भन्सारमा काम गर्ने एक अधिकृतको वार्षिक कमाइ ५१ लाख !

काठमाडौं–सरकारी सेवामा कार्यरत शाखा अधिकृत(छैटौं तह)को मासिक तलबस्केल करिब ३१ हजार पाँच सय छ। तर भैरहवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत(छैटौं तह) मानप्रसाद विकले भने वार्षिक ५१ लाखभन्दा बढी कमाउँछन्।

२२ असोज २०६६ मा लोक नेपाल सरकारको राजपत्रांकित तृतीय श्रेणीको पदमा नियुक्त भएका विकले अहिलेसम्म तीन करोड १० लाख ३४ हजार रुपैयाँ आम्दानी गरेको अख्तियारले जनाएको छ। अख्तियारले उनले गरेको खर्च तथा लगानीका आधारमा सम्पत्ति गणना गरेको हो।

यस अवधिमा विकले जग्गा बिक्री तथा व्यापारबाट एक करोड २७ लाख रुपैयाँ वैध आम्दानी गरेको खुलाएका अख्तियारले जनाएको छ। विकले आफ्नो तथा श्रीमती आइतमाली विकका नाममा समेत जग्गा खरिद गरेको अख्तियारले जनाएको छ। विभिन्न बैंक तथा वित्तीय संस्थामा दम्पतीको नाममा रकम मौज्दात रहेको पनि अख्तियारले फेला पारेको थियो।

अख्तियारले शुक्रबार विक दम्पतीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। उनको सबै अवैध आर्जन जफत गर्न माग समेत अख्तियारले गरेको छ।