ब्रिटिस लाहुरेमा तिन पटक असफल भएका २८ वर्षे युवा बने देशकै उत्कृष्ट कृषक

राजु पौडेल

झापा । झापाको बिर्तामोड- १० का २८ वर्षीय विशाल राई २०६८ सालतिर ब्रिटिस लाहुरे बन्ने प्रयासमा थिए । ३ पटकको प्रयास असफल भएपछि निराश हुँदै घर फर्किएका विशाल भौँतारिएको मनलाई सम्हाल्दै बाबुबाजेले गरेको कृषि पेशालाई अँगाल्ने सोच बनाए ।

एउटा सानो पोखरीबाट माछापालन सुरु गरेर कृषि कर्ममा होमिएका उनी अहिले नेपालकै उत्कृष्ट युवा कृषकमा दर्ज भएका छन् ।

वि.सं. २०७१ सालबाट १ करोड ५० लाख लगानीमा विशाल एग्रो फर्म दर्ता गरेर आधुनिक तवरबाट माछापालनलाई व्यावसायिक रुप दिए । यहीँ व्यवसायबाट वार्षिक ५० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका विशाल गतवर्ष ‘राष्ट्रिय युवा प्रतिभा पुरस्कार’ बाट सम्मानित समेत भए ।

धान फल्ने खेतमा खाडी खनेर राईको छोरो डुब्ने भयो भनेर कुरा काट्ने छिमेकीहरु माछा पालेरै १ बिघा २ कठ्ठा जमीन जोडर व्यवसायसमेत बढाएको देखेर अहिले दंग छन् । पङ्गास र टिलपिया जातका माछापालन गर्दै आएका उनको माछा फार्ममा अहिले ६ जना मजदुरले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

व्यवस्थित र अत्याधुनिक प्रविधिको प्रयोग गरी माछापालन गर्दै आएका उनले गत वर्षको सिजनमा १२ लाख भुरा उत्पादन गरेर बिक्री गरे । यस सिजनमा ५० लाख भुरा उत्पादन गर्ने तयारीमा छन् । ३ बिघा जमिनमा ९ वटा पोखरीबाट वार्षिक ५० टनसम्म माछा उत्पादन गरी ५० लाख बढी खुद आम्दानी गर्ने गरेको राईले बताए ।

‘कृषि क्षेत्रमा पनि एडभान्सतरिकाले काम गर्दा फाइदा हुनेरहेछ,’ उनले भने, ‘सुरुमा त अरुको कुरा सुन्दा पनि नहोला कि जस्तो लाग्थ्यो, तर निरन्तर लागेँ, अहिले वर्षको ६० लाख जति कमाउँदैछु ।’

भारतका विभिन्न ठाउँमा माछापालन अवलोकन र थाइल्याण्डमा माछासम्बन्धी अध्ययन गरेका विशालले पङ्गास र टिलपिया जातको माछाको भुरा समेत उत्पादन गर्ने गरेका छन् । भियतनामी जातको माछा पङगासको भुरा उत्पादन गरेर उनले पूर्वका किसान भुराका लागि भारतको कलकत्ता जानुपर्ने बाध्यताको समेत अन्त्य गरिदिएका छन् ।

स्वदेशमा नै माछा उत्पादन हुन थालेपछि अहिले बिक्रीका लागि बजारको पनि समस्या छैन । माछापालनसँगै बंगुरपालन, लोकल कुखुरापालन, अर्गानिक तरकारी खेती, माछाको परिकार पाउने रेष्टुरेन्ट समेत संचालन गरिरहेका उनले सो फर्मलाई कृषि पर्यटनको क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य लिएका छन् ।

‘अब को १० वर्षपछि मान्छेले घरमा खाना खान छोड्दैछन्’ उनले भने, ‘ती मानिसहरुलाई लक्षित गरेर काम गरिहेको छु ।’

यसरी पढेलेखेका युवाले आधुनिक तरिकाले कृषि उद्यम गर्ने र सरकारले सहयोग गर्ने हो भने थोरै ठाउँमै धेरै उत्पादन गरी कृषिबाट आत्मनिर्भर मात्रै नभएर रोजगारीसँगै राम्रो आम्दानी हासिल गर्न सकिने उनकाे व्यवसायबाट थाहा हुन्छ ।