना देखाएको छ जसलाई केही पुस्तादेखि हाम्रो देशमा देख्दै र सुन्दै आइएको छ। जस्तो- धर्मनिरपेक्षतालाई जुन तरिकाबाट एउटा विशेष राजनीतिक वर्गले लगातार आफ्नो राजनीतिक फाइदाका लागि उपयोग गर्‍यो। ऊ यो चुनावमा खुलेर अगाडि आएको छ।

यसअघि एउटा खास वर्ग विशेषसँग भोट या समर्थन माग्नु भारतीय लोकतन्त्रको शक्तिका रुपमा बुझिन्थ्यो तर मोदीले यसलाई पनि गलत साबित गरिदिए। उनले दक्षिणपन्थी सोचलाई एक हिसाबले नयाँ आयाम दिए। आज मूलधारको मिडिया यस्ता मानिसलाई स्थान दिन बाध्य भएको छ। जसलाई पहिला मतलब नै गरिँदैनथ्यो।

मोदीले पूर्व तथा पूर्वोत्तर राज्यलाई भारतीय राजनीतिको केन्द्रमा ल्याउने काम गरे। यी इलाका लामो समयदेखि राजनीतिक उपेक्षा झेलिरहेका थिए। तर मोदीले गरेको लगातार प्रयासका कारण ती राज्यहरू राष्ट्रिय राजनीतिको मूलप्रवाहमा समाहित भएका छन्। तर मोदीले गरेका यी काममाथि विपक्षीसँग न कुनै नीति थियो न त दूरदर्शिता नै।

यसले के प्रष्ट पार्छ भने जुन विशालताका साथ मोदीलाई यो जित मिलेको छ, यसले दोस्रोपटक के कुरा स्थापित गर्छ भने मोदीले भारतको ७० वर्ष पुरानो राजनीतिक दाउपेचलाई पूर्णरुपमा बदलिदिएका छन्।

तर, यसको मतलब यो होइन कि मोदीको शासनकाल पूर्ण रुपमा निश्कलंक थियो र यसको समीक्षा हुनु हुँदैन। तर आज जुन हिसाबले भारतको बौद्धिक वर्ग आफूलाई विभाजित महसुस गरिरहेको छ, यसको मूलकारण यो हो कि उनीहरूले विवादको जन्म तब दिए जब कुनै विवाद नै थिएन। र, यसक्रममा उनीहरूको साख गिर्दै गयो।

मोदी आफ्नो शासनकालको दोस्रो अध्याय सुरु गर्न लागेका छन्। यतिबेला उनको नीति र राजनीतिमाथि निकै विचार विमर्श र मन्थन आवश्यक छ।

तर हामीले यसको सुरुवात यो स्वीकारोक्तिका साथ गर्नुपर्ने छ कि मोदी यो चुनावमा निकै ठूलो शक्ति बनेर उदाएका छन्। यति ठूलो कि जसको अनुमान उनका विरोधी र आलोचकले पनि लगाउन सकेका थिएनन्।